Shittalpati
स्याङ्जालाई बीउमा आत्मनिर्भर बनाइँदैं

तोलाकान्त बगाले (रासस)
वालिङ, जिल्लालाई बीउमा आत्मनिर्भर बनाउनका लागि जिल्लाभरिका बीउ उत्पादक समूह र सहकारीबीच समन्वय भएको छ । वालिङमा रहेको कृषि विकास स्रोतकेन्द्र र कृषि ज्ञानकेन्द्रका समन्वयमा जिल्लामा बीउ उत्पादनका क्षेत्रमा काम गर्दै आएका किसानको भेलाले जिल्लालाई खाद्यान्न तथा तरकारी बालीको बीउ उत्पादनमा आत्मनिर्भर बनाउनका लागि समन्वय गर्ने निर्णय गरेको हो ।

जिल्लालाई खाद्यान्न तथा तरकारी बालीको बीउ उत्पादनमा संलग्न किसान समूह, सहकारी तथा संस्थासँग समन्वय गर्नका लागि जिल्ला बीउबिजन उत्पादन तथा व्यावसायिक समितिसमेत गठन गरिएको कृषि विकास स्रोतकेन्द्र वालिङका प्रमुख सुदीप रेग्मीले जानकारी दिए । उनका अनुसार जिल्लामा बीउ उत्पादनमा सहयोग गर्ने सरकारी, गैरसरकारी, स्थानीय तह तथा निजी क्षेत्रसँग बीउबिजन क्षेत्र विस्तार कार्यका लागि समन्वय गर्ने, प्रत्येक वर्ष जिल्लामा आवश्यकपर्ने स्रोत बीउको परिमाण तथा उक्त स्रोत बीउको तथ्याड्ढ संकलन गरी बीउको परिमाण कृषि ज्ञानकेन्द्र र कृषि विकास स्रोतकेन्द्र वालिङलाई जानकारी गराउनुपर्ने छ । जिल्लालाई बीउमा आत्मनिर्भर बनाउनका लागि विभिन्न बीउ उत्पादनसँग सम्बन्धित कार्य सञ्चालन गर्ने, बीउ उत्पादनका क्षेत्रमा काम गर्दै आएका व्यवसायिक बीउ उत्पादक समूह, सहकारीलाई आवश्यक सल्लाह, सुझाव तथा परामर्श दिने मुख्य उद्देश्य रहेको उनले बताए ।

‘जिल्लामा खाद्यान्न तथा तरकारी बालीका बीउ उत्पादनका क्षेत्रमा काम गर्दै आएका बीउ उत्पादक र उपभोक्ताबीच समन्वय गराउनका लागि पहल गर्नेछौं’ उनले भने, ‘जिल्लाभित्रै उत्पादन भएको बीउलाई जिल्लाभित्र नै खपत गर्नेगरी उत्पादक र उपभोक्ताबीच समन्वयकारी भूमिका निभाउछौं ।’ जिल्लामा धान, मकै, गहुँ, आलु लगायतका तरकारीबालीका क्षेत्रमा गुणस्तरयुक्त बीउ उत्पादन गर्नका लागि २१ समूह, सहकारी सूचीकृत छन् । जिल्लास्तरमा खाद्यान्न तथा तरकारी बालीका क्षेत्रमा बीउ उत्पादन गर्दै आएका किसानबीच अन्तक्र्रिया तथा समन्वयकारी भूमिकाले आगामी दिनमा उत्पादन भएका बीउको बजारीकरणमा सहयोग पुग्ने विश्वास फेदीखोला– ४ आरुखर्कमा रहेको जैसीडाँडा किसान समूहकी अध्यक्ष संगीता हमालको छ । प्रयोगशालाबाट बीउका लागि प्रमाणीकरण भएको ‘मनकामना ३’ जातको मकैको बीउ विगत एघार वर्षदेखि उत्पादन गर्दै आएको उक्त समूहका अध्यक्ष हमालले जानकारी दिए । महिलाले नेतृत्व गरेको र महिला मात्रै आवद्ध रहेको ‘जैसीडाँडा किसान समूह’ले विगत एघार वर्षदेखि मकैको बीउ उत्पादन गर्दै आएको छ । जिल्लाको फेदीखोला गाउँपालिका–४ आरुखर्कमा रहेको उक्त समूहले २०६७ सालदेखि वैधानिकरुपमा ‘मनकामना ३’ जातको मकैको बीउ उत्पादन गर्दै आएको छ । सुुरुमा ४५ जना महिला आवद्ध रहेर सञ्चालनमा आएको समूहमा हाल २०० जना महिला आवद्ध भई मकैको बीउ उत्पादन गर्दै आएका समूहकी अध्यक्ष संगीता हमालले जानकारी दिए । ‘यस समूहमा आवद्ध भएका सबै महिला दिदीबहिनीले आ–आफ्नो बारीमा बीउका लागि मकैको खेतीगर्नुहुन्छ’ अध्यक्ष हमालले भने, ‘उत्पादित मकैको बीउको प्रयोगशालामा परीक्षण गरेपछिमात्रै विक्रीका लागि अनुमति प्राप्त गर्ने छौं ।’ गत वर्षदेखि मकैको परीक्षणका लागि पोखरास्थित प्रयोगशालामा लगिए पनि त्यसभन्दा अघिल्ला वर्षमा भैरहवा लैजाने गरिएको अध्यक्ष हमालले बताए । ‘उत्पादन भएको मकैको प्रयोगशालामा पठाएर उमारशक्ति, चिस्यान र शुद्धता परीक्षण गरिन्छ’ अध्यक्ष हमालले भने, ‘परीक्षणमा योग्य भएपछि घरघरमा रहेको मकैलाई संकलन केन्द्रमा ल्याएर समूहमार्फत एकमुष्ट बीउको प्रयोजनका लागि बिक्री गर्छौं ।’ यहाँको मकै सुरुआतको चरणदेखि हालसम्म बीउको गुणस्तरीयता परीक्षणका क्रममा कमजोरी नदेखिएको दाबी समूहले गरेको छ । यहाँ उत्पादन भएको बीउ मकै स्याङ्जा जिल्लाभित्रका कृषिसँग सम्बन्धित कार्यालय, संघ संस्था, कृषि एग्रोभेट र जिल्लाबाहिरबाट पनि माग हुने गरेकाले खपतको कुनै समस्या नभएको समूहका कोषाध्यक्ष कल्पना पौडेलले जानकारी दिए । यसवर्ष १२ मेट्रिक टन ‘मनकामना ३’ जातको मकैको बीउ उत्पादन भएको छ । गतवर्ष १० मेट्रिक टन बीउ बिक्री भएको उनले बताए । त्यस्तै गल्याङ –११ जिमुहामा रहेको जिमुहा कृषिउपज सहकारी तथा जिमुहा शितभण्डार सहकारीका अध्यक्ष रुमलाल कँडेलले बीउ उत्पादकबीच समन्वय र सहकार्यले थप ऊर्जा मिलेको बताए ।

खाद्यान्न तथा तरकारी बालीका विभिन्न जातका बीउ जिल्लामा नै उत्पादन हुने गरेकाले सिधैँ उपभोक्ता माझ पुर्‍याउनका लागि समन्वयात्मक भूमिका महत्वपूर्ण रहेको बताए । ‘जिल्लामा विभिन्न तरकारी तथा खाद्यान्नबालीका प्रमाणित बीउ समूह सहकारीले उत्पादन गरिरहेका छन् ।’ उनले भने, ‘जिल्लाका उपभोक्ताले बाहिरी जिल्लाबाट बीउ ल्याउने गरेकामा अब भने जिल्लामा उत्पादन भएको बीउ जिल्लाभित्रनै खपत हुनेमा विश्वस्त छु ।’ जिल्लामा बीउ उत्पादनका क्षेत्रमा काम गर्ने समूह तथा सहकारीले उत्पादन गर्ने बीउको परिमाण र उपभोक्ताले आफूलाई आवश्यकपर्ने बीउको माग गर्न मिल्ने गरी सफ्टवयरको विकास गरिएकाले उत्पादक र उपभोक्ताबीच सिधँै सम्पर्क गर्न सहज हुने व्यवस्था मिलाइएको कृषि विकास स्रोतकेन्द्रका प्रमुख रेग्मीले जानकारी दिए ।

प्रकाशित मिति: शनिबार, पुस १०, २०७८  ११:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update