Shittalpati
काँग्रेसका नेता तथा सामाजिक व्यक्तित्व शाक्यको अन्तिम विदाई

पाल्पा । नेपाली काँग्रेस पाल्पाका नेता तथा सामाजिक व्यक्तित्व चकोरमान शाक्यको श्रद्धाञ्जली सहित अन्तिम दाहासंस्कार गरिएको छ । जिल्लाका राजनितिक दल, जनप्रतिनिधि, उद्योगी, व्यापारी, सामाजिक संघसंस्थाका प्रतिनिधिहरु लगायत शुभेच्छुकहरुको उपस्थितीमा आईतबार राम्दीमा अन्तिम दाहसंकार गरिएको हो । तानसेन टक्सारस्थित उनकै निवासमा पार्टीको तर्फबाट झण्डा ओढाई शोक समवेदना पश्चात् तानसेन टुँडीखेलमा उनको शवमा सामाजिक संघसंस्था, जनप्रतिनिधि, राजनैतिक दल, पाल्पा उद्योग वाणिज्य संघका प्रतिनिधि र सयौं शुभेच्छुकहरुले अन्तिम श्रद्धाञ्जली दिएका थिए । शाक्यको क्यान्सर रोगको उपचारको क्रममा काठमाडौंमा ७७ वर्षको उमेरमा शनिबार निधन भएको थियो । उनको निधन प्रति नेपाली काँग्रेस लगायतका जिल्लाका विभिन्न सामाजिक संघ संस्थाहरुले दुःख व्यक्त गरेका छन् ।

नेपाली काँग्रेस पाल्पाले शोक वक्तव्य जारी गर्दै उनको निधनले पार्टी र जिल्लालाई ठूलो क्षति पुगेको जनाएको छ । ‘अकल्पनीय एवं दुःखद् घडीमा नेपाली कांँग्रेस पाल्पा दिवंगत आत्माप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै उनकी धर्मपत्नी, परिवारजन र नेपाली काँग्रेसमा भएको अपुरणीय क्षतिप्रति धैर्यधारण गर्ने शक्ति प्राप्त होस् भनि समवेदना प्रकट गर्दछ ।’ सभापति तथा प्रदेश सांसद वीरबहादुर रानाद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ । नेपालको लोकतान्त्रिक आन्दोलन र जिल्लाको सामाजिक, राजनैतिक, व्यापारिक, शैक्षिक लगाएत विकास निर्माणमा स्व.शाक्यले पुर्‍याएको योगदानको काँग्रेस पाल्पाले उच्च मूल्यांकन गर्ने शोक वक्तव्यमा भनिएको छ ।

उनी २०४३ सालमा नेपाली काँग्रेसको तर्फबाट तानसेन नगरको प्रधानपञ्चको उम्मेदवार बनेका थिए । शाक्यले पञ्चायत विरोधी आन्दोलनमा काँग्रेसको तर्फबाट महत्वपूर्ण भूमिका निर्वाह गरेको पाइन्छ । २०५० सालमा नेपाली काँग्रेस तानसेन नगरको नगर सभापति बनेका शाक्य पार्टीमा इमान्दार र क्रियाशलि रहेकै कारण २०७२ सम्म निरन्तर नगर सभापतिको पदमा रहेर नेतृत्व गर्दै आए । उनले जिल्लाका उद्योगी तथा व्यपारीहरुको हितमा महत्वपूर्ण काम गरेका छन् । शाक्य २०४५ मा पाल्पा उद्योगा वाणिज्य संघको अध्यक्ष हुँदै केन्द्रिय सदस्य समेत बने । अत्यन्त इमान्दार, निष्ठवान, क्रियाशिल व्यक्तित्वको निधनप्रति जिल्ला शोकमा रहेको छ । उनका श्रमिती, बुहारी र दुई नातिनीहरु रहेका छन् ।

प्रकाशित मिति: आइतबार, जेठ ११, २०७७  ०५:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update