Shittalpati
गुल्मीमा धान उत्पादन उत्साहजनक,  दश प्रतिशतले भयो वृद्धि

रामचन्द्र रायमाझी
पाल्पा । गुल्मीमा यस वर्ष धान उत्पादन उत्साहजन देखिएको छ । समयमा धान रोपाइँ, अनुकूल मौसम, पर्याप्त सिँचाइ, रासायनिक मलको व्यवस्था, पर्याप्त जनशक्तिका कारण धान उत्पादनमा वृद्धि भएसँगै किसानहरु उत्साहित भएका छन् । कृषि ज्ञानकेन्द्र गुल्मीका अनुसार गत वर्षको तुलनामा यस वर्ष १० दशमलव १८ प्रतिशतले धान उत्पादनमा वृद्धि भएको हो । यस वर्ष ३१ हजार १ सय ७५ म्याट्रिक टन धान उत्पादन भएको छ । १० हजार ४ सय ५० क्षेत्रफलमा लगाईएको धान खेती अहिले ३ हजार १ सय ७५ अर्थात् १०.१८ प्रतिशतले वृद्धि भएको हो । गतवर्ष १० हजार ४ सय ३५ क्षेत्रफलमा धान लगाइएको थियो । जसमा २८ हजार म्याट्रिक टन उत्पादन भएको कृषि ज्ञानकेन्द्रका प्राविधिक हरिप्रसाद आचार्यले जानकारी दिए । यो गत वर्षको तुलनामा उत्पादकत्व क्षेत्रमा वृद्धि भएकाले पनि अहिले धान उत्पादन उत्साजनक देखिएको हो । कोरोना महामारीका कारण लामो समयसम्म लकडाउन भएकाले घरबाहिर रहेका नागरिकहरु घरमै भएकाले पनि जिल्लाका अधिकांस बाँझो रहेका खेतमा धान रोपाइँ भएको थियो । जसका कारण क्षेत्रफल बढेकाले पनि उत्पादनमा उत्साहजन वृद्धि भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । गतवर्ष समयमै पानी नपर्दा उत्साहजनक रुपमा धान उत्पादन हुन सकेको थिएन् ।

यस वर्ष समयमै मनसुन भएकाले पनि कृषकहरु उत्साहित भएका थिए, जस अनुसार उत्पादनको परिणाम पनि उत्साहजनक रहेको हो । गत वर्ष ५ मुरी मात्र धान भित्र्याएका इस्मा गाउँपालिका २ सामाचौरका देवबहादुर पाण्डेले यस वर्ष १५ मुरी धान भित्र्याउन सफल भएको बताए । उनले भने ‘यस वर्ष मौसमले पनि साथ दिएको र पर्याप्त सिँचाइ भएका कारण समयमै धान रोपाइँ गरिएकाले धान गत वर्ष भन्दा बढी नै भित्र्याउन सकियो ।’ मुसिकोट नगरपालिका वामीका बोमबहादुर खत्रीले पनि यस वर्ष धान उत्पादनमा वृद्धि भएको बताए । उनले यस वर्ष ५ रोपानी क्षेत्रफलमा धान लगाएका थिए । विगतमा धान मुस्किलले १०/१२ मुरीमात्र धान भिœयाउने खत्रीले यस वर्ष १८ मुरी धान भित्र्याएको बताउँछन् । यस वर्ष उत्पादन राम्रै भएकाले किसानहरु उत्साहित भएका छन् । अघिल्लो वर्ष जिल्लामा ९२ प्रतिशत रोपाइँ भएकोमा यसवर्ष ९५ प्रतिशत रोपाइँ भएको थियो । जिल्लामा धान रोप्न योग्य १० हजार हेक्टर क्षेत्रफल मध्ये ९ हजार क्षेत्रफलमा बर्खे धान उत्पादन हुने गर्दछ । एक हजार हेक्टर क्षेत्रफलमा चैते धान उत्पादन हुने गर्दछ । अहिले रामधान, खुमल चार, खुमल छ, खुमल दश, हंसराज, मकवानपुर १, खमल ८, हर्दिनाथ, आँप झोते, जडन, लामे जात लगायतका धान यहाँका कृषकहरुले लगाउने गरेका छन् । जिल्लामा ३ हजार ६ सय २६ क्षेत्रफमा सिंचाइको व्यवस्था रहेको छ ।

जिल्लाका १२ वटै स्थानीय तहमा धान खेती गरिन्छ । ईस्मा गाउँपालिकाको चौरासी फाँट, किसानटारी, अर्जेवेशी, रोधीअरौदी, छल्दी, छिनुवा, चाँपटारी, गुर्वा निस्ती ढाणवेंशी, खहरे थापाचौर फाँटमा धान खेती गरिदैँ आएको छ । त्यस्तै मुसिकोट नगरपालिकाको वामी फाँट, दानसिङफाँट, कुर्घा भुवाचिदिफाँट, आपचौरफाँट, सङकौल, पौदी अमराई, दिगामचौर, पौदीअरेवा फाँटमा धान खेती हुँदै आएको छ । चन्द्रकोट गाउँपालिकाको शान्तीपुरफाँट, हरेवा, दम्कासोता, तुराङफाँटमा धान खेती हुँदै आएको छ । त्यस्तै सत्यवती गाउँपालिकामा अश्लेवाफाँट, अरुङ्गा फाँट, साहाघाट, चेमी वहादी, लिम्घा फाँट, कालिगण्डकी गाउँपालिकाको अर्वेनी फाँट, हर्मिचौर, पूर्तिघाट, चापचौर, कोरेङफाँट, फोक्सिङ फाँट, जुखुमचौर, जयखानी, बेल्टारी, फोक्सिङको लमकरा, भुर्तुङ्गकोट, छापचौर, हर्मिचौरको दिङफाँट, रुरु क्षेत्र गाउँपालिकाको घिउँवेशी, बोहाफाँट, रिमुवा, टाहाटिमफाँट, ग्वादी वेशीका चौर फाँट, एक्लेपिपलफाँट, मदाने गाउँपालिकाको निउरेफाँट, आठचौरफाँट, गडेराफाँट, बडाचौर, गैरीखेत, सूर्यटारी फाँट, छत्रकोट गाउँपालिकाको खज्र्याङफाँट, मनभागफाँट, अर्घाँफाँट, वोहाफाँट, दिगामको जेर्दी फाँटमा धान खेती हुँदै आएको छ । त्यस्तै गुल्मीदरबार गाउँपालिकाको कुमालटारी, अमरअर्वाथोक तलको फाँटमा धान खेती गरिन्छ । रेसुङ्गा नगरपालिकाको अर्खलेको रैदीफाँट, सावुनेटारी फाँट, पारमटारी फाँट, धुर्कोट गाउँपालिकामा गानटारी, धर्नार्जी फाँट, सिमलटारी, कुमलटारी, मानचौर, किट्नीका गौराखेत फाँट,मालिका गाउँपालिकामा विधिखोलाको फाँट, मिलटारी, किसानटारी, अर्जेको फाँटमा धान खेति हुँदै आएको कृषि ज्ञान केन्द्रले जनाएको छ । –गुल्मीबाट पत्रकार अनिल खत्रीको सहयोगमा

प्रकाशित मिति: बिहीबार, पुस १६, २०७७  १०:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update