Shittalpati
पाल्पामा स्ट्रावेरीको व्यवसायिक खेती गरिदै

रामचन्द्र रायमाझी
पाल्पा, पौष्टिकताका हिसाबले अत्यन्त महत्वपूर्ण मानिएको स्ट्रावेरीको पाल्पामा व्यवसायिक खेतीको सुरुवात गरिएको छ । भूइँकाफलका नाममा चिनिने स्ट्रावेरीको जिल्लाका विभिन्न स्थानीय तहमा व्यवसायिक खेती गर्न थालिएको हो । यसलाई स्थानीय भाषामा बुढी काफल पनि भन्ने गरिन्छ । जिल्लाको रिब्दीकोट, रम्भा, माथागढी लगायतका स्थानीय तहमा यसको अहिले व्यवसायिक खेती गर्न थालिएको छ ।

चालु आर्थिक वर्षदेखि कृषि ज्ञान केन्द्र पाल्पाले जिल्लाका कृषकहरुलाई विरुवा उपलब्ध गराएको थियो । नुवाकोटको ककनीबाट ९ हजार जापनिज जातको विरुवा ल्याई केन्द्रले कृषहरुलाई दिएको थियो । केन्द्रले अहिले रिब्दीकोट गाउँपालिकाको रानीठाटी, रम्भा गाउँपालिकाको हुमिन र माथागढी गाउँपालिकाको ओलेसमा यसको व्यवसायिक खेतीका लागि कृषकलाई कृषि सामग्री सहित विरुवा उपलब्ध गराएको छ । यस क्षेत्रका कृषकहरुले स्ट्रावेरीको पहिलो र दोस्रो उत्पादन लिइसकेको कृषि ज्ञान केन्द्रका प्रमुख शिव प्रसाद. अर्यालले बताए । उनका अनुसार यसबाट राम्रै उत्पादन भएकाले कृषकहरु समेत उत्साहित भएका छन् । यसले लगाएको दुई महिनादेखि नै फल दिन थाल्ने र चार महिनासम्म रहने कृषि प्राविधिकहरु बताउँछन् ।

रिब्दीकोटको रानीठाटीमा ४ रोपनी क्षेत्रफलमा त्यहाँका कृषकहरुले अहिले स्ट्रावेरी लगाएका छन् । रिब्दीकोट गाउँपालिकाको भैरवस्थानकी अम्विका गौतमले स्ट्रावेरीलाई चित्रमा मात्र देखेकी थिइन । फल कस्तो होला बोट कस्तो होला भन्ने थियो । जब आफ्नै बारीमा यसको फल लाग्न थालेपछि आफुलाई सपना जस्तो लागेको उनले आफनो अनुभव बताइन् । गौतम जस्तै महिला अगुवा कृषक पविता थापाले पनि यो फल फोटोमामात्र देखेको बताईन् । अहिले यसको खेती गरेको र उत्पादन पनि राम्रै भएको उनी बताउँछिन् । रम्भा गाउँपालिका हुमिनका महिला अगुवा कृषक कल्पना गहतराजले नयाँ खेती र नयाँ फल भएकाले यसको माग अत्याधिक हुने गरेको बताईन् । एक पटक लगाए पछि त्यही बोटबाट बिरुवा बनाउन सकिने बहुवर्षिय फल भएकाले पनि निकै सजिलो भएको उनको भनाई छ । पहिलो पटक कृषि समुहबाट सुरु भएको खेतीको बिस्तार गाउँमा गरिने उनले बताइन् । कृषकहरुलाई कृषि ज्ञान केन्द्रले बिरुवा, प्राविधि ज्ञान, आवश्यक मलखाद जस्ता सामग्रीको सहयोग गर्दै आएको जनाएको छ । जसले गर्दा पनि कृषकहरु उत्साहित देखिएका छन् । सामुद्रिक सतहबाट १५०० देखि २५०० मी. सम्मको उचाई, ४ देखि २५ डिग्री सेल्सियस सम्मको तापक्रम, दोमट बलौटे प्रकारको माटो, बार्षिक ३००० देखि ४००० मि.ली. वर्षा हुने क्षेत्र विशेष गरी पूर्वी तथा उत्तरपूर्वी मोहडा भएको क्षेत्रमा यसको खेती गर्न सकिने कृषि प्राविधिकहरु बताउँछन् ।

उत्पादित वस्तु प्रतिकेजी ५ सय देखि ६ सय रुपैंयासम्म बजारमा बिक्री हुने भएकाले यसको व्यवसायिक खेती गर्न थालिएको कृषि ज्ञान केन्द्रले जनाएको छ । यो फल पिसाबसम्बन्धी रोग भएका बिरामीका लागि उपयोगी मानिन्छ । हिउँदमा फस्टाउने स्ट्रबेरीको वृद्धि विकासका लागि २२ देखि २५ डिग्री सेल्सियस दिनको र ७ देखि १३ डिग्री सेल्सियस रातको तापक्रम सबैभन्दा राम्रो मानिन्छ । ठाउँ र जात अनुसार स्ट्रबेरीका बिरुवा हुर्कन सक्ने जनाइएको छ  । फूल फूलेको करीब ३० देखि ४५ दिनभित्र फलको विकास हुन्छ र त्यसको १५ देखि २० दिनपछि फल टिप्नलायक हुन्छ । यस फलमा एन्टिअक्सिडेन्ट, भिटामिन सी, प्रोटिन र खनिजलगायतका तत्व पाइने गर्दछ ।

प्रकाशित मिति: शुक्रबार, फागुन १४, २०७७  ११:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update