Shittalpati
यम्घामा तीन दिने उद्घोषण तालिम

पाल्पा, जिल्लाको बगनासकाली गाउँपालिका –६ यम्घामा तीन दिने उद्घोषण तालिम सञ्चालन गरिएको छ । वडा कार्यालयको आर्थिक सहयोग र वडास्तरी दलित सञ्जालको आयोजनामा दलित समुदायका युवा, युवतीहरुका लागि उद्घोषण तालिम दिइएको हो । महिला तथा युवा युवतीहरुमा बोल्ने कला र क्षमताको विकास गराउने उद्देश्यले तीन दिने तालिम सञ्चालन गरिएको वडा दलित सञ्जालले जनाएको छ ।

माघ १२ गतेदेखि सञ्चालन भएको तालिम शनिबार सकिएको छ । तालिमको समापनसँगै दलित समुदायको उत्थानको लागि सम्बन्धित स्थानमा आवाजहरु उठाउन तालिमले सहज हुनेमा वडा अध्यक्ष लक्ष्मी प्रसाद अधिकारीले विश्वास व्यक्त गरे । उनले समुहमा रहेर नेतृत्व गर्न र गाउँ, टोल र वडामा हुने कार्यक्रमहरुमा निर्धक्कका साथ प्रस्तुत हुन पनि तालिमले महत्वपूर्ण टेवा पुग्ने बताए । दलित वर्गको उत्थानको लागि आय तथा सीप मुलक तालिम सञ्चालनसँगै शिक्षा क्षेत्रमा पनि सहयोग गर्दै आएको वडा अध्यक्ष अधिकारीले बताए । तालिमबाट महिलाहरूले मञ्चमा उभिएर माइक समात्न सक्ने भएको वडास्तरी दलित सञ्जालका संयोजक हुमबहादुर विकले बताए । उनले व्यक्तित्व विकाससँगै समाज रुपान्तरणमा तालिमले महत्वपूर्ण सहयोग गर्ने बताउँदै सिकेका कुराहरु व्यवहारमा उतार्न पनि आग्रह गरे । तालिम घरभित्र चुल्होचौकामा सीमित भएका महिलाहरूका लागि सुनौलो अवसर भएको वडा सदस्य रम्भा सुुनारले बताइन् । अर्का वडा सदस्य राजेन्द्र प्रसाद बस्यालले मानिसहरुको माझमा बोल्न डराउनेहरु अहिले तीन दिनको तालिमले खुलेर बोल्न सक्ने भएको बताए । उनले आगामी दिनमा पनि वडाले महिला, युवाहरुको क्षेत्रमा काम गर्दै जाने बताए ।

तालिममा सहभागी प्रशिक्षार्थी विमला सुनारले पनि वाककलासम्बन्धी धेरै कुरा सिक्न पाएकोमा सुखी व्यक्त गरिन् । उनले महिलाभित्र रहेको क्षमता पनि अभ्यास नहुँदा भित्रै लुकेर बसेको कुरा तालिम लिएपछि बुझेको बताइन् । तालिम लिएपछि आफूलाई मनमा लागेको कुरा समूहमा राख्न सक्ने भएको उनको भनाइ छ । अर्की प्रशिक्षार्थी सुुविना सुुनारले पाँच जनाको अगाडि उभिन पनि नसकेको मान्छेलाई तीन दिनको सिकाइले समूहमा बोल्न सक्ने बनाएको बताइन् । तालिममा कान्तिपुर दैनिकका उपसम्पादक माधव अर्याल, नवजनचेतना दैनिकका उपसम्पादक रामचन्द्र रायमाझी, राससका पाल्पा संवाददाता विष्णुु घिमिरे, थाहा खबरका पाल्पा संवाददाता मिलन विश्वकर्मा, डे केयर सेन्टरका व्यवस्थापक कृष्ण गहतराज लगायतले उद्घोषण के हो ?, उद्घोषण कसरी गर्ने ?, उद्घोषण गर्दा ध्यान दिनुपर्ने कुराहरु, असल उद्घोषकमा हुुनुपर्ने गुुणहरु, उद्घोषणको आवश्यकता, औचित्य, नेतृत्व क्षमता विकास कसरी गर्ने ? जस्ता विषयमा प्रशिक्षण दिएका थिए ।

प्रकाशित मिति: आइतबार, माघ १५, २०७९  ११:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update