Shittalpati
विपन्न तथा जेहनदार विद्यार्थीलाई छात्रवृत्ति

गुल्मी, जिल्लाको एक विद्यालयका विपन्न तथा जेहनदार विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरिएको छ । सिद्धार्थ सामाजिक विकास केन्द्र कपिलवस्तुले जिल्लाको तम्घासमा रहेको सिद्धबाबा माध्यमिक विद्यालयमा अध्ययनरत ४ जना विपन्न तथा जेहनदार विद्यार्थीहरुलाई छात्रवृत्ति दिएको हो ।

संस्थाले कोभिड–१९ प्रतिकार्य कार्यक्रम (विपद् बाल संरक्षण) कार्यक्रम अन्तर्गगत विद्यार्थीहरुलाई आर्थिक सहयोग स्वरुप छात्रवृत्ति सहयोग गरिएको जनाएको छ । विद्यालयमा कक्षा ६ मा अध्ययनरत सञ्जीता भलामी, कक्षा १० मा अध्ययनरत विपना विक, कक्षा ११ मा अध्ययनरत विपना विश्वकर्मा र कक्षा ५ मा अध्ययनरत विशाल विकलाई जनही ५ हजारका दरले छात्रवृत्ति वितरण गरिएको सिद्धार्थ सामाजिक विकास केन्द्र कपिलवस्तुुका वास कार्यक्रम संयोजक साहित्य पोखरेलले बताए । रेसुङ्गा नगरपालिकाको–८ को वडा कार्यालयमा एक औपचारिक कार्यक्रमका बिच विद्यार्थीहरुलाई उक्त छात्रवृत्ति दिइएको थियो । वडाध्यक्ष निरञ्जन काउछा र वास कार्यक्रम संयोजक पोखरेलले विपन्न तथा जेहेनदार विद्यार्थीले अध्ययन गर्ने सिद्धबाबा माध्यमिक विद्यालयका प्रधानाध्यापक डोरविक्रम श्रीसलाई नगद हस्तातरण गरेका थिए ।

विपन्न तथा जेहेनदार विद्यार्थीलाई छात्रवृत्ति वितरण गरेकोमा वडाध्यक्ष काउछाले यो सहयोगले विद्यार्थीको उच्च शिक्षा अध्ययनमा ठूलो टेवा पुग्ने बताए । उनले आफ्नो वडामा यस्ता धेरै विद्यार्थीहरु रहेकाले निरन्तर सहयोगको खाँचो रहेको धारणा व्यक्त गरे । विद्यार्थीको तर्फबाट छात्रवृत्ति रकम बुझ्दै सिद्धबाबा माध्यमिक विद्यालयका प्रधानाध्यापक डोरबिक्रम श्रीसले विपन्न तथा जेहेनदार विद्यार्थीलाई छात्रवृत्ति सहयोग गरेको भन्दै संस्थालाई आभार व्यक्त गरे । उनले विपन्न र जेहनदार विद्यार्थीका लागि सबैक्षेत्रको सहयोगको सधै आश्यक रहेको बताए । विद्यार्थीका लागि वितरण गरिएको छात्रावृत्ति वापतको रकम उनीहरुको पढाइका निम्ति खर्चिने विद्यालयले जनाएको छ । कतिपय विद्यालयका यस्तै विपन्न तथा जेहेनदार विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिएको रकम स्वयं विद्यार्थीका अभिभावकलाई दिँदा पढाईमा भन्दा अन्यत्र खर्चिने गरेकाले विद्यालयका प्रधानाध्यापकलाई रकम हस्तातरण गरिएको वास कार्यक्रम संयोजक पोखरेलले बताए ।

विपन्न तथा जेहेनदार विद्यार्थीलाई वितरण गरिएको छात्रवृत्ति रकम विद्यार्थीका अभिभावकको रोहवरमा विद्यालयलाई हस्तातरण गरिएको थियो । यूनिसेफ नेपालको सहयोग, सिद्धार्थ सामाजिक विकास केन्द्र कपिलवस्तु र रेसुङ्गा नगरपालिकाको समन्वयमा विपद् कोभिड १९ प्रतिकार्य कार्यक्रम सञ्चालन भइररहेको छ । नगरभित्र कोभिड १९ प्रतिकार्य कार्यक्रम अन्तरगत बालसंरक्षण, मनोसामाजिक, रुपान्तरण, पोषण र वास कार्यक्रम हुुँदै आएको छ । संस्थाले विभिन्न विद्यालयमा विपन्न तथा जेहेनदार विद्यार्थीलाई छात्रवृत्ति वितरण गर्दै आएको छ । योसँगै विभिन्न कारणले मनोसामाजिक समस्यामा परेका बालबालिका महिला तथा अन्य ब्यक्तिहरुका लागि आवश्यक मनोसामाजिक परामर्श सेवा समेत दिँदै आएको छ । – अनिल खत्री

प्रकाशित मिति: मंगलबार, माघ २४, २०७९  १०:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update