Shittalpati
बाल संरक्षणको कानुनमा प्रहरीको भूमिका सम्बन्धी अभिमुखिकरण

पाल्पा, बाल संरक्षण सम्बन्धी कानुनी व्यवस्थामा प्रहरीको भूमिका विषयक अभिमुखिकरण कार्यक्रम तानसेनमा भएको छ । महिला कानुन र विकास मञ्च (एफडब्ल्यूएलडी) काठमाडौंको आयोजना र युनिसेफको सहयोगमा एक दिने अभिमुखीकरण कार्यक्रम भएको हो ।

नेपालको संविधानले बाल संरक्षणको व्यवस्था गरे पनि त्यसको उचित कार्यान्वय हुन नसकेको अवस्थामा त्यसलाई प्रभावकारी कार्यान्वयन गराउने उद्देश्यले एफडब्ल्यूएलडीले सम्बन्धित निकायसँग विभिन्न जिल्लाहरुमा अभिमुखीकरण कार्यक्रम गर्दै आएको छ । कञ्चनपुर, कैलाली र रुपन्देहीमा कार्यक्रम गरिसकेको एफडब्ल्यूएलडीले शुक्रबार पाल्पाको तानसेनमा गरेको हो । बाल संरक्षण सम्बन्धी कानुनी व्यवस्थामा प्रहरीको भूमिका महत्वपूर्ण हुने भएकाले पाल्पाका प्रहरी जवान, अधिकृतहरुलाई अभिमुखीकरण गरिएको महिला कानुन र विकास मञ्चका कानुन अधिकृत विनोद चन्द्र देवकोटाले बताए । कार्यक्रममा बालबालिका विरुद्ध हुने हिंसा सम्बन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुनी व्यवस्था, बालबालिका विरुद्ध हुने हिंसामा अनुसन्धान र यस क्रममा प्रहरीले ध्यान दिनुपर्ने पक्षहरु, बालबालिका विरुद्ध हुने हिंसामा अनुसन्धानको क्रममा पीडितको अधिकारहरु लगायतका विषयमा प्रशिक्षण दिइएको थियो ।

कार्यक्रमको शुभारम्भ गर्दै जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी उपरीक्षक जनकबहादुर शाहीले एफडब्ल्यूएलडी र युनिसेफले आयोजना गरेको कार्यक्रम अत्यन्त महत्वपूर्ण र आवश्यक रहेको बताए । उनले प्रहरीले १५ दिनमा लिने कार्यक्रमलाई संक्षिप्तमा एक दिनमै आयोजना गरिएकाले ध्यानपूर्व सुन्न र आफुलाई लागेका जिज्ञासाहरु निर्धक्क भएर राख्न प्रहरीहरुलाई आग्रह गरेका थिए । महिला कानुन र विकास मञ्चका कार्यकारी निर्देशक तथा अधिवक्ता सविन श्रेष्ठले बालबालिका विरुद्ध हुने हिंसामा अनुसन्धानको क्रममा पिडितको अधिकारहरुका विषयमा प्रहरीलाई जानकारी गराए । उनले अनुसन्धानलाई प्रभावकारी बनाई पिडितलाई न्याय दिने काममा सशक्त भएर लाग्न प्रहरीलाई आग्रह गरे ।

अधिवक्ता दीपेश श्रेष्ठले बालबालिका विरुद्ध हुने हिंसा सम्बन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुनी व्यवस्थाका विषयमा जानकारी गराएका थिए । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले बालबालिका विरुद्ध हुने हिंसामा अनुसन्धान र यस क्रममा प्रहरीले ध्यान दिनुपर्ने कुराहरुका विषयमा प्रशिक्षण दिएका थिए । कार्यक्रममा सहभागी प्रहरीहरुले प्रशिक्षणबाट सिकेका कुराहरुलाई संविधानको उचित प्रयोग गरी कार्यान्वयन गरिने बताए । एफडब्ल्यूएलडी र युनिसेफले बालबालिका तथा महिलाहरुको अधिकारका विषयमा छलफल, बहस, प्रशिक्षणसँगै सम्बन्धित निकायलाई अधिकार कार्यान्वयनमा खबरदारी समेत गर्दै आएका छन् ।

प्रकाशित मिति: शनिबार, माघ १४, २०७९  ११:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update