Shittalpati
गुल्मीदरवार गाउँपालिकाले बाँझो जमिनको लगत संकलन गर्दै

रमेश विश्वकर्मा
गुल्मी । जिल्लाको गुल्मीदरबार गाउँपालिकाले हरेक वडामा बाँझो जमिनको लगत लिइरहेको छ । गाउँपालिका भित्र बाँझो जमिन नराख्ने योजना सहित गाउँपालिकाले लगत संकलन कार्य अगाडि बढाएको हो । कोरोनाले अर्थ व्यवस्थामा समेत नकारात्मक असर पर्न सक्ने भएपछि जग्गा बाँझो राख्न नदिने काम अगाडि बढाएको गाउँपालिकाले जनाएको छ । कोभिड–१९ का कारण वैदेशिक रोजगार गुमाएर फर्केका तथा स्वदेशमै पनि रोजगार गुमाएका युवाहरुलाई कृषिमा आत्मनिर्भर बनाउनका लागि पनि गाउँपालिकाले यस्तो अभियान चलाएको हो । पालिका भित्र रहेका बाँझो जग्गालाई उपयोगमा ल्याउनका लागि गाउँपालिकाले भूमि बैंक कार्यविधि–२०७७ पारित गरेको थियो ।

सोही अनुसार नै लगत संकलनको कार्य गरिएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले जानकारी दिए । गाउँमा रहेका बाँझो जमिनमा विपन्नलाई सामूहिक खेती गर्न प्रोत्साहन गरिने उनको भनाइ छ । कोभिडका कारण अहिले गाउँपालिका भित्र ४ सय ५२ जना युवाहरु विदेशबाट रोजगारी गुमाएर फर्किएका छन् । रोजगारी गुमाएका युवाहरुलाई कृषि र पशुपालन मार्फत आत्मनिर्भर बनाउनका लागि बाँझो जग्गाको लगत सकंलन गरिएको पाण्डेले बताए । गाउँपालिका भित्र रहेकको ३ सय ३० रोपनी बाँझो जग्गा गाउँपालिकाको भूमि बैंकमा दर्ता भएको छ । प्राप्त जग्गाहरुलाई भूमि बैंकमा दर्ता गरिएको र जग्गा अनुसार कार्यपालिकाले निर्णय गरे बमोजिमको रकम जग्गा धनिले प्राप्त गर्न सक्ने गाउँपालिकाले जनाएको छ । यदि कसैले भूमि बैंकमा जग्गा दर्ता नगरी जग्गा बाँझो राखेमा पालिकाबाट प्राप्त हुने सम्पुर्ण सेवा सुविधाहरु रोक्का गरिने बताइएको छ ।

प्रकाशित मिति: बिहीबार, पुस ९, २०७७  १०:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update