Shittalpati
तानसेन नगर सरकारले दियो किसानलाई कृषि सामग्री

पाल्पा,जिल्लाको तानसेन नगर सरकारले ग्रामीण क्षेत्रका किसानलाई अनुदानमा कृषि सामग्री दिएको छ । नगर सरकारले कृषिलाई यान्त्रिकरण गर्दै व्यवसायिक कृषिमार्फत नगरलाई आर्थिक समृद्धि बनाउनका लागि किसानलाई अनुदानमा आवश्यक कृषि सामग्री दिएको हो ।

नगरपालिकाका प्रेस सल्लाहकार गोविन्द भट्टराईका अनुसार नगरप्रमुख अशोककुमार शाही र उपप्रमुख लक्ष्मीदेवी पाठकले ५० प्रतिशत अनुदानमा किसानलाई हाते टेक्टर, कम्बाइन मिल, च्यापकटर गरी ६१ थान कृषि सामग्री वडामार्फत किसानलाई उपलब्ध गराएका हुन् ।

सामग्री वितरण गर्दै नगरप्रमुख शाहीले कृषिमा यान्त्रिकरणको प्रयोग गरी श्रम र लागत घटाई उत्पादन बढाउन कृषि सामग्री वितरण गरिएको बताए । उनले समय र कृषकको मागअनुसार आधुनिक प्रविधिका कृषि औजारहरु आगामी दिनहरुमा थप किसानलाई उपलब्ध गराउने बताएका छन् । ‘आधुनिक प्रविधिमार्फत समयको बचत हुनुको साथै उत्पादनमा पनि वृद्धि हुँदा किसानको आयस्रोतमा समेत परिवर्तन आउँछन्’ नगर प्रमुख शाहीले भने । उनले किसानहरुलाई कृषि औजारको सही प्रयोग गरि कृषि उत्पादन बढाउन आग्रह समेत गरे ।

उपप्रमुख लक्ष्मीदेवी पाठकले समयअनुसार कृषि पेशालाई परिमार्जन गर्दै लैजानका लागि अनुदानमा कृषि सामग्रीले महत्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्त गरिन् । नरपालिका भित्रका ग्रामीण वडामा रहेका कृषि समूह, सहकारीमार्फत आएका निवेदनका आधारमा मिनि टिलर वितरण गरिएको सामाजिक विकास शाखा अधिकृत भरत आचार्यले बताए ।

 

प्रकाशित मिति: शुक्रबार, असार १८, २०७८  १६:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update