Shittalpati
कोरोनाले सिकाएको पाठ, विदेशबाट फर्किएका युवा कृषिमा

रामचन्द्र रायमाझी
पाल्पा, विश्वभर फैलिएको कोभिड–१९ का कारण धेरैको रोजगारी गुमेको छ । परिवारको सपना पुरा गर्न विदेशी भूमिमा गएका धेरै युवाहरु जागिर नै गुमेपछि अहिले स्वदेश फर्किएका छन् । कति युवाहरुले जागिर गुमाई बेरोजगार भएकोमा पछुताएका छन् भने कति युवाहरुले कोरोना महामारीलाई अवसरका रुपमा लिएर स्वरोजगारतर्फ उन्मुख भएका छन् । पाल्पामा सयौंको संख्यामा युवाहरु विदेशबाट आएका छन् । ति मध्ये केही युवाहरु कोरोनाबाट पाठ सिक्दै व्यवसायिक कृषिमा लागेका छन् ।

कोरोना भाइरस महामारीका कारण जापानको रोजगारी छाडेर घर फर्केका रामपुर ६ का युवा सन्तोष देवकोटालाई पुनः वैदेशिक रोजगारीमा जाने चाहना छैन । उच्च शिक्षाको अध्ययन पूरा गरी जापान पुगेका देवकोटा कोभिडका कारण गएको २ महिनामै स्वदेश फर्किए । १० लाख रुपैयाँ खर्चिएर सुनौलो भविष्यको कल्पना गरेर उनी विदेश गएका थिए । वैदेशिक रोजगारीमा जान नपरोस् भनेर उनले आएकै दिनदेखि विभिन्न अवसरको खोजी गरिरहेका थिए । अहिले उनी साथीहरुसँग मिलेर कृषि कार्यमा लागेका छन् ।
विगत सम्झदै उनले भने, ‘वैदेशिक रोजगारीमा भोगेको पीडाका कारण पुनः उतै जान नपरोस् भन्ने चाहना छ । विदेशबाट फर्किएपछि के काम गर्ने भनेर ‘रानी हराएको मौरी’ जस्तै अन्योलको अवस्थामा थिए’, उनले भने, ‘अहिले साथीहरुसँगै व्यवसायिक कृषिमा लागेको छु व्यवसाय पनि राम्रै भएको छ ।’ स्नाकोत्तर तहको अध्ययन सकेर विदेश गएका रामपुर ६ का बद्री लम्सालको पनि कथा र व्यथा उस्तै छ । उनी पनि कोभिडका कारण जागिर गुमेपछि घर फर्किएका हुन् । उनी भन्छन् ‘कोरोनाले जागिर गुमे पनि त्यसलाई अवसरका रुपमा लिएको छु, अहिले साथीहरुसँगै मिलेर व्यवसायिक कृषिमा लागेको छु ।’ लम्साल र देवकोटा मात्रै होइनन् रामपुर ६ का १० जना युवाहरु कोभिडका कारण स्वदेश फर्किएर व्यवसायिक कृषिमा लागेका छन् । विदेशबाट फर्किएका १० जना सहित स्थानीय २० जना युवाहरु मिलेर ट्वान्टी ट्वान्टी गु्रप तयार गरी कृषि व्यवसाय सुरु गरेका छन् । उनीहरुले जमिन भाडामा लिएर एक सय रोपनी क्षेत्रफलमा व्यवसायिक रुपमा उन्नत जातको आलु खेतिको सुरुवात गरेका छन् । रोजगार गुमाएर चिन्तित बनेका युवाहरुले कोरोनाबाट पाठ सिक्दै अहिले व्यवसायिक कृषिमा लागेको बताउँछन् ।
विदेशमा रोजगारी गुमाएका युवाहरुलाई लक्षित गरी स्थानीय सरकारले आर्थिक तथा प्राविधिक सहयोग गरेका कारण पनि आफुहरु व्यवसायिक कृषितर्फ लागेको उनीहरुको भनाई छ । रोजगारी गुमाएर स्वदेश फर्किएका युवाहरुलाई कृषि उद्यमी बनाउने उद्देश्यले रामपुर नगर सरकारले आलु लगाउने मेसिन र बिउमा अनुदानको व्यवस्था गरेको नगर प्रमुख रमण थापाले बताए । आयादित आलुलाई प्रतिस्थापन गर्ने उद्देश्यले वडा ६ लाई स्थानीय, प्रदेश सरकारले आलुको ब्लक बनाएको छ । आलु खेतिबाट व्यवसायिक खेतिको सुरुवात गरेको र आगामी दिनमा यसको क्षेत्रफल विस्तार गरिने युवाहरु बताउँछन् ।
एक हजार २ सय रोपनी क्षेत्रफलमा समूह, सहकारीले र ८ सय भन्दा बढी रोपनी क्षेत्रफलमा व्यक्तिगत प्रयोजनका लागि उन्नत जातको बिउको प्रयोग गरी व्यवसायिक रुपमा आलु खेती गरिएको कृषि शाखाका प्रमुख रामहरी पाण्डेले बताए । कोरोना कहरले स्वदेश फर्किन बाध्य भएका रामपुरका युवाहरु पछिल्ला महिनामा कृषिजन्य व्यवसायमा लागेर आत्मनिरर्भरको बाटोमा उन्मुख हुन थालेका छन् ।

प्रकाशित मिति: शनिबार, माघ १०, २०७७  १२:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update