Shittalpati
पाल्पामा दूधको मूल्य प्रतिलिटर १४ रुपैयाँले बढ्यो

पाल्पा, जिल्लामा दूधको मूल्य प्रतिलिटर १४ रुपैयाँले वृद्धि भएको छ । जिल्ला दुग्ध उत्पादक सहकारी संघ पाल्पा र नेपाल डेरी एसोसिएसन पाल्पाको गत माघ २७ गते बसेको बैंठकले फागुन १ गतेदेखि लागुहुने गरी दुधको मूल्य बढाएको हो ।

यसअघि दुधको मूल्य रु ८६ प्रतिलिटर खुद्रा मूल्य रहेकामा मूल्यवृद्धि भएसँगै प्रतिलिटर रु १०० पर्ने भएको छ । किसानको मागलाई ध्यानमा राखी दूधमा मूल्य वृद्धि गरिएको नेपाल डेरी एसोसिएसनका अध्यक्ष टीकाराम खरालले बताए । वर्तमान समयमा पशु आहार तथा पशुपालन व्यवसायमा संलग्न सामग्रीको मूल्यमा भएको वृद्धिका कारण दूध तथा दूधजन्य पदार्थको मूल्यमा वृद्धि गरिएको खरालको भनाई छ । संघले दूधको मूल्य वृद्धिसँगै दुग्धजन्य पदार्थको समेत मूल्य समायोजन गरेको छ ।

शनिबारदेखि लागू हुने गरी भैसीको दूध प्रतिलिटर १००,गाईको ७६, दही प्रति किलो १२०, पनिर प्रतिकिलो ६८०, भैसीको घ्यू प्रतिकिलो एक हजार २ सय, गाईको ध्यू प्रतिकिलो एक हजार ५०, नौनी प्रतिकिलो ८ सय, क्रिम प्रतिकिलो ७ सय, खुवा प्रतिकेजी ८ सय , छुर्पी प्रतिकिलो एक हजार एक सय,कुल्फी सानो २० रुपैया, कुल्फी ठूलो ४०, दही मिठा प्रतिकिलो एक सय ५०, दहि कप प्रति पिस २५/५० , दहि फेमिली प्रतिकिलो एक सय ७० कायम गरिएको छ । संघले किसानलाई मर्का पर्ने अवस्था आएपछि लामो समयपछि दूध तथा दूधजन्य पदार्थको मूल्यवृद्धि गर्नु परेको भने पनि एकैपटक दूध प्रतिलिटर रु १४ मूल्यवृद्धि गर्दा समस्या हुने उपभोक्ताले गुनासो गरेका छन् । अहिलेको मूल्य वृद्धिले उपभोक्ता मात्र नभई किसान समेत बढी मारमा परेको खुद्रा व्यवसायीहरु बताउँछन् ।

प्रकाशित मिति: शनिबार, फागुन १, २०७७  १८:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update