Shittalpati
आत्मनिर्भर बन्दै ग्रामीण भेगका महिला

रेसुङ्गा, विशेष गरेर आफ्नो सीप प्रयोग गरी बनाइएका परम्परागत शैलीका सामग्री बिक्री गर्न पुरुष हिँड्ने चलन छ । घरायसी काम गर्न महिला घरमै बस्ने र पुरुष खर्चको जोहो गर्न सामग्रीको बिक्री गर्न हिँड्ने गर्दछन् । तर गुल्मी, पाल्पा र स्याङ्जाको संगमस्थल कालीगण्डकी नदीको किनारा रिडीमा लागेको यस वर्षको माघी मेलामा फरक दृश्य देखियो । यहाँ ग्रामीण भेगका महिला आफै आत्मनिर्भर बन्ने अठोटका साथ आफैँले बनाएका सामग्री लिएर बेच्नको लागि टाढाटाढाबाट आएका थिए ।

रुकुम पूर्वबाट आफ्नो सीपले बनाएका सामग्री बिक्री गर्न ३५ जनाको समूह रिडीमा आएको थियो । जसमध्ये ३१ महिला रहेको सुन्पुरा बुढाले बताइन् । उनीहरुले विशेष भेडाको ऊनबाट बनेका राडीपाखी, काम्ला र गलैँचा लगायत सामग्री लिएर बेच्न आएका हुन् । बुढा उमेरले ५६ वर्ष पुगिन् । यसरी वर्षभर घरमा फुर्सदको समयमा ऊनबाट सामग्री निर्माण गर्ने र मेलामौकामा बेच्न थालेको ३० वर्षअघि देखि हो । घरमा श्रीमानले भेडा पाल्ने र आफूहरु सामग्री बेच्नको लागि टाढाटाढा पुगेर जीविकोपार्जन गर्ने गरेको पुथा उत्तरगंगा गाउँपालिका रुकुमपूर्वकी सुन्पुराले बताइन् । आफैँले संघर्ष गरेर आत्मनिर्भर बन्ने दौडमा रहेको सुन्पुरा बुढाको भनाइ छ । ‘महिलाले घरायसी काम मात्र गर्नुपर्छ भन्ने पनि छैन’, उनले भनिन्, ‘म त धेरै वर्षदेखि आफैँ आत्मनिर्भर बनेर घर खर्च चलाएकी छु ।’ मेहनत र परिश्रम गरेपछि कुनै समस्या नहुने बुढाले बताइन् । रुकुम पूर्वबाट आफैँले भेडाको ऊनबाट बनाएका सामग्री बेच्नको लागि १६ वर्षदेखि ६६ वर्ष उमेर समूहका महिला गुल्मीमा आएका थिए । उनीहरुले एक हजारदेखि दुई हजारसम्ममा विभिन्न काम्ला, राडीपाखी र गलैँचा बेचे । दैनिक चारदेखि पाँच हजारसम्मको बिक्री भइरहेको अर्की खीमा छन्त्यालले जानकारी दिइन् । आफूहरु अरु कसैको भर पर्न नपरोस् भन्ने हेतुले फुर्सदको समयमा निर्माण गरिएका सामग्री बेच्न ल्याएको सोही समूहकी सर्मिला बुढाले बताइन् । ‘हामी आफैँले बनाएका सामग्री बिक्री मेलामा विभिन्न जिल्लामा पुग्छौँ’, उनले भनिन्, ‘ब्यापरसँगै सीपको संरक्षण र आफैँ आत्मनिर्भर बन्न सकेका छौँ ।’ जाडोयाममा निकै तातो हुने भेडाको ऊनबाट बनेका कपडा लोप हुँदै गएकोले आफू यसमा होमिएको सर्मिलाले बताइन् ।

भेडा आफैँले पालेर त्यसको ऊनबाट गरिएको यो अर्को आम्दानी हो । आफूले धेरै भेडा पालेर ऊन महिला किन्न आउँदा दिने गरेको रुकुम पूर्वकै रामकुमार बुढाले बताए । उनले दुई सयभन्दा बढी संख्यामा भेडा पालन गरेका छन् । बुढाले वर्षको दुई पटक असोज र चैतमा भेडाबाट ऊन निकाल्छन् । १० वटा भेडाबाट निकाएलिएको सबै ऊनले एउटा काम्लो बन्ने उनको भनाइ छ । कम्तीमा ५० देखि ६० को संख्यामा भेडाहरु ३५ जनाकै घरमा पालेको उनीहरुले बताए । रुकुम पूर्वबाट गाडी चढेर सामग्री बिक्रीका लागि गुल्मीको रिडी पुगेका थिए । उनीहरुका कारण रिडीमा लाग्ने माघी मेलालाई परम्परागत हस्तकलाबाट निर्मित सामग्रीको ब्यापर मेला पनि भन्ने गरिन्छ । रुरु क्षेत्र गाउँपालिकाका अध्यक्ष यदु ज्ञवालीले रिडीमा लाग्ने मेलामा परम्परागत सामाग्रीको किनबेचले थप रौनकता थप्ने गरेको बताए । टाढाटाढाबाट आएर हस्तकलाबाट निर्मित सामग्री बेच्ने व्यवसायीलाई सहजीकरण गरिरहेको उनको भनाइ छ । –रासस

प्रकाशित मिति: आइतबार, माघ १५, २०७९  ११:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update