Shittalpati
ग्रामीण क्षेत्रका महिला कृषि र पशुपालन व्यवसायमा आत्मनिर्भर

पाल्पा, यहाँका ग्रामीण क्षेत्रका महिला पछिल्ला वर्षमा आत्मनिर्भर बन्न थालेका छन् । ग्रामीण क्षेत्रमा बसोबास गर्ने महिला कृषि तथा पशुपालनका क्षेत्रमा लागेपछि आत्मनिर्भर हुन थालेका हुन् । परिश्रमी महिला स्वदेशमा नै कर्म गरी प्रशस्त आम्दानी गरिरहेका छन् ।

सामान्य लेखपढ गरेका महिलाले स्थानीय स्रोत, साधनको परिचालन गरी प्रशस्त आन्दानी गर्दै नमूना देखाएका छन् । ग्रामीण क्षेत्रमा रोजगारीको अभावमा शहर पस्नेको लर्को देखिए पनि यहाँका ग्रामीण क्षेत्रका महिलाको व्यवसाय लोभ लाग्दो छ । तानसेन नगरपालिका–१० जमुनाखर्ककी सीतादेवी आलेका श्रीमान रोजगारीका लागि विदेश गएका छन् । आलेका छोराछोरी अध्ययनका लागि शहरमा बसोबास गर्छन् । सीतादेवीले मात्र घर बसी व्यावसायिक तरकारी उत्पादनसँगै सामाजिक काममा अग्रसरता देखाएकी छिन् । दिनरातको प्रयासले उनको व्यावसायिक तरकारी उत्पादन प्रणाली उत्साहजन छ । यो मौसममा सिमी, बोडी, साग, केराउ, धनियाँ, काउली लगायतका तरकारी निकासीमा उनी व्यस्त छिन् । वार्षिक दुई लाख रूयैयाँ तरकारी खेतीबाट आम्दानी हुने उनले जानकारी दिइन् । यसैगरी सोही स्थानकी मनु सिंजालीले छोराछोरीलाई लालनपालन र शिक्षादिक्षाका लागि चाहिने खर्च जुटाउन व्यावसायिक तरकारी खेतीबाट सक्षम भएको बताइन् । पहिला जस्तै गरी सानातिना कामका लागि पनि श्रीमानसँग पैसा माग्नुपर्ने बाध्यता पछिल्ला वर्ष हटेको उनले बताइन् । ‘आफैँले व्यावसायिक तरकारी खेती गर्न थालेसँगै दुई/चार रुपैयाँ श्रीमानलाई मागेका बेला उपलब्ध गराउन पाउँदा खुसी छु’, उनी भन्छिन्, ‘घरमा बसीबसी खेतबारीमा मेहनत गरी दुईचार लाख आम्दानी गर्न सक्षम भएकोमा सन्तुष्ट छु ।’ यस्तै तानसेन नगरपालिका वडा ५ अर्चलेकी मीना सोमैलाई खेतबारीमा अन्नबाली रोपेर वन्यजन्तुबाट जोगाउन मुस्किल भयो । मेहनत अनुरुप प्रतिफल प्राप्ति हुन नसकेपछि व्यावसायिक रुपमा घाँसखेती गर्न उनीले बाध्य हुनपर्‍यो । झण्डै आठ रोपनीमा सुपर नेपिर र मुलाटो घाँस खेतीबाट पहिलो वर्ष नै ५० हजार रूपैयाँ आम्दानी गर्न पाउँदा उनी दङ्ग छिन् । खेतबारीका कान्लामा रोपिएको घाँस खेतीबाट आम्दानीसँगै हरियालीले लोभ्याएको छ । सोमैले अगामी वर्ष सुपर नेपिर र मुलाटो घाँसखेती अझै बढी लगाउने र दुई/तीन लाख रूपैयाँ आम्दानी गर्नेे योजना रहेको उनले सुनाइन् । तानसेन नगरपालिका र युयनडिपी, ग्रामीण आर्थिक विकास संघ सहयोगमा विदेशबाट फर्केका तथा स्वदेशमा बेरोजगार युवालाई उद्यमी बनाउन थालिएको हो । त्यसका लागि कृषि औजार, सीप तथा पुँजी सहयोग गरी नगरपालिका भित्रका युवालाई स्वदेशमा टिकाउने योजना अनुसार काम भइरहेको ग्रामीण आर्थिक विकास संघका कार्यकारी निर्देशक लीलाबहादुर कार्कीले जानकारी दिए । नगर उपप्रमुख लक्ष्मीदेवी पाठकले महिलाको आर्थिक सशक्तीकरणका लागि बाख्रापालन, कुखुरापालन तथा आयआर्जन सम्बन्धी तालिम सञ्चालन गरिएको बताइन् । आर्थिक रुपमा सबल भएमात्र सामाजिक, राजनीतिक तहमा महिला नेतृत्व पुर्‍याउन सकिने भएकाले आर्थिक रुपमा कमजोर समुदायका महिलालाई आयआर्जनतर्फ केन्द्रीय कार्यक्रम सञ्चालन गरिएको उनले जानकारी दिइन् । –रासस

प्रकाशित मिति: बुधबार, पुस १४, २०७८  ११:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update