Shittalpati
लुम्बिनी प्रदेशमा प्रधानमन्त्री कृषि परियोजना , आठ महिनामा २५ प्रतिशत आर्थिक प्रगति

पाल्पा, सरकारले कृषिमा आधारित अर्थतन्त्रबाट व्यावसायिक कृषिजन्य उद्योग स्थापना गरी मुलुकलाई कृषिमा आत्मनिर्भर बनाउने उद्देश्यले सञ्चालन गरेको प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना लुम्बिनी प्रदेशमा सन्तोषजनक देखिएको छ ।वि.स.२०७३ देखि २०८२ मा सम्पन्न गर्ने गरी प्रदेशका १२ वटै जिल्लामा सञ्चालन भएको परियोजनाले दोस्रो चौमासिकमा २५.६४ प्रतिशत आर्थिक प्रगति हासिल गरेको पाइएको छ । परियोजनाको पाल्पामा भएको आर्थिक बर्ष २०७७/०७८ को दोस्रो चौमासिकको प्रगति समिक्षा गोष्ठीमा प्रस्तुत गरिएको प्रतिवेदन अनुसार आठ महिनामा २५.६४ प्रतिशत आर्थिक प्रगति हासिल गरेको पाइएको हो । परियोजनाले दोस्रो चौमासिकमा लुम्बिनी प्रदेशको पाल्पामा ८०.०८ प्रतिशत, गुल्मीमा ७१.२८ प्रतिशत, कपिलबस्तुमा ७८.६४ प्रतिशत, दाङमा ६६.८३ प्रतिशत,रुकुम पूर्वमा ५५ प्रतिशत, रुपन्देहीमा ८४.३१ प्रतिशत, अर्घाखाँचीमा ७५.९४ प्रतिशत, बाँकेमा ६६.५१ प्रतिशत,प्यूठानमा ८४.६६ प्रतिशत र बर्दियामा ९४.४४ प्रतिशत भारित प्रगति गरेको जनाइएको छ । किसानहरुसँंग सम्झौता भई निर्माणका कामहरु भइरहेको तर भुक्तानी दिन बाँकी रहेकाले आर्थिक प्रगति केही कम देखिएको परियोजना प्रदेश समन्वय इकाई रुपन्देहीका प्रमुख बरिष्ठ कृषि अधिकृत राम प्रसाद पाण्डेले बताए ।

परियोजना प्रदेश समन्वय इकाई रुपन्देहीको आयोजनमा भएको गोष्ठीमा लुम्बिनी प्रदेशका ६० हजार ४ सय ४३ घरधुरीको आयआर्जन वृद्धिमा यो परियोजनाले महत्वपूर्ण टेवा पुर्‍याउदै आएको जनाइएको छ । यहाँ धान, मकै, गहुँ, माछा, तरकारी, सुन्तलाजात फलफुल, मौरी, तोरी, ओखर र कफी बालीको व्यवसायिकरणमा परियोजनामार्फत जोड दिइएको छ । परियोजनाले कृषि उपजहरुको विशिष्टिकृत क्षेत्रहरुको निर्माण गर्ने, निर्यातयोग्य कृषि वस्तुहरुको मुल्य अभिवृद्धि गर्दै प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्ने, कृषिलाई सम्मानजनक नाफामुखी व्यवसायका रुपमा विकास गर्दै रोजगारीका अवसर सिर्जना गर्ने दिशामा टेवा पुर्‍याउदै आएको गोष्ठीमा सहभागीहरुले बताएका छन् । परियोजनाको सुपर जोनमा १ हजार हेक्टर भन्दा बढी क्षेत्रफल र जोनमा ५ सय हेक्टर भन्दा बढी क्षेत्रफल हुनुपर्दछ । प्रदेश भित्र १६ हजार ४ सय १९ हेक्टर क्षेत्रफल परियोजनाले ओगटेको छ । ५ वटा सुपर जोन र १४ वटा जोनमार्फत प्रदेशमा रहेका १० वटा कार्यालयहरुले बीजबृद्धि, चक्लाबन्दी, क्षेत्र विस्तार, कृषि पूर्वाधार निर्माण र प्राविधिक शिक्षालयसँग सहकार्य गरी यि क्षेत्रमा काम गर्दै आइएको परियोजना कार्यान्वयन ईकाई पाल्पाका प्रमुख वरिष्ठ कृषि अधिकृत दिपक भट्टराईले बताए ।

गोष्ठीमा जिल्ला समन्वय समितिका कार्यावाहक प्रमुख मिरा मरासिनीले मुलुकलाई कृषिमा आत्मनिर्भर बनाउन परियोजनाले महत्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्त गरिन् । उनले कृषिलाई प्रविधिमैत्री, व्यावसायिक, उच्च प्रतिफलदायी एवं मर्यादित पेशाका रूपमा रूपान्तरण गरी युवालाई कृषिमा आकर्षित गर्ने दिशामा परियोजनाले ध्यान दिनुपर्नेमा जोड दिईन् । गोष्ठीमा प्रदेशका १० वटा परियोजना कार्यान्वयन ईकाइका प्रमुखहरुले कार्य प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।–पत्रकार किरण कौसलको सहयोगमा

प्रकाशित मिति: बुधबार, चैत ११, २०७७  ११:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update