Shittalpati
आलुको पकेट क्षेत्र बन्दै माथागढीको चिर्तुङ्गधारा

पाल्पा । जिल्लाको माथागढी गाउँपालिकाले वडा ७ रहवासको चिर्तुङ्गधारालाई आलुको पकेट क्षेत्रको रुपमा विस्तार गर्न लागेको छ । आलुका लागि उपयुक्त क्षेत्र चिर्तुङ्गधारा रहेकाले आलुको पकेट क्षेत्र नै बनाउने गरी गाउँपालिकाले काम अगाडि बढाएको हो । अहिले यस क्षेत्रको २५ रोपनी क्षेत्रफलमा आलु लगाई सकिएको छ । गाउँपालिकाको ५० प्रतिशत अनुदानमा स्थानीय थामडाँडा कृषक समूहलाई आलु उत्पादनका लागि गाउँपालिकाले जिम्मा दिएको छ । अहिले त्यहाँ १५ क्विन्टल आलु लगाइएको छ । गाउँपालिकाले कृषिमार्फत आर्थिक समृद्धि ल्याउने योजना अनुरुप प्रत्येक वडाहरुमा कृषिको पकेट क्षेत्र निर्माण गर्ने गरी योजना अगाडि बढाएको छ । सोही अनुरुप गाउँपालिकाले वडा ७ लाई आलु पकेट क्षेत्रका रुपमा विस्तार गर्न लागेको गाउँपालिकाका अध्यक्ष सन्तोष थापा मगरले बताए । उनका अनुसार गत वर्ष गाउँपालिकाको वडा २ रुप्सेलाई आलु पकेट क्षेत्रका रुपमा घोषणा गरिसकिएको छ ।

आलु पकेट क्षेत्रका लागि गाउँपालिकाले आवश्यक मल, विउ, औषधी र प्राविधक सहयोग गरेको कृषि शाखा संयोजक सीता खाम्चाले बताइन् । गाउँपालिकाले आलु खेतीका लागि आवश्यक सहयोग गर्दै आएकाले यसतर्फ कृषकहरुको आकर्षण बढ्दै गएको संयोजक खाम्चाले जानकारी दिइन् । उनका अनुसार चिर्तु·धारामा कृषक समूहमा आवद्ध १७ घरधुरीले अहिले आलु लगाएका छन् । यस क्षेत्र आलु खेतीका लागि उर्वर मानिएकाले पकेट क्षेत्रकै रुपमा विस्तार गर्नका लागि दुई लाख रकम विनियोजन गरिएको कृषि संयोजक खाम्चाले बताइन् । उनले भनिन् ‘गाउँपालिकाले कृषिबाटै समृद्धि हासिल गर्ने गरी गाउँपालिकाका वडाहरुलाई भौगोलिक भू–बनोटका आधारमा विभिन्न कृषिजन्य वस्तुको पकेट क्षेत्रका रुपमा विस्तार गर्ने योजना अनुरुप यस क्षेत्रलाई आलुको पकेट क्षेत्रका रुपमा अगाडि बढाएका हौं ।’ व्यवसायिक कृषकहरुलाई समय–समयमा निःशुल्क प्राविधिक परीक्षण, तालिम तथा विउ वितरण गर्ने गरेको कृषि संयोजक खाम्चाले बताइन् ।

प्रकाशित मिति: आइतबार, पुस २६, २०७७  ११:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update