Shittalpati
गाई संरक्षणका लागि पाल्पामै पहिलो गौशाला

इमान सिं राना
पाल्पा (रामपुर), गाई नेपालको राष्ट्रिय जनावर । हिन्दु धर्म अनुसार गौमाता र लक्ष्मीको प्रतिकको रुपमा लिईने गरिन्छ । हिन्दु संस्कार र आयुर्वेदमा गाईको गोबर, गौउत र दुध औषधी तथा नभई नहुने पवित्र वस्तु हुन् । तर तिनै राष्ट्रिय जनावर पछिल्लो समय हेलामा पर्दै गएका छन् । बजार क्षेत्रमा मात्र नभई गाउँटोलमा पाईने छाडागाईहरुले यहि संकेत गरेको देखिन्छ । पाल्पाको रामपुर नगरपालिकाले भने छाडा गाईहरुको व्यवस्थापनका लागि जिल्लामै पहिलो गौशाला निर्माण गरी सञ्चालनमा ल्याएको छ । केही वर्षदेखि नगरको वडा ६ तथा अन्य चौरहरुमा छाडा गाई बढ्न थालेपछि किसानले पाएको सास्ती र कुटाईबाट गाईले पाएको दुःखलाई नगरले गौशाला सञ्चालनमा ल्याएको हो । किसानहरु गाईले बाली खाईदिएपछि चिन्तित बनेका थिए । विशेषगरी रामपुर ६ को विजयपुर, गैटार, तालपोखरा, सातविसे, गैटार, प्याकलुक क्षेत्रमा छाडागाईले सताउने गरेका थिए ।

त्यति मात्र होइन लक्ष्मीको प्रतिकका रुपमा रहेको गाईलाई चोट लाग्ने समस्या देखिएको थियो । गत साउन अघि स्थानीयहरुले आफ्नै पहलमा हेरचाह गर्दै आएका थिए । साउन पश्चात अस्थाई टहरामा निर्माण गरी वडा कार्यालय परिसरमा २ जना हेरालु राखेर व्यवस्थापन गर्दै आएको थियो । रामपुर ६ को तातोपानी धाममा १५ रोपनी कम्पाउण्ड संगै टहरा निर्माण सकिएपछि गौशाला सञ्चालनमा आएको हो । टहरामा शिवरात्रीको अवसरमा गाई राख्न सुरु गरिएको छ । गाईले दुःख पाइरहेको अवस्थामा नगर सरकारले गौशाला सञ्चालनमा ल्याएपछि स्थानीयहरु पनि खुशी भएका छन् । रामपुर ६ का शंकर आचार्यले गाईहरुको व्यवस्थान भएकोमा खुशी लागेको बताए । उनले भने, ‘गौशाला नहुँदा रातभरी बाली कुर्नु पर्ने बाध्यता थियो । संगै चुटाई खाएर गाईहरु पनि रक्ताम्य भएको देखिन्थ्यो ।’ स्थानीय दामोदर भण्डारीले गौमाताको रक्षा गर्न नगरपालिकाले देखाएको सक्रियताको प्रशंसा गरे ।

उनले गाईको फाईदा धेरै भएकाले संरक्षण गर्नु आवश्यक रहेको बताए । गौशालाको उद्घाटन गर्दै रामपुर नगरपालिकाका नगरप्रमुख रमणबहादुर थापाले हाम्रो राष्ट्रिय जनावर भएकाले गाईको संरक्षणमा सरकारले ध्यान दिनुपर्ने बताए । उनले गाई हाम्रो जन्मदेखि मृत्यु संस्कारसम्म आवश्यक पर्ने भन्दै आधुनिकताको नाममा गाईहेलामा परेकाले त्यसको व्यवस्थापनका लागि नगरपालिकाले सहयोग गरेको बताए । उनले गाईको संरक्षणसंगै गाईको व्यवस्थापनका लागि अन्य संस्थाहरुसँग सहकार्य गर्दै अघि बढ्ने बताए । उनले भने, ‘गाईको गौउत, गोबर तथा दूध पवित्र छ । पतञ्जलीसँग पनि सहकार्य भैरहेको छ । गौशालाको उचित व्यवस्थान नहुँदासम्म नगरपालिकाले आवश्यक सहयोग गर्नेछ ।’ रामपुर नगरपालिकाका उपप्रमुख विष्णुदेवी घिमिरे आचार्यले गाई लक्ष्मीको प्रतिकको रुपमा रहेकाले आ–आफ्नो घरमा भएका गाईहरुको संरक्षण गर्न अनुरोध गरिन् ।

गाई लक्ष्मीको प्रतिक भएकाले लक्ष्मी बिना सृष्टि अधुरो हुने उनले बताइन् । रामपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत बाबुराम अर्यालले स्थानीयहरुको सक्रियता देखेर नै नगरपालिकाले बजेट विनियोजन गर्दै आएको बताए । नगरको गौरवसँग जोडिएकाले गाईको व्यवस्थापनका लागि आवश्यक कार्यविधि बनाएर अघि बढ्ने अर्यालले बताए । रामपुर नगरपालिका ६ का वडा अध्यक्ष एवं नगर गौशाला समितिका संयोजक हुमनाथ न्यौपानेले गाईहरुको कष्ट र किसानमा परेको समस्याको कारण बाध्यभएर गौशाला स्थापना गर्नु परेको बताए । उनले अनुमती विना कसैले गाई छाडेमा जरिवाना गरिने बताए । साथै न्यौपानेले गौशालाको दिगोपनको लागि यज्ञ सञ्चालन गर्न लागिएको र गाईको संरक्षणका लागि सहभागी हुन आग्रह गरे ।

गौशाला निर्माण समितिका अध्यक्ष घनश्याम खनालले गत वर्षको नगरपालिकाको २० लाख बजेटले कम्पाउण्ड गरिएको र यस वर्षको २० लाख मध्ये निर्माणको लागि छुट्याईएको १५ लाखले टहरा निर्माणको काम भएको र ५ लाख व्यवस्थापनका लागि छुट्याईएको बताए । गौशालामा हाल १ सय बढी गाईहरु रहेका छन् । गाईलाई गौशालासम्म लैजना रामपुर क्षेत्रका राजनैतिक दल, बुद्धिजिवी, एवं श्राद्धालु भक्तजनहरुको सहभागिता रहेको थियो । साथै शिवसेना नेपालका स्वयमसेवकहरुले गाईलाई अस्थाई टहराबाट गौशालासम्म लैजान सहयोग गरेका थिए । उद्घाटन कार्यक्रमको सञ्चालन वडा सचिव बासुदेव ढकालले गरेका थिए ।

प्रकाशित मिति: आइतबार, फागुन ११, २०७६  १०:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update