Shittalpati
पाल्पामा लोप हुँदै रैथाने अन्नबाली

पाल्पा, रैथाने अन्नबाली उत्पादनमा किसानको जागर छैन । मेहनत अनुसारको फल नआएपछि किसान बढी उत्पादन दिने अन्नबाली तथा तरकारी खेतीमा आकर्षित भएका छन् । बढी उब्जनी हुने अन्नबाली तथा तरकारी खेतीमा चासो बढेपछि पाल्पा लगायत पहाडी जिल्लामा उत्पादित रैथानेबाली पछिल्ला वर्षमा लोप हुँदै गएका छन् । खेतीयोग्य जमिनमा समेत रैथानेबाली हराउन थालेको छ । जलवायु परिर्वतनले उत्पादनमा कमी आएसँगै किसानको परम्परागत अन्नबाली खेतीमा आकर्षण समेत घटेको हो ।

बगनासकाली गाउँपालिका ८, बगनासकी जेमकुमारी हिताङ्ग अहिले कोदो र फापरखेतीमा व्यस्त छन् । पहिला तीन चार मुरी कोदो र फापर उत्पादन हुने गरेकामा अहिले २०/२५ पाथी मात्र उत्पादन हुन्छ । कोदो, फापरलगायत रैथानेबालीको माग गाउँ तथा सहरी क्षेत्रमा भने बढ्दो छ । पहिला निकै मेहनतका साथ उत्पादन गरिने भएकाले कोदो, फापर लगायत बाली प्रशस्त उत्पादन हुँदै आएको थियो । मेहनत गर्ने मानिसको अभाव, जलवायु परिर्वतन र शहरीकरणले गर्दा परम्परागत अन्नबाली लोप हुँदै गएको कृषक हिताङ्ग बताउँछिन् । कृषि पेशामा युवा जनशक्तिको आकर्षण छैन । समुदायका आश्रित व्यक्तिमा काम गर्ने क्षमता छैन । गोरुले जोत्ने खेतबारीमा अहिले ट्क्याटरबाट खनजोत हुन्छ । खेतीयोग्य जमिनमा अहिले खेती गर्न छाडेर बाँझो बनाउन थालिएको छ ।

परम्परागत रुपमा खेती गर्ने पाका पुस्ताले मात्र रैथानबाली लगाउँदै आएका छन् । पुराना अन्नबाली फापर, कोदो, जौ, तिल, भटमास, सिलाम लगायत अन्नबाली वर्षेनी संकटमा परेको तानसेन नगरपालिका छापकी नरिसरा गाहा बताउँछिन् । पुराना अन्नबाली उत्पादनमा युवाको चासो नै छैन, बुढापाका पुस्ताका मानिसले मात्र रैथानेबाली कोदो, फापर, गहुँ उत्पादन गरिरहेको उनको भनाइ छ । पछिल्ला वर्ष छिटो आम्दानी दिने उन्नत जातका अन्नबालीप्रति किसानले चासो बढाउन थालेका छन् । रैथाने अन्नबालीको उत्पादन वृद्धि प्रोत्साहनको अभावमा लोप हुने अवस्थामा पुगेकाले सरकारले विशेष चासोका साथ बीउ संरक्षण गरी उत्पादन वृद्धिमा चासो दिनुपर्नेमा स्थानीयवासी कमल भण्डारीले जोड दिए । दश बाह्र वर्षअघिसम्म कोदो र फापरको खेती व्यापक हुन्थ्यो तर अहिले तिनकोे उत्पादनमा कमी भए पनि बजारमा माग भने बढ्दो छ । निकै स्वादिलो परिकारका रुपमा कोदाको रोटी र ढिलोलाई लिइन्छ । रैथाने अन्नबालीको उत्पादन बढाउन सके स्वदेशका ठूला होटल तथा विदेशमा समेत निर्यात गर्न सकिनेमा उनको विश्वास छ । –रासस

प्रकाशित मिति: मंगलबार, माघ ४, २०७८  १४:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update