Shittalpati
‘डाक्टरले भनेपछि बल्ल धुवाँको असर अनूभूति भयो’

रेसुङ्गा, ग्रामीण भेगमा अझै पनि भान्सामा परम्परागत चुलोको प्रयोग गर्नाले दमका रोगी बढेका छन् । गुल्मीको चन्द्रकोट गाउँपालिकाले आयोजना गरेको बृहत् निःशुल्क स्वास्थ्य शिविरमा अधिकांशलाई दमको समस्या देखिएको छ ।

चन्द्रकोट–४ का बलबहादुर पुन उमेरले ८५ वर्षको पुगे । उनलाई दमसम्बन्धी समस्या पहिलेदेखि नै थियो तर, गाउँपालिकाको केन्द्र शान्तिपुरमा विशेषज्ञ डाक्टरसँग जाँच गराएपछि मात्र यसको बढी असर घरकै चुलोबाट भएको थाहा पाए । चुलोबाट निस्कने धुवाँका कारण उनलाई फोक्सोसम्बन्धी दमले च्याँपेको हो । ‘घरमा सधैँ चुलोमै खाना पाक्छ, धुवाँ हुन्छ तर यसको असर मलाई थाहा थिएन’, उनी भन्छन्, ‘डाक्टरले भनेपछि बल्ल धुवाँको असर अनूभूति भयो । ’चन्द्रकोट–३ का शिवलाल न्यौपाने पनि डाक्टर आएको थाहा पाएपछि शान्तिपुरमा पुगे । असी वर्षका उनलाई दम भएको थाहा भए पनि कारण जानकारी थिएन । डाक्टरसँगको जाँचपछि घरकै चुलोबाट निस्कने धुवाँ र धूमपानका कारण दम बढेको थाहा पाए । ‘धुलो र धुवाँमा त अनगिन्ती संगत गरियो’, उनी भन्छन्, ‘यसको असरबारे मलाई अहिलेसम्म जानकारी थिएन ।’ सोही ठाउँकी ७८ वर्षीया पार्वती सुवेदी पनि दमलगायतका रोगबाट पीडित छन् । उनको अधिकांश समय चुलोको धुवाँसँगै बितेका कारण दमले च्याँप्दै गएको डाक्टरको जाँचपछि पत्तो पाइन् । ८६ वर्षीया पूर्णकला थापाको पनि समस्या उहीँ हो । उनीहरु मात्र होइन, चन्द्रकोटको निःशुल्क स्वास्थ्य शिविरमा सहभागी अधिकांश बिरामी दमका छन् ।

यहाँ केही समय अघि सञ्चालन भएको शिविरमा सेवा लिएका एक हजार छ सय २३ जनामध्ये अधिकांश दमका बिरामी सहभागी थिए । योसँगै मिर्गौला, मुटु, स्त्री, जनरल फिजिसियन र आँखाका बिरामीले पनि सेवा लिएका छन् । उनले निःशुल्क जाँचसँगै औषधि पनि पाए । गाउँघरमा दैनिक चाहिने ऊर्जाका निम्ति कोइला, दाउरा तथा गुइँठा आगोको कच्चा पदार्थका रुपमा प्रयोग गरिन्छ । खाना बनाउनका लागि प्रयोग हुने गरेका यी वस्तु र चिसो मौसममा आगो तापेर चुलो छेउमा बस्दा पनि धुवाँले असर गरिरहेकै कारण अधिकांशमा दमको समस्या देखिएको हो । चन्द्रकोट गाउँपालिकाको स्वास्थ्य शिविरमा उपस्थित अधिकांशमा आफूले जाँच गर्दा दमसम्बन्धी समस्या देखिएको जनरल फिजिसियन डा नन्दु पाठकले जानकारी दिए । चुलोबाट निस्कने धुवाँ र धूमपान बढी प्रयोगका कारण दमको समस्या देखिएको उनले बताए । ‘दमबाट बँच्न धूमपान चटक्कै छाड्ने र विद्युतीय चुलो प्रयोग गर्नुपर्छ’, उनी भन्छन् । ग्रामीण भेगमा अझै पनि सुधारिएको चुलोको प्रयोगमा समेत कमी छ परम्परागत चुलोलाई विस्थापित गरेर विद्युतीय चुलोको प्रयोग गर्न सामुदायिक विद्युत् उपभोक्ता महासंघसँग सहाकार्य गरेको चन्द्रकोट गाउँपालिकाका अध्यक्ष युवराज केसीले बताए । ‘आधुनिक चुलोको प्रयोग बढाउन विद्युतीय चुलो बजार प्रवद्र्धन कार्यक्रम लागू गरेका छौँ’, उनी भन्छन्, ‘परम्परागत चुलोले स्वास्थ्यमा असर गरेकाले धुवाँरहित चुलो प्रयोग गर्नुपर्छ’, उनले भने । सामुदायिक विद्युत् उपाभोक्ता संघको दुई हजार र गाउँपालिकाको पाँच सय अनुदानसहित उपभोक्ताको एक हजार तीन सयमा विद्युतीय चुलो वितरण भइरहेको छ । –रासस

प्रकाशित मिति: बिहीबार, माघ २६, २०७९  १०:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update