Shittalpati
पाल्पाका स्थानीय तहको पहलमा सीमानामा अलपत्र नागरिकको उद्दार

पाल्पा । जिल्लाका स्थानीय तहहरुले सीमानामा अलपत्र नागरिकलाई उद्दार गरेका छन् । स्थानीय तहहरुको पहलमा रूपन्देहीको बेलहिया नाका, कपिलवस्तुको कृष्णनगर नाका र नवलपरासीका विभिन्न नाका हुँदै नेपाल प्रवेश गरेका पाल्पा घर भएकाहरूको उद्दार गरिएको हो । उनीहरूलाई शुक्रबार राति र शनिबार राति गरेर तानसेन ल्याइएको छ । उनीहरुको कोरोना परीक्षण गरी सम्बन्धित स्थानीय तहमा पठाउन सदरमुकाम तानसेनमा होल्डिङ क्वारेन्टाईन सञ्चालनमा ल्याइएको छ ।

भारतबाट आउने जोसुकै अनिवार्यरुपमा होल्डिङ क्वारेण्टाइनमा बस्नुपर्ने हुन्छ । बढीमा तीन दिन यहाँ बस्नुपर्ने छ । भारतीय कुनैपनि नाकाबाट प्रवेश गरेका उनीहरू पहिले तानसेनमा रहेका क्वारेण्टाइनमा आउनुपर्ने छ । उनीहरुलाई क्वारेन्टाइनमा राखी पहिलो चरणमा कोरोना परीक्षण गरेर सम्बन्धित गाउँपालिकामा पठाइने कोरोना हेल्पडेस्कका संयोजन टुकप्रसाद भट्टराईले बताए । जिल्ला जनस्वास्थ्य कार्यालयका निमित्त प्रमुख विश्वनाथ न्यौपानेका अनुसार भारतबाट फर्केका ६६ जनाको पिसिआर गरिएको छ । रामपुर नगरपालिकामा २४, पूर्वखोला गाउँपालिकामा २१, निस्दी गाउँपालिकामा २३, माथागढीमा तीन, रिब्दीकोट गाउँपालिकामा २, रैनादेवी छहरा गाउँपालिकामा दुई, तनहँुका एक र बाग्लुङका चार जनाको तानसेन क्वारेन्टाइनमा पिसिआर परीक्षण गरिएको संयोजक भट्टराईले बताए ।

कृष्ण नगर र सुनौली नाकामा अलपत्रलाई शनिबार पाल्पा ल्याइएको छ । कृष्णनगर नाकाबाट २७, सुनौलीबाट २७ र बर्दघाट हुँदै भित्रिएका चार जनालाई बर्तुङ र बतासेस्थित क्वारेन्टाइनमा राखिएको संयोजक भट्टराईले बताए । तानसेनस्थित होल्डिङ क्वारेन्टाइनबाट २३ जनालाई गाउँपालिकामा ल्याइएको निस्दी गाउँपालिकाका अध्यक्ष मुक्तबहादुर सारुले जानकारी दिए । कोरोना परीक्षणपछि सम्बन्धित व्यक्तिलाई क्वारेन्टाइनमा राखिएको बताइएको छ । आरडिटी वा पीसीआर गरेपछि मात्र उनीहरू आफ्नो स्थानीय तहमा जान पाउने प्रमुख जिल्ला अधिकारी यादव सुवेदीले बताए । तर सम्बन्धित स्थानीयतहमा पुगेपछि भने त्यहाँ रहेको क्वारेण्टाइनमा १४ दिन बस्नुपर्ने र १४ दिनपछि आरडिटी परीक्षण गरेर नेगेटिभ रिपोर्ट आएकाहरूलाई थप एकहप्ता होम क्वारेण्टाइनमा बस्ने शर्तमा घरमा पठाइने व्यवस्था मिलाईएको छ ।

प्रकाशित मिति: आइतबार, जेठ ११, २०७७  ०७:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update