Shittalpati
अनुदानमा परनिर्भरता रोक्न उद्यमीबीच प्रतिष्पर्धा

गुल्मी, गुल्मीको मुसिकोट नगरपालिका –१ की दुर्गा थापालाई जिविकोपार्जनका लागि श्रीमानलाई विदेश नै पठाउनुपर्छ भन्ने कहिले लागेन । बरु श्रीमानले विदेश जाने मनशाय बनाउँदा पनि उनले कयौँपल्ट रोकिन् । स्वदेशमै केही गरेर परिवारसगैं रमाउने उनको सपना तब पुरा भयो जब थापा दम्पती कृषि पेशामा लागे । बजार, प्राविधिक र सामाजिक कठिनाईका कारण उनीहरुले आफ्नो जन्मथलो छाडेर वडा नं ७ वामीटक्सारमा भाडामा जमिन लिएर कृषि व्यवसाय सुरु गरे ।

यिनै दम्पतीले गरेको कृषि कर्म र उद्यम मुसिकोट नगरपालिकाको उत्कृष्ट २ उद्यमी अन्तर्गत छनौट हुन सफल भयो । आफुले राखेको सोँच र कृषि कर्म प्रतिको सम्मान देखेर दुर्गालाई निकै खुसी लागेको छ । समाजमा कृषि गर्नेहरु प्रतिको दृष्टिकोण बदल्न र नयाँ पुस्तालाई कृषिमा आकर्षण गर्न यस्ता कार्यक्रमले महत्व राख्ने उनको बुझाई छ ।

कुनै बेला खाडीमा १८ घण्टा काम गरेर समेत सन्तुष्ट हुन नसकेका मुसिकोट नगरपालिका वडा नं १ कै देव घर्ती हिँजो आज खुसी छन् । झण्डै ६ वर्ष खाडि मुलुकमा बिताएका उनलाई त्यहाँ गरेको काम र पारिश्रमिक खासै चित्त बुझेन् । त्यहाँ गर्ने परिश्रम स्वदेशमै लगानी गर्ने सोँच उनमा आयो । विदेशको जागिर चट्क्कै छाडेर उनी गाउँ फर्किए । तर विदेशको सीप र श्रम नेपालमा उपयोग गर्न उनीसगं प्रसस्त लगानी थिएन् । सानो लगानीबाट आफुसगं रहेको सीप खर्चेरे २०७४ सालबाट घर्तीले कृषि उद्यम सुरु गरे ।

पछि व्यवसाय विस्तार गर्दै कुखुरा पालन,माछापालन,तरकारी खेती हुँदै उनले फ्रेस हाउस र रेष्टुरेण्ट सम्म गर्न भ्याए । आफैले आर्जन गरेको व्यवहारिक सीप,अनुभव र अनुमानका आधारमा गरेको कृषिले उनलाई सफल पनि बनायो । यसैक्रममा उनले मुसिकोट नगरपालिका र दायित्वको सहकार्यमा सञ्चालित नगरप्रमुख दायित्व ग्रामिण उद्यम द्रुतीकरण कार्यक्रम मार्फत उद्यमीहरुको खोजि भईरहेको थाहा पाएपछि उक्त कार्यक्रममा सहभागी भए । दायित्वमा आबद्ध भएपछि उनले सीप, दक्षता, नेतृत्व, व्यवसायिक योजना,जोखिम लगानी लगायतका विषयमा थुप्रै कुरा सिक्ने अवसर पाए । त्यही आत्मबलले घर्तीले अब अहिले गरेको भन्दा दोब्बर लगानी र व्यवसाय विस्तार गर्ने सोँच बनाएका छन् । उनी पनि मुसिकोटका उत्कृष्ट २ उद्यमीबाट पुरस्कृत भएका छन् ।

नगरपालिका र दायित्व मार्फत सञ्चालित कार्यक्रमले आफु जस्ता ग्रामीण क्षेत्रका कृषकहरुको मनोबल, ज्ञान बढाउने, बाटो देखाउने र जोखिम मोल्न सिकाएको उनको भनाई छ । “हामीले गरेको कृषि केवल अरुको देखासिकी मात्रै हो,सफल कृषक उद्यमी बन्नका लागि साँच्चिकै हामीले जान्नुपर्ने कुरा धेरै रहेछन्, ती सबैकुरा सिक्ने अवसर दायित्व मार्फत मिल्यो” घर्ती भन्छन्, “यस्ता अझै थुप्रै कार्यक्रम स्थानीय तहले सञ्चालन गर्नुपर्छ तबमात्रै युवा जनशक्ति विदेश पलायन हुने क्रम रोकिनेछ र उद्यमशील राष्ट्र निर्माणको परिकल्पना साकार हुनेछ ।”

गुल्मीको मुसिकोट नगरपालिकाले दायित्वसंस्था संगको सहकार्यमा नगरप्रमुख दायित्व ग्रामिण उद्यम द्रुतीकरण कार्यक्रमको साझेदारीमा नगरपालिका भित्र रहेका १ सय २५ उद्यमी छनौट गरी उत्कृष्ट ४०, उत्कृष्ट २०, उत्कृष्ट १० हुँदै उत्कृष्ट २ उद्यमी घोषणा गरेको छ । कृषक र उद्यमीहरुका बीचको प्रतिष्प्रधा गराई मुसिकोट नगरपालिकाले नौँलो र परिणाममुखी काम गरेको छ । कार्यक्रम मार्फत उत्कृष्ट २ जना जनही १/१ लाख र उत्कृष्ट १० जना जनही ५०/५० हजार सहित पुरस्कृत भएका छन् ।

दायित्वको सहकार्यमा हाल देशका ९ वटा जिल्लाका ९ स्थानीय तहमा यो कार्यक्रम सञ्चालन भईरहेको छ । ग्रामीण क्षेत्रमा उद्यम गरिरहेका कृषकहरुको सीप, सोँच र अनुभवलाई प्रोत्साहन गरी भनसुन र पहुँचवालाहरुलाई मात्रै अनुदान दिने परम्परालाई निरुत्साहित गर्न प्रतियोगीता मार्फत उत्कृष्ट उद्यमी छनौट गरिएको दायित्वका लुम्बिनी प्रदेश सयोंजक कमल थापाले बताए । “यस कार्यक्रमले अनुदानकै लागि कृषि गर्ने र भनुसुनकै आधारमा उद्यमी बन्न चाहानेहरुका लागि चुनौती भएको उनको भनाई छ ।” यसले उद्यमी र स्थानीय सरकार प्रति एकअर्का प्रतिको विश्वास बढाउने र दायित्वबोध गराउने थापाले बताए ।

मुसिकोट नगरपालिकाका प्रमुख प्रशाशकीय अधिकृत खिमानन्द भुषालले कृषकहरुबीच प्रतियोगीता गराई उत्कृष्ट उद्यमी छनौट गर्ने गरी दायित्वसगं गरिएको सहकार्य साँच्चिकै नौलो र नमुना अभ्यास भएको बताए । यो कार्यक्रमले उद्यमीहरुमा आत्मबल बढाउनुका साथै अनुदानमा निर्भर रहने परम्पराको अन्त्य गर्दै वास्तविक उद्यमीहरुको पहिचान र प्रोत्साहन मिलेको उनको भनाई छ ।

कृषिलाई उद्योग सगं जोड्दै अनुदानमा आधारित नभई प्रतिष्प्रधामा आधारित कार्यक्रम अगाडी बढाउने योजनाका साथ दायित्वसगं सहकार्य गरेर मुसिकोटका उत्कृष्ट व्यवसायीहरुको छनोट गरी प्रतियोगीता चलाईएको मुसिकोट नगरपालिकाका नगरप्रमुख सोमनाथ सापकोटाले बताए । “अनुदानमा आधारित कार्यक्रमले उद्यमीलाई केवल अनुदान केन्द्रीत योजना बनाउने मात्रै देखियो सापकोटाले भने, तर प्रतिष्प्रधाको माध्यमबाट आएका उद्यमीहरु स्वावलम्बन, सीप र दक्षतासगैं आर्थिक पक्ष व्यवस्थापनका पाटोमा पनि धेरै कुरा सिक्नुभएको छ ।” समृद्ध मुसिकोट निर्माणका लागि कृषि क्षेत्र नै प्रमुख प्राथमिकता रहेको भन्दै यो कार्यक्रम निकै महत्वकाक्षीं रहेको उहाँको भनाई छ । जिल्लामै यो नमुना अभ्यास भएकाले उद्यमीहरुको चेतना र सोँचमै परिवर्तन आएको सापकोटाले बताए ।

गुल्मीको मुसिकोट नगरपालिकाले अनुदानमा परनिर्भरता रोक्न पालिका भित्र रहेका कृषि उद्यमीहरुबीच प्रतियोगीता सञ्चालन गरी उत्कृष्ट उद्यमी घोषणा गरी पुरस्कृत गरेको छ । जिल्लामा पहिलो पल्ट नयाँ अभ्यास र नयाँ अनुभव सहित थालेको यो प्रतिष्प्रधाले कृषकहरुमा सोप, क्षमता र दक्षता वृद्धि गर्नुका साथै अनुदानकै लागि व्यवसाय गर्नेहरुलाई निरुत्साहित गर्ने सोँच राखेको छ । –कौरव खत्री

प्रकाशित मिति: शुक्रबार, साउन १५, २०७८  १४:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update