Shittalpati
भारतमा सिकेको सीपले नेपालमै मनग्य आम्दानी

रासस
रेसुङ्गा, गुल्मीको रेसुा नगरपालिका–२ का कुँवर दम्पतीले शैलुन व्यवसायबाटै मनग्ये आम्दानी गर्दै आएका छन् । इन्द्रबहादुर र मोनिका कुँवरले जिल्लाको सदरमुकाम तम्घासको क्याम्पसरोडमा एउटै छानामुनी मोनिका हेयर कटिङ एण्ड जेन्स पार्लर र मोनिका ब्युटिपार्लर सञ्चालन गरेका छन् ।

आजभन्दा आठ वर्ष अगाडिबाट औपचारिक रुपमा दर्ता गरेर कुँवर दम्पतीले आ–आफ्नो सीप र दक्षता अनुसारको शैलुन व्यवसाय सुरु गरेका हुन् । भारतमा कमाएर ल्याएको ३५ हजार लगानीमा व्यवासय सुरु गरेको इन्द्रबहादुरले बताए । रोजगारीको सिलसिलामा भारत गएका कुँवर लामो समयसम्म भारतमै काम गरे । जागिर गरेर मात्र सन्तुष्ट नभएपछि कुँवरले भारतमै शैलुन सम्बन्धीका विभिन्न तालिम लिए । त्यसपछि आफूले कमाएको थोरै रकमले भएपनि आफै व्यवसाय सुरु गर्ने भन्दै जन्मथलोमा फर्किए । यसमा इन्द्रबहादुर मात्र होइन श्रीमती मोनिका पनि निरन्तरको सारथी बनिन् । दुवैको सहमतिमा शैलुन व्यवसाय खोले ।

उमरेले ४७ वर्ष पुगेका इन्द्रबहादुर आफूले सञ्चालन गरेको शैलुन व्यवसायबाट निकै सन्तुष्ट छन् । सुरुमा सानोबाट लगानी गरेर अहिले उनले व्यवसायलाई बढाउँदै लैजानुका साथै आम्दानीलाई विभिन्न ठाउँमा लगानी गरेका छन् । आर्थिक अभावका कारण अध्ययनमा केही समस्या भएका कारण भारत छिरेका इन्द्रबहादुरले अहिले आफ्नो सीपका कारण कुनै पछुतो मान्नु परेको छैन । ‘पढाइ, पैसा र कुनै सीप नहुँदा मलाई धेरै चिन्ता लाग्ने गर्दथ्यो’ कपाल काट्दै इन्द्रबहादुरले भने, ‘भारतमा सिकेको सीपले आत्मनिर्भर मात्र नभई स्वाभिमानी समेत बनायो ।’ उनले कुनै न कुनै सीप हरेक व्यक्तिमा हुनुपर्ने र जसका कारण सजिलै आत्मनिर्भर बन्न सकिने बताए । आफूलाई सानैदेखि गाउँमा कपाल काट्नेमा निकै रुचि लाग्ने गरेको उनी सम्झन्छ । आफ्नो रुचिलाई सीपमा बदल्दै आत्मनिर्भर गरेर मनग्ये आम्दानी गरिरहेका इन्द्रबहादुर रोजगारभन्दा व्यवसायले सन्तुष्ट मिल्ने गरेको बताउँछन् । सामान्य जीविकोपार्जनको लागि पनि परिवारबाट टाढा गएर काम गर्नुपर्ने बाध्यता भएको समयमा आफूले सिकेको सीपका कारण जन्मथलोमै बसेर आम्दानी गरिरहेको उनले सुनाए । इन्द्रसँगै श्रीमती मोनिकाले सोही ठाउँमै मोनिका ब्युटिपार्लर चलाएकी छन् । दुवैतर्फ सबै चाँजोपाँजो मिलाउने मोनिका पनि सीपले भरिपूर्ण छन् । दुवै जनाको मेहनत र निरन्तर कर्मका कारण अहिलेसँगै बसेर व्यवसाय सञ्चालन गरी मनग्ये आम्दानी गर्दा मोनिका पनि सन्तुष्ट छन् । महिलाले नेतृत्व गरेर आफै खटिएर व्यवसाय सञ्चालन गर्दा सफल हुने भन्दै उनले महिला र पुरुष बराबर भएकाले दुवैले बराबर मेहनत गर्नुपर्ने बताइन् । ३५ हजारबाट सुरु गरेको शैलुन व्यवसाय अहिले ३५ लाखभन्दा माथि पुगेको सञ्चालक इन्द्रबहादुरले बताए । पुरुष र महिला पार्लर दुवैमा गरेर मासिक एक लाख २० हजार बचत हुने गरेको उनीहरुको भनाइ छ ।

‘दुवैतर्फ गरेर औसतमा ६०/६० हजार बचत गर्न सकिएको छ’, उनी भन्छन्, ‘आत्मसन्तुष्टिको कुरामा केही कमी छैन, सीपले अवसर पाएको ठानेको छु ।’ सो शैलुनमा सेवा लिने जो कोही पनि सन्तुष्ट भएर फर्किने गरेका छन् । कुँवर दम्पतीले शैलुन व्यवसायबाट पाँच जनालाई रोजगारी दिएका छन् । इन्द्रबहादुर स्थानीय पालिकाले दिने शैलुनका तालिममा पनि मुख्य प्रशिक्षक भएर पुगेका छन् । अहिलेसम्म एक सय ५० जनालाई सीप सिकाएको उनले बताए । इन्द्रबहादुर कुँवर नेपाल नाई संघ गुल्मीका उपाध्यक्ष समेत हुन् । शैलुन व्यवसाय गर्नेहरु संस्थागत रुपमा एकतावद्ध भएर अगाडि बढ्नुपर्नेमा पनि उनको जोड छ ।

प्रकाशित मिति: शनिबार, माघ १४, २०७९  ११:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update