Shittalpati
रिब्दीकोट गापाको दुध भैरव दुध संकलन मार्फत विक्री गरिने

कृष्ण पोखरेल
पाल्पा, भैरवस्थान कृषि बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड रिब्दीकोट पाल्पाले भैरवस्थानमा दूध संकलन केन्द्र सञ्चालनमा ल्याएको छ । दूध संकलन केन्द्रको गाउँपालिकाका अध्यक्ष नारायणबहादुर जिसीले शुभारम्भ गरे । शुभारम्भ कार्यक्रममा बोल्दै गाउँपालिकाका अध्यक्ष जिसी अब कृषकहरु विचलौयाबाट ठगिन जोगिने विश्वास व्यक्त गरे ।

गाउँपालिका भरिका सहकारीबाट संकलन भएको दूध भैरवस्थानमा एकमुष्ठ रुपमा संकलन गरी बजारीकरण गरिने अध्यक्ष जिसी बताए । अबका दिनमा उत्पादन बढाउने, बजारीकरण गर्ने, उत्पादित बस्तुलाई प्रशोधन गरेर दूधको विविधिकरण व्यापारमा सहकारीले महत्वपूर्ण भुमिका खेल्ने अध्यक्ष जिसीले बताए । अध्यक्ष जिसीले दूध संकलन केन्द्र अन्य संकलन केन्द्रले जस्तो एउटै व्यापार नगरी फरक–फरक किसिमको व्यापार गर्न सहकारीलाई सुझाव दिए । दैनिक रुपमा नाफाघाटा हर हिसाव डायरीलाई व्यवस्थित गर्न पालिका अध्यक्ष जिसीले सहकारीलाई अनुरोध गरे । कृषकहरुलाई दूध, दाना, घास तथा विविध कामको लागि हेफर प्रोजेक्टको ५० प्रतिशत, गाउँपालिकाको २५ प्रतिशत र सहकारी संस्थाको २५ प्रतिशत लगानीमा बलेरो पिकअप जिप गाउँपालिकाका अध्यक्ष जिसीले सहकारीका अध्यक्ष केशव खनाललाई चावी हस्तान्तरण गरे । कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी खनालले सहकारी मार्फत कारोवार गर्दा किसानहरुले उल्लेखनीय फाइदा पाउने भएकोले, ऋण धन सहयोगदेखि, विभिन्न पशु कृषिका उपकारणहरु, तालिम तथा घास विउ दानामा समेत सहयोग पाउने बताइन् ।

गाउँपालिकाका वडा ४ का वडा अध्यक्ष दुर्गाप्रसाद खनाल, वडा २ का अध्यक्ष रामचन्द्र नेपाल, वडा १ अध्यक्ष विष्णुप्रसाद गैर, निमित्त प्रमुख प्रशासकीय अधिकृत मणी खनाल, ग्रामीण आर्थिक विकास संघका कार्यकारी निर्देशक लिलाबहादुर कार्की, रिब्दीकोट सहकारी सञ्जालका अध्यक्ष दानबहादुर कुवँर, हेफर पोजेक्टका कार्यक्रम अधिकृत विष्णुप्रसाद पाण्डे लगायतले अब पालिकाभरि दूध एकै ठाउँमा संकलन गरी विक्री वितरणको कृषकहरुको आम्दानी बढ्ने बताए । कार्यक्रममा सहकारीका अध्यक्ष खनालले सहकारीले गरेका काम तथा भावी योजनाका विषयमा प्रतिवेदन पेश गरेका थिए । गाउँपालिका ८ वटा वडामा हाल १ हजार ४ सय ३० लिटर दूध संकलन हुँदै आएकोमा अबका दिनमा भैरव दूधको नामबाट विक्री वितरण गरिने सहकारीले जनाएको छ । सहकारीले आउँदो माघ महिनादेखि तानसेनमा विक्री कक्ष सञ्चालन गर्ने जनाएको छ । आगामी दिन भैरवस्थान रोटघरहरुमा पनि गाउँकै शुद्ध घिउ सप्लाई गर्ने सहकारीले जनाएको छ । हेफर प्रोजेक्टले २ हजार लिटरको चिलिमे भ्याट, दूधको शुद्धता नाप्ने मिल्क एनालाईजर, तथा अन्य उपकरणहरुका ५० प्रतिशत सहयोग गरेको, गाउँपालिकाभरी करिव १ हजार ६ सय कृषकहरुलाई गोलवन्द गरी कृषि तथा पशुपालन क्षेत्रमा आय आर्जन बढाउने गरी सचेतना अभियान सञ्चालन गर्दै रिब्दीकोट हेफर प्रोजेक्टका फोकल पर्सन रामप्रसाद न्यौपानेले बताए । दूध संकलन केन्द्रको शुभारम्भ सहकारीका अध्यक्ष केशव खनालको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष नवराज ज्ञवालीको स्वागत र सचिव आशिष दुधराजको सञ्चालनमा भएको छ ।

प्रकाशित मिति: बिहीबार, पुस ८, २०७८  १०:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update