Shittalpati
खुर्सानीको पकेट क्षेत्र झडेवाका कृषकलाई तालिम र बिउ

पाल्पा (माथागढी),  खुर्सानीको पकेट क्षेत्रका रुपमा रहेको पाल्पाको माथागढी गाउँपालिका ४ झडेवाका कृषकहरुलाई तालिम तथा खुर्सानीको बिउ वितरण गरिएको छ । गाँउपालिकाको एक गाँउ एक उत्पादन कार्यक्रम अन्तर्गत यहाँका कृषकहरुलाई खुर्सानी खेती सम्बन्धी तालिम र बिउ वितरण गरिएको हो ।
वडा कार्यालयको सहयोगमा १४ ओटा स्थानीय कृषक समूहलाई खुर्सानीको विउ वितरण गरिएको छ । कृषकहरुको मागका आधारमा वडाले बिउ वितरण गरेको हो । खेर गइरहेको जग्गालाई सदुपयोग गर्दै गाउँपालिका र वडा कार्यालयको सहयोगमा स्थानीय कृषक समूहमार्फत खुर्सानीको पकेट क्षेत्रको रुपमा झडेवा क्षेत्र विस्तार भएको छ । गाउँपालिकाले कृषि क्षेत्रबाटै जनतालाई आर्थिक समृद्धिको दिशामा अगाडि बढाउने योजना अनुरुप वडा कार्यालयले झडेवालाई खुर्सानीको पकेट क्षेत्रको रुपमा विस्तार गरेको गाउँपालिका अध्यक्ष सन्तोष थापा मगरले बताए । गत वर्षदेखि नै झेडवालाई खुर्सानीको पकेट क्षेत्रको रुपमा विकास गर्ने अठोटसँगै वडा कार्यालयले कृषकहरुलाई निःशुल्क रुपमा खुर्सानीका बिउ, मल र तालिम सहयोग गर्दै आएको छ । गाउँपालिकाले खुर्सानी खेतीका लागि आवश्यक सहयोग गर्दै आएकाले यसतर्फ कृषकहरुको आकर्षण बढ्दै गएको छ । झडेवा क्षेत्र खुर्सानी खेतीका लागि उर्वर मानिएको छ । बिउ वितरण गर्दै वडा अध्यक्ष मधु पराजुलीले बिउ र तालिमको सहि प्रयोग गरी उत्पादन बढाउन कृषकहरुलाई आग्रह गरेका छन् । खुर्सानी खेतीका लागि वडा कार्यालयले आवश्यक विउविजन, मल र प्राविधिक सहयोग समेत उपलब्ध गराउँदै आएको अध्यक्ष पराजुलीले बताए । उनले भने ‘गाउँपालिकाले कृषिबाटै समृद्धि हासिल गर्ने गरी गाउँपालिकाका वडाहरुलाई भौगोलिक भू–बनोटका आधारमा विभिन्न कृषिजन्य वस्तुको पकेट क्षेत्रका रुपमा विस्तार गर्ने योजना अनुरुप झडेवालाई खुर्सानीको पकेट क्षेत्रका रुपमा अगाडि बढाएका हौं ।’ गाँउपालिकाका प्रमुख प्रशासकिय अधिकृत राजु नेपालले गाउँपालिकाले वितरण गरेको हरेक प्रकारका कृषिका उपकरण, तथा मल बिउ र प्रविधिले अब गाउँका किसानहरुले राम्रोसंग प्रतिफलमुखि परिणाम आउने गरी उत्पादन गर्नेमा आफु विश्वस्त रहेको बताए । गाउँपालिकाका कृषि संयोजक सीता खाम्चा, वडा सचिव दिपमाया पुन लगायतले उत्पादनमा वृद्धि गर्दै आर्थिक समृद्धि हासिल गर्नुपर्नेमा जोड दिएका छन् । अहिले यस क्षेत्रका कृषकहरु खुर्सानीबाट राम्रो आम्दानी हुन थालेपछि परम्परागत रुपमा लगाउँदै आएका मकै, कोदो, धान खेती भन्दा खुर्सानी खेतीतर्फ आकर्षण भएको देखिन्छ ।

प्रकाशित मिति: सोमबार, फागुन १७, २०७७  १५:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update