Shittalpati
तिलोत्तमाका दुग्ध उत्पादक किसानलाई अनुदान

रुपन्देही । तिलोत्तमा नगरपालिकाले दूग्ध उत्पादक किसानलाई उत्पादनको आधारमा अनुदान रकम प्रदान गरेको छ । नगरपालिकाले सहकारीमार्फत दूग्ध उत्पादक किसानलाई प्रतिलिटर एक रुपैयाँका दरले अनुदान उपलब्ध गराएको हो । उत्पादनका आधारमा अनुदान दिने नीति अनुरुप यो वर्ष किसानले ४५ लाख ९८ हजार ८ सय रुपैयाँ प्राप्त गरेका छन् । अनुदानलाई साना किसानसम्म पुर्‍याउन एक आर्थिक वर्षमा सहकारीमार्फत विक्री गरेको दूधको परिमाण अनुसार अनुदान रकम प्रदान गरिएको नगरप्रमुख वासुदेव घिमिरेले बताए । सहकारीले उपलब्ध गराएको आव २०७६/७७ को लेखापरीक्षण प्रतिवेदनको आधारमा २० दूग्ध उत्पादक सहकारीमा आवद्ध तीन हजार २ सय ५५ किसानले अनुदान रकम प्राप्त गरेका छन् ।

मंगलबार दूग्ध उत्पादक सहकारीलाई प्रदान गरिएको अनुदान रकम सहकारी मार्फत किसानले प्राप्त गर्नेछन् । नगरपालिकाले अघिल्लो आवमा पनि यहीँ नीतिअनुरुप झण्डै ३७ लाख रुपैयाँ किसानलाई अनुदान उपलब्ध गराएको थियो । उत्पादनका आधारमा अनुदान दिँदा साना किसान लाभान्वित हुने भएकाले नगरपालिकाले उत्पादनका आधारमा अनुदान रकम दिने नीति लिएको नगर उपप्रमुख जगेश्वरदेवी चौधरीले बताए । यस वर्ष सबैभन्दा बढी अनुदान रकम वडा १४ स्थित गौतमबुद्ध दूध डेरी दूग्ध चिस्यान केन्द्रले प्राप्त गरेको छ । केन्द्रले ९ लाख २६ हजार ८ सय ५२ रुपैयाँ प्राप्त गरेको छ । वडा १४ कै टिकुलीगढ दूग्ध उत्पादक सहकारीले पाँच लाख २० हजार ५४ रुपैयाँ, वडा १२ को गोकुल दूग्ध उत्पादक सहकारीले चार लाख ७० हजार ५ सय २७, वडा ६ को पञ्चामृत दूग्ध उत्पादक सहकारीले चार लाख २७ हजार ५ सय ५७ रुपैयाँ प्राप्त गरेको छ ।

गत वर्षको तुलनामा यस वर्ष दूग्ध उत्पादन बढ्दा किसानले झण्डै आठ लाख रुपैयाँ बढी अनुदान रकम प्राप्त गरेका छन् । दूधमा आत्मनिर्भर तिलोत्तमामा वार्षिक एक करोड लिटर दूध उत्पादन हुने गरेकामा त्यसको झण्डै आधा दूध सहकारीमार्फत विक्री वितरण हुने भएको छ । दूग्ध उत्पादक सहकारी संघका केन्द्रीय सदस्य हरि काफ्लेले किसानको पक्षमा नगरपालिकाले गरेका काम प्रशंसनीय रहेको बताउँदै सोझै किसानको हातमा रकम जाने यो कार्यक्रम सबैका लागि अनुकरणीय रहेको बताए । संघका जिल्ला अध्यक्ष लेखनाथ पाण्डेयले तल्लो तहका किसानको गोठमा पुग्ने अनुदानले साना किसानलाई प्रोत्साहन मिलेको बताए । -रासस

प्रकाशित मिति: बिहीबार, माघ ८, २०७७  १६:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update