Shittalpati
घुम्टे पत्रकारिता पुरस्कारबाट थापा सम्मानित

कौरव खत्री

गुल्मी । नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश पार्षद थम्मन थापालाई घुम्टे पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । गलकोट नगरपालिका बागलुङको सातौं नगर सभाबाट पत्रकार थापालाई सम्मान गरिएको हो । विगत वि.सं २०६५ सालदेखि बागलुङको गलकोट क्षेत्रबाट निरन्तर रुपमा पत्रकारितामा कलम चलाउँदै आएका थापालाई पत्रकारिता क्षेत्रमा उल्लेख्य योगदान पुर्‍याएको भन्दै घुम्टे पत्रकारिता पुरस्कार २०७७ प्रदान गरिएको गलकोट नगरपालिकाका नगरप्रमुख भरत शर्मा गैरेले जानकारी दिए । नगरपालिकाले नगर सभाको अवसरमा प्रत्येक वर्ष १ जना उत्कृष्ट पत्रकारलाई नगद २० हजार र सम्मान पत्र सहित सम्मान गर्दै आइरहेको नगर उपप्रमुख रेणुका काउचा मगरले जानकारी दिइन् ।

पत्रकारिता क्षेत्रमा थप प्रोत्साहन गर्दै जिम्मेवारी बन्न प्रेरित गर्ने उद्देश्यले यो पुरस्कार स्थापना गरिएको गलकोट नगरपालिकाले जनाएको छ । पत्रकार थापाले सामाजिक उत्तरदायित्व सहितको पत्रकारितामा निरन्तर कलम चलाउँदै आएका छन् । थापाले विभिन्न सञ्चार माध्यममा बागलुङबाट रिपोर्टिङ गर्दै आइरहेका छन् । गलकोट नगरपालिकाका कार्यक्रमहरु सञ्चारमाध्यम मार्फत आम जनसमुदायमा खबर पुर्‍याउन अतुलनीय योगदान पुर्‍याउने १ जना पत्रकारलाई सम्मान गर्ने उद्देश्य अनुरुप गलकोट नगरपालिकाले घुम्टे पत्रकारिता पुरस्कार स्थापना गरेको गलकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिशिर पौडेलले जानकारी दिए । गलकोट नगरपालिका २ नरेठाटीको सभाहलमा आयोजित भएको सातौं नगर सभा आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रम र बजेट पास गर्दै सम्पन्न भएको छ । नगर सभामा गलकोट नगरपालिकाका नगर प्रमुख, नगर उपप्रमुख, वडा अध्यक्षहरु, नगर कार्यपालिका सदस्यहरू, वडा सदस्यहरू, सञ्चारकर्मीहरु, कर्मचारीहरु लगायतको सहभागिता रहेको थियो ।

प्रकाशित मिति: शनिबार, असार २०, २०७७  १८:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update