Shittalpati
तानसेनमा पशुपालन र सहकारीको अनुगमन

पाल्पा, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पाल्पाले आ.व.२०७८/०७९ मा सञ्चालन गरेका कार्यक्रमहरुको अनुगमन गरेको छ । केन्द्रले तानसेन नगरपालिकामा सञ्चालन भएका बाख्रा, गाई फर्म र दुग्ध सहकारीहरुको सरोकारवाला निकाय, पत्रकारहरुको उपस्थितीमा अनुगमन गरेको हो ।

उसले तानसेन नगरपालिका –१२ बौघागुम्भामा रहेको लुम्बिनी एग्रो बोयर बाख्रा फार्म, चिनारी बहुउद्देश्य एग्रीकल्चर फर्म र चिनारी दुग्ध उत्पादक सहकारीको अनुगमन गरेको छ । अनुगमनका क्रममा विदेशबाट फर्किएका युवाहरु व्यवसायिक पशुपालनमा लागेको पाइएको छ । लुम्बिनी एग्रो बोयर बाख्रा फार्म सञ्चालन गरेका मिनबहादुर आले चार वर्ष दुवई र साउदी बसेर गाउँ फर्किएका हुन् । एक करोड ५० लाख भन्दा धेरै खर्च गरेर नश्ल सुधार र आधुनिक खोर निर्माण गरी उनले व्यवसायिक बाख्रा पालन गरेका छन् । उनलाई प्रदेश सरकारको कार्यक्रम अन्तर्गत भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पाल्पाले चार लाख अनुदान समेत दिएको थियो । उक्त अनुदानबाट हौसिएका आलेले अहिले व्यवसायिक रुपमा ठूलै फर्म सञ्चालन गरेका छन् । घाँस उत्पादन, बाख्राको स्याहार र सम्हारका लागि तयार गरिएका विभिन्न नयाँ तरिका हेर्न र अवलोकन गर्न यहाँ बाहिरबाट समेत आउने गर्दछन् । उनको खोरमा अहिले ६५ वटा बोयर र लोकल जातका बाख्रा छन् । उनी भन्छन्, ‘मैले अनुदान लिनका लागि भन्दा पनि, केही नयाँ कामबाट अरु युवाहरुमा उर्जा थपियोस् भन्ने सोंचले यो व्यवसाय शुरु गरेको हुँ, शुरुमा यो बहुलाएछ भन्नेहरु धेरै थिए, अहिले सबैले राम्रो गर्ने भयो भन्न थालेका छन् ।’ चिनारी बहुउद्देश्य एग्रीकल्चर फर्ममा पनि युवाहरुले व्यवसायिक गाई पालन गरेका छन् । यहाँ पनि आधुनिक प्रविधिको प्रयोग गरी व्यवसायिक रुपमा गाई पालन गरिएको छ । फर्ममा ३१ वटा विभिन्न जातका दुना गाईहरु रहेका छन् । यहाँबाट उत्पादन भएको दुध चिनारी दुग्ध उत्पादक सहकारीमा लैजाने गरिएको छ । यस्तै चिनारी दुग्ध उत्पादक सहकारीको पनि अनुगमन गरिएको छ । अनुगमनका क्रममा विदेशबाट फर्किएका युवाहरुले स्थानीयस्तरमा उत्पादन गरेको दुधको बजारिकरण गर्न चिनारी दुग्ध उत्पादक सहकारीका स्थापना गरेको पाइएको छ ।

विदेशबाट फर्किएका १० जना युवाहरुको प्रत्यक्ष संलग्नतामा २०७२ मा सहकारी खोलिएको थियो । २२ लिटर दूध संकलनबाट सुरुवात गरेको सहकारीले अहिले दैनिक ८ सय ५० लिटर दुध खपत गर्दै आएको छ । उक्त सहकारीलाई पशु सेवा विज्ञ केन्द्र पाल्पाले अनुदान उपलब्ध गराएको थियो । अहिले यहाँबाट दुध, दही, घिउ, छुर्पी समेत उत्पादन हुँदै आएको सहकारीका अध्यक्ष टीकाराम रेग्मीले बताए । सहकारीले आधुनिक प्रविधिको प्रयोग गरी डेरी समेत सञ्चालनमा ल्याएको छ । यहाँ उत्पादन भएको छुर्पी पोखरा निर्यात हुने गरेको सहकारीका अध्यक्ष रेग्मीले बताए ।

संघीय सशर्त अनुदान अन्तर्गत ब्लक कार्यक्रममार्फत तानसेनका विभिन्न ठाउँहरुमा व्यवसायिक पशुपालन हुँदै आएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका वरिष्ठ पशु विकास अधिकृत डा.चन्द्र रानाले बताए । उनका अनुसार विभिन्न अनुदानका कार्यक्रममार्फत व्यवसायिक बाख्रापालन, गाई पालन र दुग्ध उत्पादन सहकारीहरु सञ्चालनमा रहेको बताए । अनुगमनमा पुगेका जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टंकनाथ खनाल, उपप्रमुख कासिका गैरे, जिल्ला समन्वय अधिकारी धुर्व्र अधिकारी, वडा अध्यक्ष मेजरसिं केसी, पत्रकार महासंघ पाल्पाका अध्यक्ष रिखीराम राना, केन्द्रका युवरा ज्ञवाली लगायतले विदेशबाट फर्किएका युवाहरुले गाउँमै व्यवसायिक रुपमा पशुपालनमा लागेको प्रति खुसी व्यक्त गर्दै आगामी दिनमा व्यवसायीलाई थप व्यवस्थित र विस्तार गर्न सुझाव दिए । उनीहरुले अन्य युवाहरुलाई पनि आर्थिक उपार्जनसँग जोड्ने गरी काम गर्न व्यवसायमा लागेका युवाहरुलाई आग्रह गरे ।

प्रकाशित मिति: शुक्रबार, असार ३१, २०७९  ११:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update