Shittalpati
तम्घासका युवाहरू व्यावसायिक च्याउखेतीमा

तम्घास,गुल्मीको रेसुङ्गा नगरपालिका–९ का बाबुराम पाण्डेयले विगत १० वर्षदेखि तम्घासमा व्यावसायिक च्याउखेती गर्दै आएका छन् । उ तम्घासमा च्याउखेतीको व्यावसायिक उत्पादन गर्ने पहिलो व्यक्ति हुन् । पाण्डेयले अहिले व्यासायिकरूपमा च्याउ उत्पादन र बजारीकरणको काम गर्दै आएका छन् । पाण्डेयले रेसुङ्गा–९ उपल्लो तम्घासमा रेसुङ्गा च्याउ उद्योगमार्फत २० लाखको लगानी गरेर च्याउखेती गरेका छन् । अहिले पाण्डेयको फार्ममा च्याउ टिप्ने चटारो छ तर बजार अभावमा दैनिक सरदर तीन क्विन्टल उत्पादन हुने च्याउको व्यवस्थापन गर्न पाण्डेयलाई मुस्किल परिरहेको छ । बजारको निकै समस्या छ, उत्पादन गरेपनि सोचेजस्तो बिक्री भएको छैन, पाण्डेयले भने, ‘मोटरसाइकल खोजेर घर–घरमा पुर्‍याउनुपर्छ ।’ बजारीकरणको समस्याकै बीच स्थानीय युवाहरुमा व्यावसायिक च्याउखेतीप्रतिको आकर्षण भने घटेको छैन ।

पाण्डेयले रेसुङ्गा–८ का रुपकलाल श्रेष्ठसँग पुष्पाञ्जली एग्रोफार्ममार्फत संयुक्तरूपमा छुट्टै च्याउखेती पनि गर्दै आएका छन् । दुवै फार्ममा अस्थायी र नियमित गरेर १५ जनाले रोजगारी पाएका छन् । अहिले फार्ममा च्याउको बीउ राख्ने र बजारीकरणको काम भइरहेको छ । संयुक्त फार्मबाट वार्षिक २० देखि २५ लाखसम्म च्याउको कारोवार भइरहेको छ । यस वर्षदेखि पाण्डेय र श्रेष्ठले करिब ३५ लाख लगानीमा सिताके च्याउको नयाँ व्यावसायिक उत्पादन शुरु गरेका छन् । उनीहरुले छुट्टै ब्लकमा गत वर्षदेखि कन्या च्याउको उत्पादन पनि गरिरहेका छन् । अहिले नयाँ जात र बजार मागका आधारमा तीन हजार ५ सय मुढामा सिताके च्याउ उत्पादन थालेका छन् । अहिले नयाँ ब्लकमा सिताके जातको च्याउ राख्ने काम गरिरहेको र अबको छ महिनापछिबाट उत्पादन दिन शुरु गर्ने श्रेष्ठको भनाइ छ ।

त्यसका साथै अहिले गरिरहेको व्यवसायलाई थप आधुनिकीकरणतर्फ लैजाने पनि श्रेष्ठले बताए । पछिल्लो समय जिल्लामा कृषिको क्षेत्रमा थुप्रै स्थानीय तहले नयाँ–नयाँ कार्यक्रम सञ्चालन गरेका छन् । त्यसैले पनि कृषिकर्ममा लाग्ने युवाको संख्या बढ्दै गएको छ भने उत्पादन पनि सोहीअनुसार भइरहेको छ । यद्यपि च्याउ किसानलाई बजारीकरणको मात्रै पिरलो छैन, सरकारले प्रदान गर्ने बेमौसमी अनुदानले पनि समस्या पुर्‍याएको छ । ‘पहिलो कुरा त राज्यले अनुदान नै दिँदैन’, पाण्डेयले भने, ‘दिए पनि च्याउको बेमौसम जेठ–असारमा दिन्छ, तर त्यो कीरा लाग्ने समय हो । ‘उनले राज्यका तर्फबाट च्याउखेतीका सम्बन्धमा ठोस नीति आए आफूहरुलाई थप उत्साह हुने बताए । अहिले कन्या च्याउको प्रतिकिलो बजार मूल्य ३ सय र सिताके च्याउको मूल्य छ देखि सात सयसम्म छ । तर बजार ग्यारेण्टी नभएका कारण बिक्री नहुँदा कम मूल्यमा दिनुपर्ने बाध्यतामा च्याउ किसान छन् ।च्याउ किसानको लागतका आधारमा रेसुङ्गा नगरपालिकाले मूल्य नदिँदा उनीहरुको च्याउ नगरपालिकाले सञ्चालन गरेको हाटबजारमा बिक्री हुनसकेको छैन । नगरपालिकाले कृषकको सबै उत्पादनको बजारीकरणका लागि गत वर्षदेखि कृषि हाटबजार सञ्चालनमा ल्याएको छ भने उत्पादनमा आधारित अनुदानको व्यवस्था पनि भइरहेको छ । नगरले नेपाल सरकारकै नीतिअनुसार च्याउका कार्यक्रम सञ्चालन गरिरहेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनीले जानकारी दिए । –रासस

प्रकाशित मिति: शुक्रबार, चैत १३, २०७७  ११:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update