Shittalpati
सरकारको नीति तथा कार्यक्रम : कृषि र पर्यटनलाई आर्थिक वृद्धिको बलियो आधार बनाउनेदेखि रोजगारी सिर्जना गर्ने

पाल्पा, राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेकी छन् । मंगलबार संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा सरकारका तर्फबाट राष्ट्रपति भण्डारीले आगामी आर्थिक वर्ष २०७९/०८० का लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेकी हुन् ।

सरकारले कृषि र पर्यटनलाई आर्थिक वृद्धिको बलियो आधार बनाउनेदेखि रोजगारी सिर्जना गर्ने नीति लिएको छ । राष्ट्रपति भण्डारीले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै कृषिलाई आर्थिक वृद्धिको बलियो आधारको रुपमा विकास गर्ने नीति अवलम्बन गरिने बताएकी छन् । उनले खाद्य वस्तुको उत्पादन बढाउने र लागत मूल्य घटाउने गरी कार्यक्रम ल्याउने बताइन् । त्यस्तै, सरकारले बिउबिजनमा आत्मनिर्भर हुने र जलवायु परिवर्तनका असरलाई धान्न सक्ने बालीको अनुसन्धानमा लगानी गर्ने, अर्गानिक खेतीमा लगानी प्रवद्र्धन गर्ने, बाँझो जग्गा सदुपयोग गरी मूल्य श्रृंखलामा आधारित सामूहिक र सहकारी खेती प्रणालीलाई प्रोत्साहित गर्ने नीति लिएको छ ।

त्यस्तै सरकारले पर्यटनमार्फत रोजगारी सिर्जना गर्ने योजना बनाएको छ । राष्ट्रपति भण्डारीले पर्यटनमार्फत रोजगारी वृद्धि, विदेशी मुद्रा आर्जन र स्थानीय उत्पादनमा जोड दिइने बताइन् । स्वदेशी तथा विदेशी लगानीमा पर्यटन प्रवद्र्धन गरिने उनको भनाइ छ । विमानस्थल थप बनाउने नीति तथा कार्यक्रममा उल्लेख छ । लुम्बिनी र पशुपतीलाई धार्मिक स्थलको विकास गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ । बृहत धार्मिक एकीकृत कार्यक्रम बनाएर पर्यटक भित्राउने सरकारको योजना छ । त्यस्तै प्रधानमन्त्री रोजगार कार्यक्रमलाई रोजगारी, सीप विकास र उद्यमशीलतासँग सम्बन्धित कार्यक्रमहरूको प्रभावकारिता अध्ययन गरी एकीकृत रूपमा कार्यान्वयन गरिने सरकारको आर्थिक वर्षको नीति तथा कार्यक्रममा उल्लेख छ । सरकारले पूर्वपश्चिम राजमार्गलाई आगामी पाँच वर्षभित्र चार लेनको बनाउने भएको छ । यसका लागि बुटवलदेखि नारायणगढसम्म, कमलादेखि कञ्चनपुरसम्म, काँकडभिट्टादेखि पथलैयासम्म, पथलैयादेखि कमला तथा पथलैया नारायणी खण्डलाई स्तरोन्नति गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

यस्तै सामाजिक सञ्जालहरूलाई कानुन र करको दायरामा ल्याइने भएको छ । सरकारले सवारी चालक अनुमतिपत्र सम्बन्धित प्रदेशबाटै वितरण गर्ने व्यवस्था मिलाउने भएको छ । हाल विभिन्न प्रदेशबाट सवारी चालक अनुमतिपत्रका लागि आवेदन दिएपनि काठमाडौंमा मात्रै डिजिटल लाइसेन्स प्रिन्ट हुँदै आएको छ । सरकारले फोहोर व्यवस्थापनको लागि स्थानीय तहलाई आवश्यक प्राविधिक सहयोग गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ । सरकारले आगामी आर्थिक वर्षमा एक सय स्थानीय तहलाई सरसफाई सम्बन्धी गुरुयोजना ल्याउन सहयोग गर्ने छ । विभिन्न १२ शहरमा एकीकृत खानेपानी आयोजना र फोहोर पानी व्यवस्थपनकोे विस्तृत अध्ययन गरिने पनि नीति तथा कार्यक्रममा उल्लेख छ । यस्तै सरकारले दिवा खाजा कार्यक्रम कक्षा ८ सम्म विस्तार गर्ने भएको छ । उच्च शिक्षामा विद्यार्थी भर्ना वृद्धि गर्न प्रोत्साहनमुलक क्रिायाकलाप गरिने सरकारको योजना छ । विदेशी विद्यार्थीलाई नेपालका विश्वविद्यालयमा आकर्षित गर्ने नीति अवलम्बन गर्ने सरकारको योजना छ । नीति तथा कार्यक्रमअनुसार नै सरकारले जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट वक्तव्य प्रस्तुत गर्ने छ ।

प्रकाशित मिति: मंगलबार, जेठ १०, २०७९  १८:११
प्रतिक्रिया दिनुहोस्
Weather Update