Shittalpati
काँग्रेस पाल्पाले पनि पठायो सूचना प्रविधि विधेयकका विरुद्ध प्रधानमन्त्रीलाई पत्र

पाल्पा, देशैभर नेपाली काँग्रेसले नेपाल कम्यनिस्ट पार्टी (नेकपा) नेतृत्वको सरकारले संसदमा दर्ता गर्न लागेको सूचना प्रविधि विधेयकका विरुद्ध प्रधानमन्त्रीलाई विरोध पत्र पठाएको छ । काँग्रेस पाल्पाले पनि आईतबार निमित्त प्रमुख जिल्ला अधिकारी मार्फत प्रधामन्त्री केपी शर्मा ओलीलाई विरोध पत्र पठाएको हो । एकपछि अर्को अलोकतान्त्रीक विधेयकहरु संसदमा ल्याउँदै वर्तमान सरकार निरङ्कुश बन्न खोजेकाले त्यसका विरुद्ध प्रधानमन्त्री समक्ष विरोध पत्र पठाइएको काँग्रेस जिल्ला सचिव झपेन्द्र गहिरेले जानकारी दिए । संविधानको रक्षा र जनअधिकारको संरक्षणका लागि सूचना प्रविधि जस्ता जनविरोधी विधेयकहरु अबिलम्ब फिर्ता गर्न काँग्रेसले माग गरेको छ ।

नेपाली काँग्रेसका जिल्ला सभापति तथा प्रदेश सांसद वीर बहादुर रानाले निमित्त प्रमुख जिल्ला अधिकारी रमा श्रेष्ठलाई उक्त विरोध पत्र बुझाएका हुन् । पत्र बुझाउदै सभापति रानाले बहुमत प्राप्त सरकारले गरेका जनविरोधी कार्यहरु प्रति देशभर प्रधानमन्त्रीको ध्यानाकर्षण गराउन लागिएको जानकारी दिए । उनले नेकपा नेतृत्वको सरकारले सूचना प्रविधि जस्ता संविधानविरोधी विधेयकहरु ल्याएर लोकतान्त्रिक व्यवस्थामाथि प्रहार गरेको बताए । सभापति रानाले सरकारका कारण लामो समयको संघर्ष र बलिदानपछि प्राप्त अधिकारहरु खोसिदै गएको दाबी गरे । ‘लोकतान्त्रिक व्यवस्था माथि सरकारले प्रहार गरेको छ । नेपाली जनताले लामो संघर्ष बलिदान पछि प्राप्त गरेको लोकतान्त्रिक अधिकारहरु खोसिदै छन्’उनले भने, ‘जनताका अभिव्यक्ति स्वतन्त्रता खोसिने विधेयकहरु आएका छन् ।’ सभापति रानाले नेपाली जनतालाई जिस्क्याउने काम भयो भने नागरिकको अधिकार खोसिनेहरु स्वयम् नासिने चेतावनी दिए । जनताको बलिदानी सङघर्षबाट प्राप्त महान उपलब्धीहरुलाई केन्द्रीत गर्दै अधिनायकवादी दम्भ प्रस्तुत गर्न खोज्नु नेपाली जनता र नेपाली काँग्रेसलाई किमार्थ स्विकार्य नुहने भन्दै रानाले अब कुनै पनि हालतमा काँग्रेस चुप लागेर नबस्ने बताए ।

संसदलाई पार्टीले बन्दक बनाएको प्रति लक्षित गर्दै उनले भने ‘न्यायालय सरकारी छाँयामा परेको छ । संवैधानिक अङ्गहरु निकम्मा बन्दैछन । शान्ती सुरक्षाको अवस्था दयनिय छ । संस्थागत र नीतिगत भ्रष्टाचारले सीमा नाघेको छ । राष्ट्रिय सम्पती बिना प्रतिस्पर्धा कौडीको मोलमा आफ्ना पार्टी कार्यकर्तालाई बाँढिदैछ । दलाल, माफीया र पुजीपतिको हित संरक्षणमा लिप्त यो सरकार जनता र लोकतन्त्रका लागि अभिषाप बन्दैछ ।’ विरोध पत्र बुझ्दै निमित्त प्रमुख जिल्ला अधिकारी रमा श्रेष्ठले यथाशिघ्र प्रधामन्त्रीको कार्यालयमा पत्र पठाउने बताईन् । कार्यक्रमा काँग्रेसका नेता तथा कार्यकर्ता, भातृसंस्था, शुभेच्छुक संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको सयौंको संख्यामा उपस्थित रहेको थियो ।

प्रकाशित मिति: आइतबार, माघ ५, २०७६  ०१:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update