Shittalpati
चोरीका घटना बढेपछि पाल्पा प्रहरी चनाखो

पाल्पा, छिमेकी जिल्लाहरुमा चोरीका घटनाहरु बढेपछि पाल्पा प्रहरी चनाखो बनेको छ । जिल्ला प्रहरी कार्यालयले छिमेकी जिल्ला गुल्मी, स्याङ्जा, रुपन्देहीका विभिन्न स्थानमा चोरीका घटना बढ्न थालेपछि उच्च सर्तकताका साथ चनाखो बनेको हो । पाल्पामा पनि चोरीका घटना हुुन सक्ने भन्दै प्रहरीले सबैलाई उच्च सर्तकता अपनाउन भनेको छ । उसले एक सूूचना नै सार्वजनिक गर्दै छिमेकी जिल्लाहरुमा चोरीका घटनाहरु बढ्दै गएकोप्रति आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।

चोरी गर्ने व्यक्तिहरुले खासगरी दिनको समयमा कार्यालय सञ्चालन/गतिविधि हुने तर रातको समयमा बन्द हुने मन्दिर, गुम्बा, बैंक–बित्तिय संस्था, सहकारी संस्था, विद्यालय, पालिका कार्यालय, वडा कार्यालय, घरबेटी नभएको घर, विभिन्न पसलहरुलाई निशाना बनाउने गरेकाले सर्तक रहन प्रहरीले आम नागरिकलाई आग्रह गरेको छ । विगतका वर्षहरुमा जाडोको समयमा चोरीका घटनाहरु बढ्ने गरेको भन्दै प्रहरीले यस्ता किसिमका चोरीका घटना हुुन नदिन सुरक्षा सर्तकता अपनाइएको बताएको छ । जिल्ला प्रहरी कार्यालय तथा मातहत प्रहरी ईकाइबाट थप गस्ती– पट्रोलिङको व्यवस्था गरिएको जिल्ला प्रहरी कार्यालयले सूचनामार्फत जानकारी गराएको छ । चोरीका घटना हुन नदिनका लागि सदा झै स्थानीय जनसमुदायको सहयोगको समेत प्रहरीले अपेक्षा गरेको छ । उसले चारैतिर प्रकाश आउने बत्तिको व्यवस्था मिलाउन, झ्याल–ढोका बलियो गरी बन्द गर्न, समुदायमा सिसिटिभी जडान गर्न, समुदायस्तरमा समन्वय र सहकार्य गर्न, रातको समयमा आफ्नो समुदाय भन्दा बाहिरको व्यक्ति आवत–जावत गरेमा प्रहरीलाई खबर गर्न, नगद र बहुमुल्य गहनाहरुको विशेष सुरक्षा गर्न, नगद भन्दा डिजिटल कारोबारलाई प्राथमिकता दिन, चनाखो भई सुत्ने र कुनै अनावश्यक हर्कत भए गरेमा निग्रानी गर्न आम नागरिकलाई सुचित समेत गरेको छ ।

प्रकाशित मिति: शुक्रबार, माघ २०, २०७९  ११:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update