Shittalpati
सहिद सप्ताह सुरु :  पहिलो दिन शास्त्रीको सम्झना गरियो

पाल्पा, मुलुक र जनताको हकअधिकारका लागि आफ्नो प्राण आहुति दिने सहिदको सम्झनामा सरकारले प्रत्येक वर्ष झैँ यस वर्ष पनि मंगलबारदेखि सहिद सप्ताह मनाउन सुरु गरेको छ । माघ १० देखि १६ गतेसम्म मनाइने सहिद सप्ताहका लागि मूल समारोह समितिले विभिन्न कार्यक्रमको आयोजना गरेको छ । विसं २०१२ देखि नै काठमाडौँ महानगरपालिकाको संयोजकत्वमा प्रत्येक वर्ष सहिदको सम्झनामा विभिन्न कार्यक्रम गरिँदै आएको छ । यस वर्ष पनि महानगरपालिकाले चार सहिदलाई मृत्युदण्ड दिइएको स्थानमा गएर श्रद्धाञ्जलि कार्यक्रम सुरु गरेको छ । मंगलबार सहिद शुक्रराज शास्त्रीलाई मृत्युदण्ड दिइएको स्थान पचलीमा श्रद्धाञ्जलि कार्यक्रम गरी सहिदप्रति सम्मान गरिएको छ । सहिद शास्त्रीलाई विसं १९९७ मा पचलीमा मृत्युदण्ड दिइएको थियो । त्यसैको सम्मान स्वरुप शास्त्रीलाई सम्झना गरिएको छ ।

विसं १९५० मा बनासरमा जन्मिएका शास्त्रीले भारतकै देहरादुनबाट प्रारम्भिक शिक्षा लिएका थिए । धार्मिक गतिविधिबाट जहानियाँ शासनविरुद्ध जागरण अभियान सञ्चालन गर्ने क्रममा १९९४ मङ्सिर १३ गते इन्द्रचोकमा मानिसलाई भेला गराएर तात्कालिन सरकारको आलोचना गरेको आरोप लगाएर उनलाई पक्राउ गरिएको थियो । यसैगरी धर्मभक्त माथेमालाई माघ १३ गते र गंगालाल श्रेष्ठ तथा दशरथ चन्दलाई माघ १५ गते प्राणदण्ड दिइएको थियो । निरकुुंश व्यवस्थाविरुद्ध तत्कालीन कठिन परिस्थितिमा ज्यानको आहुति दिने सहिद महान् भएको र सहिदका परिवारलाई राज्यले उचित सम्मान दिनुपर्ने अवाज पछिल्लो समय उठेको छ । राणाशासनको विरोध गर्दै जनतालाई प्रजातन्त्रका पक्षमा एकजुट एवम् शिक्षित गरेको आरोपमा विसं १९९७ मा उनीहरूलाई मृत्युदण्ड दिएको थियो । त्यस्तै, माघ १६ गते सहिद दिवसका दिन विभिन्न कार्यक्रमको आयोजना गरी मुलुक र जनताका लागि भएका विभिन्न अधिकारका आन्दोलनमा आफूलाई समर्पित गर्ने सम्पूर्ण सहिदको सम्झना गरिन्छ । उनीहरुको पूर्णकदको शालिक उनीहरुले साहादत प्राप्त गरेकै स्थानमा निर्माण गरिएको छ । विसं २०७५ मा शुक्रराज शास्त्रीको शालिक स्थापना गरिएकोमा धर्मभक्त माथेमा, गंगालाल श्रेष्ठ र दशरथ चन्दको शालिक २०७६ मा स्थापना गरिएको थियो ।

प्रकाशित मिति: मंगलबार, माघ १०, २०७९  १६:००
प्रतिक्रिया दिनुहोस्
Weather Update