Shittalpati
मुसिकोटका युवा उद्यमीलाई सहुलियतपूर्ण कर्जा

गुल्मी,  जिल्लाको मुसिकोट नगरपालिकाले युवा उद्यमीहरुलाई सहुलियतपूर्ण कर्जा प्रदान गरेको छ । नगर सरकारले व्यवसायिक रुपमा लागेका युवाहरुलाई थप प्रोत्साहन गर्न सहुलियतपूर्ण कर्जा उपलब्ध गराएको हो ।

नगरभित्र व्यवसायिक रुपमा उद्यम गर्दै आएका चार जना युवा उद्यमीहरुलाई नगरपालिकाले एक औपचारिक कार्यक्रमका बिच सहुलियत कर्जा दिएको छ । नगरपालिकाले वडा नं. २ का उद्यमी यम बहादुर बोहोरा,वडा नं. ३ का उद्यमी केशव रिजाल, वडा नं. ७ का उद्यमी कृष्ण प्रशाद काफ्ले, वडा नं. का उद्यमी सरस्वती विकलाई प्रति व्यक्ति १/१ लाखको दरले विना ब्याजमा दुई बर्ष भित्र साँवा फिर्ता गर्ने गरि कर्जा रकम हस्तान्तरण गरेको हो ।

कर्जा हस्तान्तरण गर्दै नगरप्रमुख सोमनाथ सापकोटाले उद्यम गरिरहेका र गर्न चाहनेहरुका लागि प्रोत्साहन गर्ने उद्देश्यले सहुलियतपूर्ण कर्जा दिने गरिएको बताए । उनले कर्जा लिएका उद्यमीहरुलाई त्यसको सही सदुपयोग गरी उद्यमलाई थप विस्तार गर्न आग्रह गरे ।

नगरप्रमुख सापकोटाले कृषि,पशुपालन,युवा उद्यमीलाई रोजगारी सिर्जना गर्ने खालका कार्यक्रममा नगर सरकारले प्राथमिकताका साथ लगानी गर्दै आएको बताए ।

कार्यक्रममा उपप्रमुख कमला शर्माले यो कार्यक्रमले आर्थिक समृद्धि हासिल गर्न महत्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्त गरिन । प्रमुख प्रशाशकीय अधिकृत खिमानन्द भुषालले सहुलियतपूर्ण कर्जाले कृषकहरुबाट उद्यमशिलता विकासको अपेक्षा गरिएकाले नगरपालिकाको आर्थिक विकासमा ठूलो भूमिका रहने बताए । कार्यक्रममा पशु शाखा प्रमुख महेन्द्र पन्थी, कृषि अधिकृत जनक पौडेल, नेपाल पत्रकार महासंघ गुल्मीका कोषाध्यक्ष कौरव खत्री, मुसिकोट नगरपालिका सहकारी शाखाका महेन्द्र घिमिरे, उज्यालो बहुउद्देश्यीय सहकारी संस्था लि.का भरत भण्डारी, सन्तोष कुवंर क्षेत्री लगायतको सहभागिता रहेको थियो । वित्तीय सेवा प्रदायक संस्था उज्यालो बहुउद्देश्यी सहकारी संस्था लि.गुल्मीका अध्यक्ष राजेन्द्रविक्रम कुँवरको अध्यक्षता, सहकारी संस्था लि.का व्यवस्थापक प्रकाश चालिसेको सञ्चालनमा कार्यक्रम भएको थियो ।

प्रकाशित मिति: सोमबार, साउन १८, २०७८  १३:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update