Shittalpati
वन नर्सरीबाट रोजगारी

तम्घास, गुल्मीको मालिका गाउँपालिका–७ घमिर सिलादीकी देविका अर्याल केसी विगत एक वर्ष तीन महिनायता व्यस्त छन् । सिलादीमा स्थापना भएको सिलादी वन नर्सरीमा पानी राख्ने, झारपात गोडमेल गर्ने र बिरुवा सार्ने उनको दैनिकी बनेको छ । तीन वर्षअघि श्रीमानको मृत्यु भएपछि तीन जना छोराछोरीलाई हुर्काउँदै आएकी उनलाई घरखर्चको जोहो गर्न निकै मुस्किल पथ्र्यो । तर घरछेवैमा वन नर्सरीको स्थापना भएपछि उनलाई दैनिकी गुजार्न सहज भएको छ । कारण हो, वन नर्सरीमा रोजगार पाउनु । ‘पहिलेपहिले घरखर्च चलाउन निकै गाह्रो थियो, त्यही बेला वन नर्सरी स्थापना भयो’, उनले भनिन्, ‘नर्सरीमा काम पाउँदा खुसी लागेको छ ।’

उनले पहिले–पहिले मासिक १० हजारमा काम गर्दै आएकामा अहिले भने दैनिक ३ सय ५० मा काम गर्दै आएकी छन् । नर्सरी केन्द्रमा काम गरेको रकमले छोराछोरीलाई पढाउन, घरमा नुन, तेललगायत सामग्री जोहो गर्न सहयोग पुगेको उनको भनाइ छ । बिरुवा नर्सरी केन्द स्थापना भएदेखि नै उनी काममा लागेकी हुन् । मालिका गाउँपालिका–८ किसनटारीकी २८ वर्षीय सीता खनाल पनि दिउँसोमा बिरुवा नर्सरी केन्दमै काम गर्छिन् । नयाँ बिरुवा जमाउने, सार्ने, गोडमेल गर्ने, बिरुवामा पानी राख्नेलगायतका काममा उनी व्यस्त छन् । ‘पहिले त दैनिकजसो नै काम हुन्थ्यो, तर अहिले महिनाको १५÷२० दिनसम्म काम हुन्छ ।’ उनले भनिन्, ‘घरमा खाली बस्नुभन्दा यहाँ धेरै राम्रो छ ।’ उनका श्रीमान् रोजगारीका लागि विदेशमा छन् । घरमा सासू र छोराछोरी छन् । केन्दमा काम गरेको रकमले घरखर्च चलाउन श्रीमानकै आश गर्नु नपरेको उनले बताइन् । उनले महिनाको १० हजारसम्म कमाउन्छिन् । नियमित वन नर्सरीमै काम पाए गर्ने योजना रहेको उनले सुनाईन ।

देविका र सीता केन्दमा काम गर्ने प्रतिनिधिमूलक पात्र मात्रै हुन् । माघदेखि वैशाखसम्मको समयमा केन्द्रमा काम बढी हुन्छ । नयाँ बिरुवा जमाउने, बिरुवा सार्ने, नर्सरीमा रहेको बिरुवाको झारपात गोड्ने, पानी हाल्ने, ग्रेडिङ गर्नेलगायत काम हुन्छन् । उक्त समयमा दैनिक १० देखि १२ जनासम्मले रोजगारी प्राप्त गरेको मदाने मालिका सबडिभिजन वन कार्यालयका वन रक्षक छविलाल अर्यालले जानकारी दिए । मालिका गाउँपालिका–७ घमिर सिलादीमा वन नर्सरी स्थापना हुँदा एकातर्फ बिरुवा उत्पादन भएको छ भने अर्कोतर्फ रोजगारी पनि सिर्जना भएको छ । हालसम्म वन नर्सरीमा एक हजार १ सय ७५ दिनको काम भएको र उक्त कामबापत स्थानीयले सात लाख ९९ हजार प्राप्त गरेका छन् । एक नर्सरी नाइकेले नौ महिनाको ७० हजार प्राप्त गरेका छन् ।

६० हजारमध्ये ४२ हजार वितरण ः पाँच रोपनी क्षेत्र ओगटेको नर्सरी केन्दमा २७ प्रजातिका बिरुवा लगाइएको छ । राइखन्नु, किम्बुलगायत घाँस, टिमुर रुख कटहर लगायतका फलफूल, चाँप, धुपी, पारिजात लगायत फूल एवं काठजन्य प्रजातिका बिरुवा केन्दमा पाइन्छन् । केन्दमा सल्यान, प्यूठान, इटहरी, पोखरा, काठमाडौँ लगायतका स्थानबाट बीउ ल्याई बिरुवा जमाइएको छ । नर्सरीको स्थापना हुँदा ६० हजार बिरुवा जमाइएको थियो । तीमध्ये अहिले ४२ हजार १ सय ३३ बिरुवा वितरण भइसकेका छन् । सबैभन्दा धेरै चाप ३० हजार ८ सय ३६ जमाएकामा २५ हजार ८ सय १९ वितरण गरिएको छ । सबैभन्दा कम अशोका पाँच जमाएकामा सात वटा मात्रै वितरण गरिएको वन रक्षक अर्यालले जानकारी दिए । नर्सरीबाट सबै बिरुवा निःशुल्करुपमा प्राप्त गर्न सकिन्छ । अहिलेसम्म ८ सय १० व्यक्तिले बिरुवा लगेको अर्यालले बताए । केन्दमा लगाइएका बिरुवा मालिका गाउँपालिकासँगै मदाने, इस्मा, धुर्कोट, मुसिकोट, रेसुङ्गा नगरपालिकालगायत विभिन्न स्थानमा वितरण गरिएको छ । त्यसका साथै विभिन्न सरकारी कार्यालय, प्रहरी चौकी, व्यारेक, पालिकाका कार्यालय तथा रेसुङ्गा क्षेत्रमा समेत बिरुवा पु¥याइएको जिल्ला वन कार्यालय गुल्मीका प्रमुख प्रभात सापकोटाले जानकारी दिए । बिरुवा नर्सरी केन्दको स्थापनाका लागि सिलादीमा केही संरचना निर्माण गरिएको छ । तेह्र मिटर चौडाइ र २४ मिटर लम्बाइको ग्रिन हाउस, बिरुवा उमार्ने टनेल, टिमुरको टनेल, भवन, गोल घर, गेट तथा नर्सरी वरिपरि तारवार लगाइएको छ । उक्त कामका लागि आर्थिक वर्ष ०७६/७७ मा १० लाख तथा ०७७/७८ मा १० लाख खर्च भएको वन कार्यालयका प्रमुख सापकोटाले बताए । खाली रहेका जग्गामा लोपोन्मुख प्रजातिका बिरुवा लगाउने उद्देश्यले ०७६ चैतमा नर्सरीको स्थापना गरिएको थियो । त्यसका साथै उत्पादन र उत्पादकत्व वृद्धि गरी रोजगारी सिर्जना गर्ने पनि नर्सरी स्थापना गर्नुको उद्देश्य रहेको वन कार्यालयका प्रमुख सापकोटाले जानकारी दिए । –रासस

प्रकाशित मिति: बिहीबार, भदौ ३१, २०७८  १०:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update