Shittalpati
गुल्मीदरबारमा उत्कृष्ट कृषकलाई सम्मानसँगै कृषि सामग्री

गुल्मी, जिल्लाको गुल्मीदरवार गाउँपालिका १ र २ का उत्कृष्ट कृषकलाई सम्मानसँगै कृषि सामग्री वितरण गरिएको छ । शिवशंकर स्मार्ट कृषि गाउँ खाद्यन्नबाली कार्यक्रम उपभोक्ता समूहले यहाँका उत्कृष्ट कृषकहरुका लागि एक औपचारिक कार्यक्रमका बिच कृषि सामग्री वितरणसँगै सम्मान गरेको हो ।

लुम्बिनी प्रदेश सरकारबाट आर्थिक वर्ष २०७७/०७८ मा विनियोजित स्मार्ट स्वीकृत कार्यक्रम अनुसार कृषकहरुलाई सम्मानसहित कृषि सामग्री वितरण गरिएको उपभोक्ता समूहले जनाएको छ । उसले कोरोना महामारीका कारण कृषकहरुलाई भौतिक रुपमा उपस्थित नगराई उपसमितिमार्फत कृषि सामग्रीसँगै दुई जना उत्कृष्ट कृषकहरुलाई उपसमितिमार्फत सम्मान गरेको हो । सम्मानित कृषकहरुले नगद रकम पाउने उपभोक्ता समूहका सचिव सुरेश कंडेलले बताए । उनका अनुसार सम्मानित कृषकहरुलाई उपभोक्ता समूहले उपलब्ध गराएको रकम उपसमितिले दिने छ । व्यवसायिक रुपमा कृषिमा सक्रिय भएका दुई जना कृषक सम्मानित भएका हुन् ।

यस्तै उपभोक्ता समूहले १ र २ वडाका कृषकहरुका लागि मकै रोप्ने साइकल वाला मेसिन,थ्रेसर/ठूलो ट्याक्टर, मकै ड्याङ बनाउने मेसिन, बोरा, डिजिटल काटा, बोरा सिलाउने मेसिन, मकै छोडाउने मेसिन, सिडविन लगायतका कृषि सामग्री वितरण गरेको छ । उपभोक्ता समूहले उक्त सामग्री कृषकहरुका लागि उपसमितिका संयोजकमार्फत वितरण गरेको हो ।

सामग्री गाउँपालिका उपाध्यक्ष मिना भण्डारी, शिवशंकर स्मार्ट कृषि गाउँ खाद्यन्नबाली कार्यक्रम उपभोक्ता समूहका अध्यक्ष दुर्गामणी गौतमले उपसमितिका संयोजकहरुलाई उक्त कृषि सामग्री हस्तान्तरण गरेका हुन् । सामग्री हस्तान्तरण गर्दै कार्यक्रमका प्रमुख अतिथि समेत रहेकी गाउँपालिका उपाध्यक्ष भण्डारीले कृषिलाई यान्त्रिकरण गर्दै व्यवसायिक कृषिमार्फत गाउँपालिकालाई आर्थिक समृद्धि बनाउनका लागि यस्ता कार्यक्रमले महत्वपूर्ण टेवा पुग्ने बताईन् । कार्यक्रममा उपभोक्ता समूहका अध्यक्ष गौतमले कृषिमा यान्त्रिकरणको प्रयोग गरी श्रम र लागत घटाई उत्पादन बढाउन कृषकलाई कृषि सामग्री वितरण गरिएको बताए ।

 

 

प्रकाशित मिति: शुक्रबार, असार १८, २०७८  १८:११
प्रतिक्रिया दिनुहोस्
Weather Update