Shittalpati
कुरिलो खेती विस्तार गर्दै रैनादेवी छहरा

भुवन रायमाझी
पाल्पा (छहरा), जिल्लाको पश्चिम भेगमा रहेको रैनादेवी छहरा गाउँपालिकाले कुरिलो खेती विस्तार गर्ने साेंच अगाडि बढाएको छ । गाउँपालिकाले कुरिलो खेती गर्ने किसानहरुलाई मध्यनजर राखेर गाउँपालिका भित्रका ४० बढी कृषकहरुलाई यो खेती सम्बन्धी तालिम दिएर ब्यावसायिक कुरिलो खेतीबाट गाउँपालिकालाई आर्थिक रुपमा सबल बनाउने योजना रहेको गाउँपालिका अध्यक्ष रामबहादुर कार्कीले बताए । कुरिलो एक औषधिजन्य वनस्पति हो । यो नेपालका सबै जसो भू–भागमा पाईने बहुबर्षीय लहरा युक्त वनस्पति भएको हुँदा सबै खाले हावा पानीमा यो खेती गर्न सकिने गाउँपालिकाका प्रमुख प्रसासकीय अधिकृत खेतबहादुर खत्रीले बताए ।

गाउँपालिकाले किसानहरुलाई कुरिलो खेतीको महत्व, बिउ उत्पादन गर्ने, विधिका विषयमा एक दिने प्रशिक्षण कार्यक्रम गरेको छ । कुरिलो खेतीका बारेमा जानकारी दिन पाल्पाबाट कुरिलो खेती गरिरहेका जिवराज घिमिरे र लुमकला घिमिरेले यो खेती विस्तार गर्न सके पैसा कमाउन विदेश जान नपर्ने बताएका छन् । कुरिलोको जरालाई विभिन्न रोगहरुमा अत्यन्त लाभकारी औषधीको रूपमा प्रयोग गरिन्छ्र । यसको जरा सुकाएर बनाइएको चूर्ण प्रत्येक दिन दूधसँग सेवन गर्नाले स्वास्थ्यलाई राम्रो फाईदा हुने जानकार व्यक्तिहरु बताउछन् । कुरिलोको मुन्टा तरकारीको रूपमा समेत प्रयोग हुदै आएको छ ।

प्रकाशित मिति: बिहीबार, फागुन १, २०७६  १०:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update