Shittalpati
अपांगता र एकल महिलाको भत्ता रोक्ने सरकारको निर्णयप्रति महिला संघ पाल्पाको गम्भीर ध्यानाकर्षण

पाल्पा, सरकारले अपांगता भएका व्यक्ति र एकल महिलालाई दिँदै आएको भत्ता रोक्का गरेकोमा महिला संघ पाल्पाले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । अतिअशक्त अपांगता भएका व्यक्ति र ६० वर्षमुनिका असहाय एकल महिलालाई दिँदै आइएको सामाजिक सुरक्षा भत्ता वितरण नगर्ने सरकारको निर्णयप्रति महिला संघले गम्भीर ध्यानाकर्षण भएको जनाएको हो । संघले एक प्रेस विज्ञप्ती जारी गर्दै नेपाल महिला संघ पाल्पा सदैव महिला दिदीबहिनीको हकहितमा लड्दै आइरहेको छ । विगतका सरकारले नियमित दिदै आएको अति अशक्त अपाङ्गता र एकल महिलाको भत्ता यो सरकारले रोकेकोमा ध्यानाकर्षण भएको जनाएको छ ।

नेपाल महिला संघकी अध्यक्ष गंगा पौड्याल, उपाध्यक्ष मिना पन्थी र सचिव सुनिता अधिकारीद्वारा संयुक्त हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ ‘अति अशक्त अपाङ्गता भएका व्यक्ती र ६० बर्ष उमेर मुनिका असहाय एकल महिलालाई दैनिकी चलाउन सहज हुने सामाजिक सुरक्षा भत्ता रोक्ने सरकारको निर्णयप्रति घोर भत्सर्ना गर्दै तत्काल यो निर्णय सच्याउन सरकारसँग माग गर्दछौ ।’

सामाजिक सुरक्षाको हकबाट बञ्चित रहनु पर्ने छैन भन्ने संविधानको प्रावधानविपरीत सरकारले भत्ता रोकेको प्रति संघकी अध्यक्ष पौड्यालले आपत्ति जनाईन । कोरोना महामारीबाट प्रताडित भइरहेको अवस्थामा सामाजिक सुरक्षा भत्ता काटिनु सरकारको गैरजिम्मेवार निर्णय भएको उपाध्यक्ष पन्थीले बताईन । उक्त निर्णय तत्काल खारेज गरी अविलम्ब सामाजिक सुरक्षा भत्ता वितरण नगरे संघले आन्दोलन गर्न बाध्य हुने सचिव अधिकारीले सरकारलाई चेतावनी दिईन् ।

 

 

प्रकाशित मिति: शनिबार, जेठ १०, २०७७  १६:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update