Shittalpati
विद्यालयबाट क्वारेन्टाइन तत्काल हटाउन शिक्षकहरुको माग

विष्णु पाण्डेय

पाल्पा । जिल्लामा निर्माण भएका अधिकांश क्वारेन्टाइनहरु विद्यालयमा राखिएको छ । कोरोनाका कारण भारत लगायत तेस्रो मुलुकबाट आएका नागरिकहरुलाई राख्नका लागि विद्यालयमा क्वारेन्टाइन निर्माण गरिएको हो । वर्तमान परिस्थिती कहिलेसम्म रहने हो भन्ने निक्यौल नभएपछि विद्यालयमा आवश्यक सुरक्षाका उपायहरु अपनाई शिक्षण सिकाई गर्नु आवश्यक रहेकाले जिल्लाका शिक्षकहरुले तत्काल विद्यालयमा निर्माण गरिएका क्वारेन्टाइन हटाउन माग गरेका छन् । शिक्षाको लागि राष्ट्रिय अभियान जिल्ला समन्वय समितिले आयोजना गरेको संकटमा शिक्षा विषय बहसमा जिल्लाका विभिन्न विद्यालयका प्रध्यानाध्यापकहरुले विद्यालयबाट क्वारेन्टाइन हटाउनुपर्ने माग गरेका हुन् ।

वहसमा देववाणि संस्कृत तथा साधारण माविका प्रअ कृष्ण थापा, दिव्यज्योति माविका प्रअ नारायण अधिकारी, पद्य पव्लिक माविका प्रअ नारायण शर्मा, रामतुलसी माध्यमिक विद्यालयका प्रअ बालकृष्ण लम्साल लगायतले विद्यालयबाट क्वारेन्टाइन हटाई बिद्यालय स्यानिटाइज गरी आवश्यक सुरक्षका उपायहरु अपनाई शिक्षक शिकाई क्रियाकलापमा लाग्नुपर्ने बताएका छन् । उनीहरुले वैकल्पिक शिक्षण सिकाई प्रभावकारी नरहेको र कोरोना संक्रमण अहिले नै अन्त्य हुने सम्भावना नरहेकाले यसको बिकल्प नरहेको बताए । कार्यक्रममा शिक्षक महासंघ जिल्लाका अध्यक्ष तथा शारदा माध्यमिक विद्यालयका प्रअ देवि प्रसाद भट्टराईले ६ महिनामै शैक्षिक सत्र सुरु नभएपनि प्रत्येक २/२ महिनालाई प्रत्यके वर्षमा समायोजन गरेर ३ वर्षभित्र शैक्षिक सत्रलाई समायोजन गरेर भएपनि विद्यार्थी र अभिभावकलाई परेको मर्काको समाधान गर्नुपर्नेमा जोड दिए ।

शिक्षक महासंघका पूर्व जिल्ला अध्यक्ष विष्णु पोखरेलले विद्यालयबाट क्वारेन्टाइन हटाई सम्भव भएमा निश्चित दुरी कायम गरी शिक्षा दिनुपर्ने बताए । नेपाल राष्ट्रिय शिक्षक संगठनका जिल्ला अध्यक्ष राम प्रसाद ढकालले राष्ट्रले लिएको वैकल्पिक शिक्षा निति प्रभावकारी नभएको धारणा व्यक्त गरे । एसइईको जिम्मा विद्यालयलाई नै दिदा पारदर्शिता नहुने उनले बताए । पत्रकार महासंघका जिल्ला अध्यक्ष राजेश कुमार अर्यालले विद्यार्थीहरु शिक्षण शिकाई क्रियाकलापमा भन्दा अन्यत्र बढी व्यस्त रहेको र यसतर्फ विद्यालयले ध्यान दिन नसकेको बताए । शिक्षक जीवन आचार्यले संकटको बेला शिक्षकले आफ्नो क्षमताले भ्याएसम्म विद्यार्थीको नजिक पुगेको धारणा व्यक्त गरे । शिक्षाका विषयमा स्थानीय तहका प्रमुखहरु बिच छलफल गरिने समितिका जिल्ला संयोजक शालिकराम पाण्डेले जानकारी दिए । कार्यक्रमको सहजिकरण पत्रकार माधव अर्यालले गरेका थिए ।

प्रकाशित मिति: सोमबार, असार १५, २०७७  १६:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update