Shittalpati
धवल पुरस्कार पन्थी र गैरेलाई प्रदान गरिने

पाल्पा, धवल पुस्तकालय पाल्पाद्वारा स्थापित ‘धवल पुरस्कार’ गुल्मीका वरिष्ठ साहित्यकार तथा पुस्तकालय अभियन्ता शशी पन्थी र ‘धवल सिर्जना पुरस्कार’ कृष्ण’ कृतिका लेखक डा. शंकरप्रसाद गैरेलाई प्रदान गरिने भएको छ । धवल पुस्तकालय सञ्चालक समितिको बिहीबार बसेको बैठकले धवल पुरस्कार सिफारिश समितिको निर्णयलाई अनुमोदन गरी धवल पुरस्कार २०७८ वरिष्ठ साहित्यकार पन्थी र धवल सिर्जना पुरस्कार २०७८ गैरेलाई प्रदान गर्ने निर्णय गरेको हो ।

नेपाली वाङ्मयका क्षेत्रमा अक्षुण्ण योगदान पुर्‍याएका पन्थीलाई धवल पुरस्कारबाट सम्मान गरिने भएको पुस्तकालयले जनाएको छ । गुल्मीको तम्घास कै धागीथुममा जन्मेका पन्थी भाषा, साहित्य, संस्कृतिका क्षेत्रमा साधनारत र प्राज्ञिक ब्यक्ति समेत हुन् । रेसुङ्गा बहुमुखी क्याम्पसका पूूर्व क्याम्पस प्रमुख समेत रहेका पन्थी लामो समयदेखि साहित्यको क्षेत्रमा निरन्तर कलम चलाउँदै आएका छन् । उनले १७ बर्षको उमेरमै तम्घासमा पहिलो पटक किरण पुस्ताकालय स्थापना गरी राष्ट्रिय, अन्तर्राष्ट्रिय स्तरमा पहिचान बनाउन सफल भएका छन् । पन्थीले उक्त पुस्ताकालयमार्फत हाम्रो पुरुषार्थ नामक पाक्षिक पत्रिका चलाउँदै आएका छन् ।

यस्तै बगनासकाली गाउँपालिका–७ का गैरेलाई धवल सिर्जना पुरस्कारबाट पुरस्कृत गरिने छ । २०७८ सालमा प्रकाशित कृतिमध्येबाट उत्कृष्ट कृतिका रूपमा गैरेको ‘कृष्ण’ उपन्यास छनोटमा परेको हो । गैरे मौलिक सिर्जनाधर्मी, भाषा र साहित्यका शोधकर्ता समेत हुन् । दुबै पुरस्कारको राशी नगद २५ हजार र प्रमाणपत्र रहेको छ ।

पुरस्कार आगामी फागुन ७ गते प्रजातन्त्र दिवसका दिन अर्पण गरिने धवल पुस्तकालयका महासचिव राजेशकुमार अर्यालले बताए । तानसेन २ मेहल्धारामा अवस्थित धवल पुस्तकालय पाल्पाले राष्ट्रिय प्रतिभाप्रति सम्मान र प्रतिभाहरूमा उत्प्रेरणा जगाउने उद्देश्यले धवल पुरस्कारको स्थापना गरी हरेक वर्ष पुुरस्कृत गर्दै आएको छ । यस्तै पुस्तकालयले राष्ट्र र राष्ट्रियताप्रतिको भाव, जीवनप्रतिको चेतना, पाठकहरूको आकर्षण, विधागत सुझ भएको मौलिक कृतिको मूल्यांकन गरी धवल सिर्जना पुरस्कार प्रदान गर्ने गरेको छ । वि.सं १९८३ सालमा स्थापना भएको धवल पुस्तकालय नेपालकै पहिलो सार्वजनिक पुस्तकालय हो ।

प्रकाशित मिति: शुक्रबार, माघ १३, २०७९  ११:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update