Shittalpati
शिक्षण सिकाईमा यस्ता छन् तानसेन नगर सरकारका प्रयास

पाल्पा । लामो समय देखिको बन्दाबन्दीका कारण प्रभावित बनेका विद्यार्थीहरुको पठनपाठनलाई सहज बनाउन तानसेन नगरपालिकाले सुचना प्रविधिको प्रयोग गर्दै शिक्षण सिकाईलाई कसरी सञ्चालन गर्न सकिन्छ भन्ने तर्फ विभिन्न प्रयासहरु गर्दै आएको छ । नगरपालिकाले परीक्षाको तयारीमा जुटेका विद्याथीहरुको पठनपाठनलाई दुरशिक्षा रेडियो कार्यक्रममार्फत चलायमान गरी दिगो बनाउन र शिक्षकहरुलाई अनलाईबाटै विद्यार्थीहरुको शिक्षण सिकाई गराउन सहयोग पुग्ने उद्देश्यले सिकाईमा सहजिकरण गराउने जस्ता प्रयासहरु गर्दै आएको हो ।

यस अघि एसइई परीक्षाको तयारीमा जुटेका विद्यार्थीहरुलाई सामुदायिक रेडियो मदनपोखरा र कक्षा ११/१२ को परीक्षाको तयारीमा जुटेका विद्यार्थीहरुलाई युनिक एफएममार्फत दुरशिक्षा प्रदान गरेको नगरपालिकाले अनलाईबाटै विद्यार्थीहरुलाई शिक्षण सिकाई गराउन सक्ने गरी शिक्षकहरुलाई सिकाईमा सहजिकरण गराइरहेको छ । बन्दाबन्दीको अवस्थामा पनि घरमै बसी सूचनाप्रविधिको प्रयोग गरि विद्यार्थीहरुलाई शिक्षकले शिक्षण सिकाई गराउन सकुन भन्ने उद्देश्यले नगरपालिकाले जेठ ७ गतेदेखि तानसेनका निजी तथा संस्थागत विद्यालयका शिक्षकहरुलाई अनलाईनबाटै शिक्षण सिकाईमा सहजिकरण गराएको हो ।

उक्त सहजिकरण तथा तालिमको तानसेन नगरपालिकाका नगर प्रमुख अशोककुमार शाहीले अनलाईनमार्फत उद्घाटन गरेका थिए । तालिमको उद्घाटन गर्दै नगरप्रमुख शाहीले कोभिड १९ को जोखिमका कारण विद्यालयका शिक्षक र विद्यार्थीलाई परेको प्रभावलाई मध्यनजर गर्दै तालिम आयोजना गरिएको बताए । उनले भने‘घरमै बसेर शिक्षकहरुले आफ्नो क्षमता वृद्धि गरी सोही अनुरुप विद्यार्थीहरुमा शिक्षण सिकाई गर्न तालिमले महत्वपूर्ण टेवा पुर्‍याउने छ ।’ तालिम शुभारम्भमा नेकपाका नेता ठाकुर गैरेले समय सापेक्ष शिक्षण सिकाईलाई पनि परिपार्जन गर्दै जानुपर्नेमा जोड दिए । तालिममा सिकेका कुराहरुलाई आत्मासाथ गर्दै शिक्षकले विद्यार्थीहरुलाई शिक्षण सिकाई गराउनुपर्ने नगरपालिकाका शिक्षा शाखा प्रमुख रेशमलाल न्यौपानेले बताए । सोही अवसरमा तालिम व्यवस्थापन समितिका सदस्यहरु कृष्ण बहादुर थाप, भरत प्रसाद न्यौपाने, जीवन आचार्य लगायतले कोरोना महामारीका कारण प्रभावित बनेको शिक्षा क्षेत्रलाई नगर सरकारले चासो देखाएकोमा खुसी व्यक्त गरे । सूचना प्रविधिको प्रयोग गरी दिएको तालिमबाट शिक्षकहरुले आफ्ना विद्यार्थीहरुलाई सिकाउन सहज हुने सहजकर्ता प्रकाश गैरेले बताए । अनलाईन तालिममा ३ सय ६५ जना शिक्षकहरुको सहभागी रहेको छ । उनीहरुलाई सहजकर्ता प्रकाश गैरे, जीवन आचार्य ,मनोहर थापा र महेन्द्र लम्सालले सहजिकरण गरिरहेका छन् ।

प्रकाशित मिति: मंगलबार, जेठ १३, २०७७  ०४:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update