Shittalpati
आज विश्व सिमसार दिवस मनाइदैं

पाल्पा, प्रत्येक वर्ष फ्रेब्रुअरी २ का दिन मनाइने विश्व सिमसार दिवस आज नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । ‘सिमसार क्षेत्र पुर्नस्थापना’ भन्ने नाराका साथ सन् २०२३ को विश्व सिमसार दिवस मनाउन लागिएको हो । सिमसारको संरक्षण गर्न सन् १९७१ मा रामसार महासन्धि स्थापना भएपछि यो दिवस मनाउन थालिएको पाइन्छ । सिमसार भन्नाले पानीको मुहान लगायत दलदल एवं पानी जमेको क्षेत्रलाई जनाउँछ । सिमसार जैविक विविधताको दृष्टिले महत्वपूर्ण प्राकृतिकस्थल हो । सिमसारले विभिन्न प्रजातिका जीवजन्तु तथा वनस्पतिलाई बासस्थान प्रदान गर्ने भएकाले नै सरकारले पनि सिमसार क्षेत्रको संरक्षण कार्यलाई प्राथमिकतामा राखेको छ ।

नेपालको करिब पाँच प्रतिशत भूभाग सिमसार क्षेत्रले ओगटेको छ । विश्व संरक्षण संघ नेपालको गत वर्षको अभिलेख अनुसार नेपालमा १ सय ६३ सिमसार तराईमा छन् भने ७९ सिमसार हिमाली तथा पहाडी क्षेत्रमा छन् । सिमसार लाखौँ घुमन्ते चरा, माछा, उभयचर र बोटबिरुवाका लागि महत्वपूर्ण बासस्थान पनि हो । सिमसारले धेरै जनसमुदायका लागि जीवनयापनको आधार पनि प्रदान गरेको छ । विभागको तथ्याड्ढ अनुसार नेपालमा पाइने १ सय ७२ लोपोन्मुख प्रजातिका वनस्पति र प्राणी सिमसारमा आश्रित छन् । यसैगरी नेपालमा पाइने ८ सय ७८ प्रजातिका चरामध्ये १ सय ९३ प्रजातिका चरा, २० प्रजातिका मेरुदण्ड भएका जीवमध्ये १७ प्रजातिका जीव र सात हजार प्रजातिको वनस्पतिमध्ये २५ प्रतिशत सिमसारमा आश्रित छन् । हालसम्म विश्वमा नेपालसहित एक सय ७० राष्ट्रले सिमसार संरक्षणका लागि रामसार सन्धिमा हस्ताक्षर गरिसकेका छन् । विश्वका एक हजार ६ सय ७६ सिमसार रामसार सूचीमा सूचीकृत भएका छन् । नेपालका घोडाघोडी ताल क्षेत्र, जगदीशपुर जलाशय क्षेत्र, बीसहजारी ताल क्षेत्र, कोशी टप्पु आरक्ष, से फोक्सुन्डो ताल, गोक्यो ताल, माईपोखरी, रारा ताल, पोखराका विभिन्न ताल विश्व रामसार क्षेत्रमा सूचीकृत सिमसार क्षेत्र हुन् । सिमसारको जैविक मात्र होइन, धार्मिक, सांस्कृतिक, पौराणिक दृष्टिले पनि महत्व रहेको छ ।
नेपालको सन्दर्भमा सिमसार क्षेत्रको विशेष महत्व छ । हिमाल, पहाड र तराईका विभिन्न जातजातिले मनाउने अधिकांश चाडपर्व दह, ताल, पोखरी, नदी किनारसँग सम्बन्धित छन् । पुर्खाले जानी÷नजानी संरक्षण गर्दै आएको भए पनि अत्यधिक प्रयोग र दोहनका कारण अहिले सिमसार क्षेत्र संकटमा छ ।

प्रकाशित मिति: बिहीबार, माघ १९, २०७९  ११:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update