Shittalpati
पाल्पाका स्थानीय सरकारको प्राथमिकता कृषि , उत्पादन बढाउन कृषकलाई औजार

रामचन्द्र रायमाझी
पाल्पा, जिल्लाका स्थानीय सरकारहरुले कृषिलाई प्राथमिकता दिएर अगाडि बढेका छन् । उनीहरुले कृषिबाट नै आर्थिक समृद्धि हासिल गर्न सकिने भन्दै कृषिलाई प्राथामिकतामा राखेर काम गर्दै आएको पाइन्छ । यहाँका स्थानीय सरकारले कृषकलाई कृषिमा लाग्न प्रोत्साहन गर्दै आएका छन् । कृषकलाई अनुदानमा कृषि औजार, विउ विजन र प्राविधिक सहयोग समेत यहाँका स्थानीय सरकारले गरेका छन् ।
बगनासकाली गाउँपालिका, माथागढी गाउँपालिका, तानसेन नगरपालिका, रैनादेवी छहरा गाउँपालिकाले कृषि उपजको उत्पादन वृद्धि र लागत घटाउनका लागि कृषकलाई अनुदानमा कृषि औजार वितरण गर्दै आएका छन् । कृषकलाई परम्परागतखेती प्रणालीको विकल्पमा यान्त्रिकरण र आधुनिकीकरण गर्न अग्रसर बनाउने उद्देश्यले उनीहरुले ५० प्रतिशत अनुदानमा कृषि औजार वितरण गर्दै आएका हुन् ।

बगनासकाली गाउँपालिकाले ९ वटै वडाका कृषकहरुलाई हाते ट्याक्टर, बेसार पिस्ने मेसिन, कम्वाईन मिल, मकै रोप्ने मेसिन, डिजिटल तराजु, घाँस काट्ने मेसिन लगायतका कृषि औजारहरु दिएको छ । कृषकलाई कृषिमा आधुनिकीकरणतर्फ अगाडि बढाउन अनुदानमा कृषि सामग्री दिइदै आएको गाउँपालिका अध्यक्ष कृष्ण प्रसाद बस्यालले बताए । उनले गाउँपालिकालाई कृषिबाटै आर्थिक समृद्धि हासिल गर्ने र आमनागरिकहरुलाई कृषिमा आत्मानिर्भर गराउन कृषि सामग्री दिने गरिएको बताए । कोभिड १९ कोरोना भाईरसका कारण बढ्दै गएको विषम परिस्थितिले भारत लगायतका अन्य देशबाट नागरिकहरु फर्कने क्रम बढेकाले पनि कृषि पेशालाई थप मर्यादित र व्यवसायिक बनाउन गाउँपालिकाले कृषि उत्पादनलाई विशेष जोड दिएको अध्यक्ष बस्यालको भनाई छ । मानविय जीवनको महत्वपूर्ण पाटो कृषि भएकाले कृषि उद्यमशिलताको माध्यमबाट बगनासकालीलाई परिचित गराउने सपना साकार पार्ने गरी काम अगाडि बढेको कृषि शाखा प्रमुख राजेश बोहोराले बताए । उनले भने,‘सीप र प्रविधिको प्रयोगबाट यहाँका कृषकहरुलाई आत्मनिर्भरता बनाउन विभिन्न कृषि सञ्जाल, सहकारीमार्फत कृषि औजार, मल विऊ र प्राविधक सहयोग समेत उपलब्ध गराउँदै आएका छौं ।’ ‘युग कृषि यान्त्रिकरण, खेतबारीमा रुपान्तरण’ भन्ने अभिप्रायका साथ कृषिमा कृषकलाई आकर्षण गराउँदै आएको उनले बताए । माथागढी गाउँपालिकाले पनि कृषिलाई प्राथमिकतामा राखेर काम गर्दै आएको छ । उसले कृषिका विभिन्न पकेट क्षेत्र नै बनाएर कृषिलाई अगाडि बढाएको छ । गाउँपालिकाले यहाँका कृषकहरुलाई अनुदान दिएर कृषिमा आकर्षण गर्ने गरेको छ । गाउँपालिकाले व्यवसायिक कृषिमा लाग्ने कृषकहरुका लागि अनुदानमा बिउ बिजन र कृषि सामग्री दिने गरेको बताएको छ । कृषि पेशालाई व्यवस्थित, आधुनिक र व्यवसायीमुखी बनाउने उद्देश्यले कृषकलाई अनुदानमा विभिन्न कृषि औजार दिइने गरेको गाउँपालिका अध्यक्ष सन्तोष थापा मगरले बताए । गाउँपालिकाले ८ वटै वडाका व्यवसायिक कृषकहरुलाई हाते ट्याक्टर,कुटानी पिसानी मिल लगायतका कृषि औजारहरु दिएको छ । व्यावसायिक कृषिमा लागेका र कोभिडका कारण वैदेशिक रोजगारीबाट फर्कि कृषिमा लागेका युवाहरुलाई कृषि यान्त्रीकरण कार्यक्रम अन्तर्गत ५० प्रतिशत अनुदानमा औजार वितरण गर्दै आइएको अध्यक्ष थापाले बताए । रैनादेबी छहरा गाउँपालिकाले पनि अनुदानमा हाते ट्याक्टर सहितका कृषि औजारहरु कृषकलाई दिदै आएको छ । गाउँपालिकाले ८ वटै वडाहरूमा हाते ट्याक्टर वितरण गरिसकेको छ । आर्थिक बर्ष २०७७/०७८ को वार्षिक ४५ लाख बजेटबाट कृषकहरूको मागको आधारमा ट्याक्टर वितरण गरेको गाउँपालिका अध्यक्ष राम बहादुर कार्कीले बताए । गाउँपालिकाले कृषिमा आधुनिकिकरण गरी कृषकहरूलाई आत्मनिर्भर बनाउन गाउँपालिका अगाडि बढेको उनले बताए ।

रैनादेबी छहराले कृषकहरूको मागका आधारमा बाख्रा वितरण,बाँझो जमिन उपयोग गर्ने कृषकहरूलाई अनुदानका कार्यक्रम, फलफूलका बिरुवा वितरण,उन्नत जातको बीउ विजन वितरण लगाएका कार्यहरू सञ्चालन गरिरहेको छ । गाउँपालिकाका अधिकाश नागरिक कृषि पेशामा आधारित रहेकाले कृषिलाई व्यवसायीकरण गरी नागरिकहरूको जीवनस्तरमा सुधार ल्याउनका लागि गाउँपालिकाले विभिन्न अनुदानका कार्यक्रम सञ्चालन गरेको अध्यक्ष कार्कीको भनाई छ ।

यस्तै तानसेन नगरपालिकाले पनि कृषिलाई प्राथमिकतामा राखेको छ । नगर सरकारले कृषिलाई यान्त्रिकरण गर्दै व्यवसायिक कृषिमार्फत नगरलाई आर्थिक समृद्ध बनाउनका लागि किसानलाई अनुदानमा आवश्यक कृषि सामग्री दिने गरेको छ । ५० प्रतिशत अनुदानमा किसानलाई हाते टेक्टर, कम्बाइन मिल, च्यापकटर जस्ता कृषि सामग्री वडामार्फत किसानलाई उपलब्ध गराएको नगर प्रमुख अशोक कुमार शाहीले बताए । कृषिमा यान्त्रिकरणको प्रयोग गरी श्रम र लागत घटाई उत्पादन बढाउन कृषि सामग्री वितरण गर्ने गरिएको प्रमुख शाहीले बताए ।

 

प्रकाशित मिति: बिहीबार, भदौ ३, २०७८  १०:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update