Shittalpati
बडिगाडमा आगालागि हुँदा घरगोठ जलेर पूर्णरुपमा नष्ट,परिवारको विचल्ली

खर्वाङ । बडिगाड गाउँपालिका वडा नं. २ सिमलचौर हुकुर्थुम डाँडामा शिव भनिने सुरज बहादुर कुमालको घरगोठ गएराती भएको आगलागीबाट पूर्ण रुपमा नष्ट भएको छ । राति ९ बजे पछि भएको आगलागि प्रहरी र स्थानीयको सक्रियतामा राति ११ बजे पछि नियन्त्रणमा आएको थियो ।

घर र गोठ एकैठाउँमा तथा खरको छानो भएको र राती भएकोले गोठमा बाँधीएका पशु फुकाउनु बाहेक केहि जोगाउन नसकिएको र २ लाख ४५ हजार बरावरको क्षति भएको खर्वाङ प्रहरी चौकीका प्रमुख प्रहरी सहायक निरिक्षक गुरु प्रसाद न्यौपानेले बताए । घर धनि सुरज मदिराले माती घरमा श्रीमति राधिका र छोरा छोरीलाई पिट्न थालेपछि भागेको र सोहि समयमा सुरजले नै आफ्नै घरमा आगो लगाएको स्थानीयले बताएका छन् । पिडित राधिकाले श्रीमान्ले आफुहरुलाई कुट्न थालेपछि छोराछोरी हातमा लिइ ज्यान वचाउँन छिमेकीको घरमा पुगेको त्यतिनै बेला रिसले चुर भएका श्रीमान्ले आगो लगाएको बताइन् । घरमा आगो लगाएर घरभित्रै बसेका सुरजलाई तत्कालै जुटेका स्थानीयले घर भित्रैबाट निकालेका थिए । आगो नियन्त्रणमा आएपछि प्रहरीले सुरजलाई नियन्त्रणमा लिई प्रहरीचौकी खर्वाङमा राखेको छ ।

घटनाको थप अनुसन्धान भैरहेको र आरोपित सुरजलाई जिल्ला चलान गर्ने तयारी भैरहेको प्रहरीले जनाएको छ । उता यस वर्ष वडा कार्यालयको खरको छानो विस्थापित गरि टिनको छाना लगाउने गरि तयार गरिएका सवै काठ सहित सिँगो घर गोठ नै जलेपछि परिवार विचल्लीमा परेको छ । दैनिक रुपमा ज्याला मजदुरीबाट गुजारा गर्दै आएको परिवारमा लत्ता कपडा सहित घरमा भएको सवै जलेपछि विचल्लीमा परेको हो ।

परिवारमा श्रीमान्, श्रीमती सहित ३ छोरा र १ छोरी रहेका छन् । जेठो छोराले काठमाडौंमा होटलमा काम गर्ने गरेपनि अहिले बन्दाबन्दिले समस्या परिरहेको र घरमा रहेका छोरा छोरी साना भएकोले थप समस्या पर्ने देखिएको हो । अहिले छिमेकीको घरमा आश्रय लिएको परिवारलाई नेपाल रेडक्रस सोसाइटी उपशाखा खर्वाङले त्रिपाल सहित सहयोग गर्ने अध्यक्ष होमनाथ अर्यालले जानकारी दिए । विचल्लीमा परेको सो परिवारलाई सहयोगको खाँचो देखिएको छ । –पत्रकार कमल पौडेलबाट

प्रकाशित मिति: बिहीबार, जेठ ८, २०७७  १२:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update