Shittalpati
पाल्पामा लकडाउनलाई थप प्रभावकारी बनाइने

पाल्पा । विश्वर फैलिएको कोरोना महामारी नियन्त्रणका लागि सरकारले जारी राखेको लकडाउनलाई पाल्पामा थप प्रभावकारी बनाइने भएको छ । मंगलवार बसेको सिसीएमसीको बैठकले लकडाउनलाई प्रभावकारी रुपमा जारी राख्ने निर्णय गरेको हो ।

बैठकले छिमेकी जिल्लाहरुमा संक्रमण बढ्दै गएकाले यसको प्रभावलाई मध्यनजर राखी अत्यावश्यक वस्तुहरुको ढुवानी, (खाद्यान्‍न, औषधी, खानेपानी, पशुपन्छीको आहार, ग्याँस र पेट्रोलियम पदार्थ), एम्बुलेन्स, शव वाहन, दमकल, मृत्युसंस्कार, विद्युत, सञ्‍चार, सुरक्षाकर्मीले प्रयोग गरेका र पास लिएका सवारी साधन, निर्माण सामग्री बोकेका ढुवानीका साधन तथा राजमार्गमा गुड्ने सवारी साधनहरु जिल्ला भित्र ओर्लिन र चढ्न नपाउने गरी बाहेकका सबै प्रकारका सवारी साधनहरु र मानिसहरुको एक जिल्लाबाट अर्को जिल्लाको आवगमनमा पूर्ण रुपमा रोक लगाउने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी यादव सुवेदीले जानकारी दिए । जिल्ला भित्र तरकारी, दुध, फलफूल, खाद्यान्‍न लगायतका पसलहरु, बैँक तथा वित्तिय संस्थाहरु यस अघिका निर्णय बमोजिम नै खुल्ने छन् ।

यस्तै जिल्ला भित्र खाद्यान्‍न, तरकारी, दुध लगायतका अत्यावश्यक वस्तुहरुको ढुवानी विहान ७ बजे देखि ११ बजेसम्म सञ्चालन गर्ने, जिल्ला भित्र निर्माण सामग्री बोकेका सवारी साधनहरु बेलुका ६ बजे देखि ९ बजेसम्म सञ्चालन गर्ने , जिल्ला बाहिरबाट खाद्यान्‍नको ढुवानी गर्दा मालबाहक ट्रकबाट मात्र ढुवानी गर्ने,त्यसरी ढुवानी गर्दा बिहान ७ बजे भित्र दोभान पुगीसक्ने गरी र बेलुका ७ः३० बजे भित्र दोभानबाट भित्रीसक्ने गरी ढुवानी गर्ने,जिल्ला बाहिरबाट सार्वजनिक निर्माणका लागि आवश्यक पर्ने निर्माण सामग्री बोकेका ढुवानीका साधनहरु सोमबार, बुधवार र शनिवार सञ्‍चालन गर्ने निर्णय भएको छ । त्यस्तै बैठकले नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट प्राप्त भएका आरडीटीबाट पहिलो चरणमा स्थानीय तहको सिफारीसमा तोकिएका व्यक्ति, स्वास्थ्यकर्मी, एम्बुलेन्स चालक, सुरक्षाकर्मी र पत्रकार महासंघबाट सिफारीस भई आएका सञ्‍चारकर्मीहरुको परीक्षण गर्ने निर्णय गरेको छ ।

प्रकाशित मिति: बुधबार, जेठ ७, २०७७  १५:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update