Shittalpati
सुत्केरी खर्चले थप्यो पशुपालनमा उर्जा

सुशील रेग्मी (रासस)
रामपुर (पाल्पा), नागिनी एग्रो एण्ड रिसर्च सेन्टर प्रालिका सञ्चालक नरनारायण अर्यालले ३६ वटा भैँसी सुत्केरी भएवापत ३६ हजार रकम बुझे । सो रकम पशु सुत्केरी पोषण खर्चका निम्ति अर्याललाई उपलब्ध गराइएको हो । सीताकुण्ड दूग्ध उत्पादक सहकारी संस्था रामपुर पाल्पा मार्फत उपलब्ध सो रकम सुत्केरी पशुको आहार तथा पोषणमा खर्च गर्ने उनी बताउँछन् । ‘पशुको स्वास्थ्यलाई मध्यनजर राख्दै सुत्केरी पोषण खर्च उपलब्ध गराउन थालिएको छ, यो कार्यक्रम कृषकका निम्ति असाध्यै राम्रो छ, यस्ता कार्यक्रमले साना ठूला सबै वर्गका कृषकलाई समेटेको छ, सो रकम पशुको पौष्टिक आहारका निम्ति खर्चने छु’, उनले भने । अर्यालको फार्ममा हाल ७० वटा उन्नत जातका भैँसी छन् । बीमित पशुको सुत्केरी भएवापत उनले यस आर्थिक वर्षको साउनदेखि फागुन मसान्तसम्म ३६ वटा भैँसी व्याएवापत पहिलो पटक पोषण खर्च रकम बुझेका हुन् ।

पाल्पा जिल्लामै ठूलो पशुफार्म चलाएका अर्यालले हाल दैनिक २८ वटा दुहुना भैसीबाट मासिक दुई लाख ५० हजार आम्दानी गर्छन् । उनले दैनिकजसो २ सय ६० लिटर दूध उत्पादन गर्दै आएका छन् । अबको तीन महिनाभित्र एक सय बढी माउ भैँसी पाल्ने उनको लक्ष्य छ । बोधराज ढुङ्गनाले पनि पोषण खर्च पाएपछि पशुपालन व्यवसाय बढाउने सोंच उनको छ । दुई भैँसी र एक गाईको पोषण खर्च तीन हजार रकम बुझाएका ढुंगानाले पशुपालनमा ऊर्जा मिलेको बताउँछन् । उनी भन्छन् ‘किसानलाई यस कार्यले ठूलो ऊर्जा मिलेको छ, अब गोठको क्षमता बढाएर दश वटासम्म भैँसी थप्ने योजना बनाएको छु, यस्ता कार्यक्रमले व्यवसायमा कृषकको जोश जागर थपिदिएको छ । सुत्केरी पोषण खर्च रकमले पशु बिमामा लाग्ने खर्चमा राहत पुग्ने बताउँछन् अर्का व्यवसायी गणेश आचार्य । उनले ६ गाई र एक भैँसीको सात हजार पोषण खर्च रकम बुझ्दै यस कार्यक्रमले व्यावसायिक कृषकलाई प्रोत्साहनसँगै बिमा गर्न नसकेका कृषकलाई बीमा कार्यमा ठूलो सहयोग पुग्ने बताउँछन् । रामपुर नगरपालिकाको समन्वयमा सहकारीले यसवर्ष पाँच लाख रकमबाट पशुलाई सुत्केरी पोषण खर्च वितरण गरेको अध्यक्ष कृष्णकुमार अर्यालले बताए । अध्यक्ष अर्यालले १७ सुत्केरी पशुको १७ हजार रकम बुझेको बताए । ‘सहकारीले संस्थामा आवद्ध कृषकलाई पाँच सयका दरले पोषण खर्च दिँदै आएका छौँ, यसवर्ष नगरपालिकाको सहयोगमा एक हजारका दरले नगरमा बीमित सबै पशुलाई रकम प्रदान गर्ने सम्झौता बमोजिम पोषण खर्च वितरण गरियो’, अध्यक्ष अर्यालले भने । नगरपालिका भित्रका बीमित ५ सय गाईभैँसीलाई एक हजारका दरले रकम प्रदान गरिएको छ । यस कार्यक्रमबाट यहाँका ३ सय ६५ कृषक प्रत्यक्ष लाभान्वित भएका छन् भने बिमा नगरेका कृषकलाई बिमा गर्न प्रोत्साहित गरेको छ । यस्ता कार्यक्रम सञ्चालन हुँदा साना ठूला सबै कृषकले समान रुपमा व्यवसायको आधारमा निष्पक्ष तरिकाले राहत महशुस गर्न पाउने र यो कार्यक्रम कृषकमुखी रहेको हुँदा नगरपालिकाले निरन्तरता दिनुपर्ने युवा ऋषि पोखलेलको भनाइ छ ।

पशुलाई सुत्केरी भएको समयमा विशेष आहार, पोषणको आवश्यकता पर्दछ । पशुपालन व्यवसायलाई बढावा दिन यो कार्यक्रम अगाडि बढाएको र आगामी दिनमा रकम बढाउँदै जाने नगरप्रमुख रमणबहादुर थापाले बताए । सहकारीले आफ्नै लगानीमा विसं २०६४ देखि संस्थामा आबद्ध कृषकलाई पाँच सयका दरले पशु सुत्केरी पोषण खर्च कार्य सुरु गरेको हो । संस्थाले यस अभियानलाई निरन्तरता दिदै आएको छ । बिमाको प्रक्रिया पुगेका, बिमा कम्पनीले प्रमाणित गरेका नगरपालिका भित्रका सुत्केरी सबै गाईभैसीलाई रकम वितरण गरिएको हो । –रासस

प्रकाशित मिति: शनिबार, चैत २६, २०७८  १२:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update