Shittalpati
बगनासकालीका युवा विदेशको जागिर छोडेर मौरीपालनमा

सुशिल बस्याल

पाल्पा,  धेरै पैसा कमाउन विदेश नै जानु पर्छ भन्ने सोच अहिले नेपाली जनमानसमा रहेको छ । तर पाल्पाका केही युवाहरु भने त्यो सोंच भन्दा माथि उठेर गाउँमै मौरीपालन व्यवसायमा लागेका छन् । उनीहरु परम्परागत रुपमा गरिने कृषि व्यवसायलाई परिमार्जन गर्दै व्यावसायिक मौरी पालनमा लागेका हुन् । पुरानो पद्दतिबाट गरिने कृषि व्यवसायबाट जिविकोपार्जनमा मात्रै सिमित भएपछि युवाहरु आधुनिक ज्ञान र प्रविधिको प्रयोग गर्दै व्यवसायिक रुपमा लागेका छन् ।

 

बैदेशिक रोजगारीमा तीन बर्ष बिताएका जिल्लाको बगनासकाली गाउँपालिका –८ बैलौतिखरकका २९ बर्षीय हुमराज बस्यालले अहिले मौरी पालन ब्यवसाय सुरु गरेका छन् । उनले कोरियाको जागिर छोडेर अहिले गाउँमै मौरीपालन व्यवसाय गरेका हुन् । बस्यालले अहिले १ सय वटा मौरीघार राखेर व्यवसायी गर्दै आएका छन् । उनलाई गाउँपालिकाले समेत अनुदान उपलब्ध गराएको छ । विदेशी भूमिमा बगाउने पसिना स्वदेशमै बगाउन सके यही नै प्रसस्त आम्दानी गर्न सकिने कृषक बस्याल बताउँछन् । उनी अहिले मौरी पालनाबाट मनग्य आम्दानी गर्न थालेपछि उत्साहित छन् । उनका अनुसार मौरीको लागि भदौँदेखि बैशाखसम्म राम्रै मौसमभए पनि जेठ असार र साउन बेमौसम हुने भएकाले त्यति बेला मौरीको विशेष हेरचाह गर्नुपर्छ । आफ्नै भूमिमा केहि गर्ने र बिदेश नफिर्किने अठोट लिएर स्वदेश फर्किएका बस्याललाई गाउँपालिकाले ४ लाख अनुदान दिएको छ । मौरी पकेट क्षेत्रको रुपमा काम गर्ने अवसर पालिकाले दिएपछि अहिले उनको जीवनमै परिवर्तन आएको छ । बस्यालले प्रति किलो १ हजार २ सयमा मह विक्री गर्दै आएको बताउँछन् । उनले महिनामा एक लाख भन्दा बढी आम्दानी गर्दै आएका छन् ।

यस्तै बगनासकाली –८ घिउसीवासका शंकर भट्टराई पनि वैदेशिक रोजगारी छोडेर अहिले गाउँमै मौरी पालनमा रमाएका छन् । डेढ वर्ष अघि दुवैबाट घर फर्किएका उनी गाउँमै केही गर्ने सोंचका साथ अहिले मौरी पालनमा लागेका हुन् । मारी पालनबाट मनग्य आम्दानी हुने भए पछि अहिले उनले एक सय घारबाट मह उत्पादन गर्दै आएका छन् । महबाटै मासिक एक लाख आम्दानी गर्दै आएको उनी बताउँछन् । आफुले मौरी पालनबाटै बार्षिक पन्ध्र लाख आम्दानी गर्ने लक्ष्य राखेको उनको भनाई छ ।

बगनासकाली ९ चापपानीका ओम सारु पनि विदेशबाट फर्किएर अहिले मौरी पालनमा लागेका छन् । केही वर्ष अघि कोरियाबाट फर्किएका सारु व्यवसायिक मौरी पालनामा लागेका हुन् । उनले अहिले मौरीसँगै बंगुर पनि पाल्दै आएका छन् । यहाँबाट सारुले मनग्य आम्दानी गर्न सफल भएको बताउँछन् ।

व्यवसायिक रुपमा लागेका यि तीनै जना कृषकहरुलाई गाउँपालिकाले १२ लाख अनुदान समेत दिएको छ । विदेशबाट फर्किएका युवाहरुलाई लक्षित गरी गाउँपालिकाले युवा लक्षित मौरी पालन व्यवसायमार्फत चार/चार लाख अनुदान दिएको हो । गाउँपालिकाले मौरीपालनमा सहयोग गरेपछि युवाहरु यस व्यवसायीतर्फ थप उत्साहित भएका छन् । स्थानीय सरकारको सहयोगबाट उत्प्रेरित युवाहरु विदेशको राप र तापमा गरिएको मेहनत भन्दा स्वदेशमै गरिएको मेहनत र लगानीमा बढी आम्दानी लिन सफल भएका छन् । त्यसैले युवाहरुले व्यवसायिक रुपमा मौरीपालनलाई अगाडि बढाएका हुन् ।

 

विदेशबाट फर्किएका तथा स्थानीययुवाहरुलाई आर्थिक रुपले सवल र सक्षम बनाउने उद्देश्यले गाउँपालिकाले बराङ्गदी, चापपानी, खानीछापलाई व्यवसायिक मौरीपालनको पकेट क्षेत्र नै बनाएको छ । व्यवसायिक मौरी पालनमा ५० जना भन्दा बढी युवाहरुको सहभागिता रहेको छ । मौरी पालनबाट कम लगानीमा बढी उत्पादन हुनुको साथै एक पटकको लगानी वर्षौको आम्दानी तथा सहज बजारीकरणले पनि युवा यसतर्फ आर्कर्षित भएको गाउँपालिका अध्यक्ष कृष्णप्रसाद बस्यालले बताए । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना समन्वयमा आधुनिक घारको प्रयोग गरी स्थानीय जातको मौरी पालन व्यवसायिक रुपमा अगाडि बढेको उनको भनाई छ । व्यवसायिक मौरीपालनका लागि स्थानीय सरकारको २५ लाख, प्रदेश सरकारको २५ लाख गरी ५० लाखको कार्यक्रम सञ्चालन गरिएको अध्यक्ष बस्यालले बताए ।

प्रकाशित मिति: बिहीबार, असार १७, २०७८  १५:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update