Shittalpati
गाउँमै संकलन केन्द्र भएपछि खुर्सानी कृषक उत्साहित

कृष्ण पोखरेल
तानसेन, जिल्लाको रिब्दीकोट गाउँपालिकाका खुर्सानी कृषक गाउँमै संकलन केन्द्र सञ्चालनमा आएपछि उत्साहित भएका छन् । उत्पादन गरेको अकबरे खर्सानी विक्री नहुँदा बारीमा कुहाउनु परेको अवस्थामा चिन्तित बनेका यहाँका कृषक गाउँमै संकलन केन्द्र सञ्चालनमा आए पछि भने उत्साहित भएका हुन् । गत वर्ष २ सय ८० रुपैयाँ किलोमा बिक्री भएको अकबरे खुर्सानी अहिले बिक्री नभई बारीमै कुहिन थालेपछी यहाँका कृषकहरु चिन्तित बनेका थिए । अहिले गाउँमै सञ्चालन भएको अकबरे खुर्सानी संकलन तथा प्रशोधन उद्योगमा बारीमा कुहिन थालेको खुर्सानी बिक्री गर्न पाएपछी कृषकहरु खुसी भएका हुन् ।

गाउँकै संकलन केन्द्रमा कृषकहरुले प्रति किलो १ सय रुपैयाँमा अहिले अकबरे खुर्सानी विक्रि गरिरहेका छन् । उत्पादन भएको खुर्सानी गाउँघरमै १ सय रुपैयाँमा बिक्री गर्न पाउँदा आफुहरुलाई ठूलो राहत मिलेको रिव्दीकोट २ देउरालीका कृषक दिपक पाण्डेले बताए । उनले भने ‘दुई चार किलो खुर्सानी लिएर बजार जान पनि सकिएन, घरमा आएर कसैले किन्ने अवस्था भएन । बारीमा अन्य कृषि उत्पादन लगायो जंगली जनावर बादर, दुम्सी, मृग, बदेलले सिध्याइदिन्छन्, नखाने यही खुर्सानी हो, तर उत्पादन भएको खुर्सानी समेत बिक्री नहुँदा हामी चिन्तित बनेका थियो, अहिले गाउँमै संकलन केन्द्र सञ्चालन भएपछी उत्साहित छौं ।’ बजारमा प्रति किलो ८० रुपैयाँमा बिक्री हँुदै आएको अकबरे खुर्सानी रिब्दीकोट संकलन केन्द्रले कृषकहरुबाट प्रति केजी १ सय रुपैयाँमा खरिद गरेको छ । पहिलो दिन संकलन केन्द्रमा रिब्दीकोट ७ पालुङमैनादीका कृषकहरुले करीव १ सय ५० किलो अकबरे खुर्सानी बिक्री गरेका छन् । गाउँपालिकालाई कृषि उत्पादन मार्फत परिचित गराउने अभियान पालिकाको ८ वटै वडामा अकबरे खुर्सानी अभियान चलाएका निवर्तमान पालिका अध्यक्ष नारायण बहादुर जि.सी. स्थानीय निर्वाचनमा पराजित भएसंगै संकलन केन्द्र सञ्चालन गरी कृषकहरुसँग जोडिएका छन् ।

कृषकहरुको उत्साह र मिहेनतलाई उर्जाशिल बनाई राख्न निवर्तमान पालिका अध्यक्ष जि.सी, अकबरे खुर्सानीका अभियान्ता जनक आचार्य, कृषक दिपक पाण्डे लगायतका कृषक तथा पूर्व जनप्रतिनिधी मिलेर अकबरे खुर्सानी संकलन केन्द्र सञ्चालन गरेका हुन । ‘स्थानीय निर्वाचनमा पराजित भईयो, पराजित भएपनि जनतासँगको सम्बन्ध समधुर राख्नुपर्छ, विगतमा पालिकाले चलाएको अभियानलाई सफल बनाउनुपर्छ, कृषकहरुको हौसल्ला बढाउनु पर्छ, अन्य खेती जंगली जनावरको कारण हँुदैन, बारीमा लगाएको खुर्सानी समेत विक्रि नभएर कुहिने अवस्था सिर्जना नहोस् भनेर नै अकबरे खुर्सानी संकलन तथा प्रशोधन उद्योग सञ्चालनमा ल्याएका हौं’ जिसीले भने । बुटवल, पोखरा, काठमाडौं जस्ता शहरमा चाउ चाउ, मसला उद्योगमा सम्पर्क गरी संकलित खुर्सानी बिक्री गर्ने व्यबस्थापन मिलाईएको व्यवस्थापक जिसीले बताए । उनले भने,‘आउँदा दिनमा खुर्सानीलाई विविधिकरण गर्दै, सुकाउने, अचार तथा पाउडर बनाउने काम गर्ने छौ ।’ अहिले कृषकहरुबाट खरिद गरेको खुर्सानी नविग्रीयोस् भनी कोल्ड रुपमा राखिएको व्यवस्थापक जिसीले बताए ।

गत आर्थिक वर्षमा गाउँपालिकाले रिब्दीकोटलाई अकबरे खुर्सानीमय बनाउने अभियानका साथ ५ सय कृषकहरुलाई ६० प्रतिशत अनुदानमा खुर्सानीको विउ र मल्चिङ प्लाष्टिक दिएको र विषादीहरु निःशुल्क प्रदान गर्नुको साथै कृषकहरुलाई चाहिने प्राविधिक सहयोग पनि पालिकाबाट निःशुल्क रुपमा प्रदान गर्दै आएको पालिका कृषि शाखा प्रमुख रंजित कुवँरले बताए । गाउँपालिका भरी ५ सय कृषकहरुले ७ सय रोपनी क्षेत्रफलमा अकबरे खुर्सानी लगाएको, ७ लाख किलो खुर्सानी उत्पादन हुने लक्ष्य राखिएको कृषि प्रमुख कुवँरले बताए । गत वर्षभन्दा मूल्य कम भए पनि १ सय रुपैयाँमा अकबरे खुर्सानी विक्रि गर्दा कृषकलाई फाइदै रहेको उनले बताए । गत वर्ष सम्म उत्पादन अघि नै विभिन्न पिरो चाउचाउ उत्पादक कम्पनीले खुर्सानीको मूल्य २ सय ८० रुपैयाँ तोकि खरिद गरेका थिए । यस वर्ष भने अकबरे खुर्सानीको उत्पादन बढी भएपछी अकबरे बजार भाउ १ सय ४० प्रतिशतले घटेको छ । जताततै बजार मूल्य आकासिएको समयमा कृषकबाट उत्पादित अकबरे खुर्सानीको मूल्य भने दोब्वरले घटेको छ । सरकारले कृषिजन्य उत्पादनको प्रदेश अनुसारको अग्रीम समर्थन मूल्य कायम गर्नुपर्ने कृषकहरुको माग रहेको छ । यहाँका ८ वटै वडासंगै जिल्लाको बगनासकाली, माथागढी, तिनाउ, रैनादेवी छहरा र तानसेन नगरपालिकामा अकबरे खुर्सानी उत्पादन हुँदै आएको छ ।

प्रकाशित मिति: बिहीबार, साउन १९, २०७९  ११:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update