Shittalpati
रेसुङ्गा नगरपालिकामा कृषकलाई त्रिपाल र कर्नी वितरण

गुल्मी, जिल्लाको रेसुङ्गा नगरपालिकामा कृषकहरुलाई त्रिपाल तथा कर्नी वितरण गरिएको छ । रेसुङ्गा नगरपालिका वडाकार्यालय १ ले आइतबार २५ जना कृषकहरुलाई त्रिपाल तथा कर्नी वितरण गरेको हो ।

आर्थिक वर्ष २०७८/०७९ का लागि वडाद्वारा विनियोजित पशुपंक्षी व्यवसाय प्रवद्र्धन कार्यक्रमबाट २ जना गाईपालक कृषक तथा २३ जना भैंसीपालक कृषकहरुलाई त्रिपाल तथा कर्नी वितरण गरिएको वडाअध्यक्ष अखिलेश्वर प्रसाद पाण्डेले जानकारी दिए । अध्यक्ष पाण्डेका अनुसार सो कार्यक्रमका लागि यस आर्थिक वर्षमा ५० हजार बजेट विनियोजित गरिएको थियो । सोही बजेटबाट उपभोक्ता समितिमार्फत कृषकको सहजताका लागि त्रिपाल तथा गाइबस्तुको मल उठाउनका लागि सहजहोस् भन्ने उद्देश्यले कर्नी वितरण गरिएको वडाअध्यक्ष पाण्डेले बताए । उनले वडामा भौतिक पूर्वाधार निर्माणका कार्यक्रमहरु अन्तिम चरणमा पुगेको जानकारी दिए । अध्यक्ष पाण्डेले भने,‘यस वडामा जनप्रतिनिधि आएपछि अहिले भौतिक निर्माणको काम अन्तिम चरणमा पुगेको छ । अब हाम्रो ध्यान जनताको जीवनस्तर कसरी माथि उठाउन सकिन्छ भन्ने छ ।’

यहाँ भएका सम्भावनाहरुको पहिचान गरी रोजगारमूलक र आयआर्जन मूलक कार्यक्रमहरुलाई प्राथमिकतामा राखिएको वडाअध्यक्ष पाण्डेलेको भनाई छ । यस अघि पशुपालन व्यवसायको प्रवद्र्धनका लागि गोठ सुधार गर्नुपर्छ भन्ने उद्देश्यका साथ गोठ सुधारका कार्यक्रमहरु समेत गरिएका उनले बताए । विशेष गरी गोठमा पशुहरुलाई चिसो यामको समयमा बचाउनका लागि त्रिपालले मद्दत पुर्‍याउने अध्यक्ष पाण्डेले बताए । ‘तम्घास क्षेत्र यसै पनि बढी चिसो हुने ठाउँ हो । पछिल्लो समय पुसमै पनि हिँउ पर्ने गरेको छ ।’ पाण्डेले भने,–‘चिसो यामको समयमा वस्तुभाउलाई बचाउनका लागि त्रिपालले केही भए पनि कृषकहरुलाई राहत पुर्‍याउँछ भनेर कृषकहरुको माग अनुसार त्रिपाल वितरण गरिएको हो ।’

वडासदस्यहरु मुकुन्दहरि गौतम, शालिकराम पन्थी, उपमकला पाण्डे, तुल्सी परियार लगायत उपभोक्ता समितिका पदाधिकारीहरुको उपस्थितिमा त्रिपाल वितरण गरिएको वडा सचिव राधिका पाण्डेले जानकारी दिइन् । यस वडाले कृषिको क्षेत्रमा पनि विभिन्न रचनात्मक कार्यहरु गर्दै आएको छ । वडाले यस अघि कृषकहरुलाई पैचोमा बाख्रा वितरण गरेको थियो । कार्यक्रममा उपभोक्ता समितिका अध्यक्ष ओमप्रसाद श्रेष्ठको अध्यक्षता भएको हो ।

प्रकाशित मिति: सोमबार, माघ १०, २०७८  १५:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update