Shittalpati
पाल्पा  रामपुरका  किसानलाई बीउ वितरण

रामपुर(पाल्पा),उत्पादन बढाउन पाल्पा रामपुरका किसानलाई उन्नत जातको धानको बीउ वितरण गरिएको छ । चालु आर्थिक वर्षमा संघीय सरकारको सशर्त अनुदानबमोजिम उन्नत जातमा अनुदान दिने कार्यक्रमअनुसार किसानको मागका आधारमा सावित्री र साँवा मन्सुली जातको बीउ वितरण गरिएको हो ।

नगरभित्र २० टन सावित्री, साढे चार टन साँवा मन्सुली, बहुगुडी २ र केही सुनौलो सुगन्ध गरी करिब २६ टन धानको बीउ वितरण गरिएको कृषि शाखा प्रमुख रामहरि पाण्डेयले जानकारी दिए । सो बीउले यहाँका करिब आठ हजार ५ सय रोपनी क्षेत्रफलमा पुग्ने उनले बताए । सरकारले तोकेको मूल्यका आधारमा ५० प्रतिशत अनुदानमा प्रतिकिलो ७८ पर्ने सावित्री र साँवा मन्सुली धानलाई ३९, बहुगुडी २ जातको ४१ र सुनौलो सुगन्ध जातको ५२ मा घर संसार वितरक फार्मबाट वितरणका लागि अनुमति दिई कृषि सहकारी, समूह र कृषकलाई उपलब्ध गराएको कृषि प्राविधिक प्रज्वल केसीले बताए ।

रामपुर–६ को सातबिसे सेरामा करिब २ सय रोपनी क्षेत्रफलमा धान बालीमा कृषि ज्ञानकेन्द्र पाल्पामार्फत बीजवृद्धि कार्यक्रम सञ्चालन गरिएको छ । गत वर्ष वितरण गरिएको उन्नत जातको बीउ यस वर्ष किसानले प्रयोग गरेको पाइएको छ । अनुदानमा उन्नत जातको धानको बीउ पाउँदा किसान खुसी छन् । एग्रोभेटमा प्रतिकिलो १०० भन्दा बढी मूल्यमा बिक्री भइरहेको धान नगरपालिकाले ५० प्रतिशत अनुदानमा उपलब्ध गराएपछि किसानलाई आर्थिक भार कम परेको तुलसी रेग्मीले बताए । गत वर्ष करिब २० टन धानको बीउ वितरण गरिएको थियो । धान उत्पादनको पकेट क्षेत्र मानिएको रामपुरमा करिब एक हजार ८ सय हेक्टर क्षेत्रफलमा धानखेती हुने गरेको छ । उन्नत जातको बीउ पाउन थालेपछि पानी कम हुने सुक्खा क्षेत्रमा पनि किसानले खेती गर्न थालेका छन् ।–रासस

 

प्रकाशित मिति: सोमबार, जेठ ३०, २०७९  १८:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update