Shittalpati
जनप्रतिनिधिको कृषि मोह

रामचन्द्र रायमाझी
पाल्पा । पछिल्लो समय जनप्रतिनिधि कृषि पेशामा संलग्न हुन थालेका छन् । कतिपय लामो समय राजनीति र समाजसेवामा लागेर कृषि पेशामा लागेका छन् भने कतिपय कृषि, राजनीति र समाजसेवा सँगसँगै गरिरहेको पाइन्छ । नेपाल कृषि प्रधान देश भएपनि अधिकांश युवा कृषि पेशामा संलग्न हुन नसकेर रोजगारीका लागि विदेश जाने गरेको समयमा राजनैतिक नेतृत्व र जनप्रतिनिधि कृषि पेशामा लागेपछि युवाहरूमा पनि कृषिप्रतिको आकर्षण बढेको छ । जनप्रतिनिधि र राजनैतिक नेतृत्वले कृषिमार्फत नेपाललाई समृद्ध बनाउने भाषण नगरेका होइनन् तर व्यवहारिक रूपमा कृषिको प्रवद्र्धनमा लागेको कमै देख्ने गरिएको छ । तर पछिल्लो समय केही जनप्रतिनिधिले कृषिलाई सँगसँगै लगेको देखिएको छ । यस्तै मध्येका एक हुन् रैनादेवी छहरा गाउँपालिकाका प्रवक्ता तथा ४ का वडा अध्यक्ष विष्णुप्रसाद पोखरेल । बिहान–बेलुका घर र खेतबारीमै व्यस्त हुने पोखरेल ठीक १० बजे वडा कार्यालय पुग्छन् । रैनादवी छहरा गाउँपालिकाका वडाहरु मध्ये हरेकजसो कार्यक्रममा समयमा पुग्ने र जिम्मेवारी लिएको काम समयमै सक्ने वडाध्यक्ष मध्ये पर्छन् उनी । वडा अध्यक्ष पोखरेलले गतवर्षदेखि आफ्नै श्रीमती सीता गौतम पोखरेललाई साथमा लिई व्यवसायिक खुर्सानी खेती सुरु गरेका छन् । उनले इलामबाट ल्याएको अकबरे खुर्सानीको विरुवाबाट अहिले मनग्य आम्दानी गर्न सफल भएका छन् । सानै उमेरदेखि नै कृषिमा रुची राख्ने पोखरेलले खेर गइरहेको एक रोपनी बाँझो जग्गामा खुर्सानी लगाएका छन् । उनको बारीमा अहिले लटरम्मै खुर्सानी देख्न सकिन्छ । अकबरे खुर्सानी स्वास्थ्यका लागि फाइदाजनक भएकाले यसको माग अत्याधिक रहेको छ ।

पोखरेल दम्पतिले गत वर्ष खुर्सानी विक्रीबाट २५ हजार आम्दानी गर्न सफल भएका थिए । अहिले पनि २५ हजार बराबरको खर्सानी विक्री गरिसकिएको अध्यक्ष पोखरेलले बताए । उनले भने ‘सुरुमा घरमै प्रयोग गर्नका लागि खुर्सानी लगाए पनि पछि उत्पादन राम्रो हुँदै गएकाले व्यवसायिक रुपमै लागेका हौं ।’ अहिले राम्रै आम्दानी भएको पोखरेल बताउन्छन् । श्रीमतीकै सहयोगमा खुर्सानी व्यवसायी सफल भएको उनको भनाई छ । उनीहरूले खुर्सानीका बिरुवा समेत विक्री गर्दै आएका छन् । ‘हरेक परिवारले आफूले खानका लागि मात्रै बनाउन सके धेरै पैसा बच्छ’, पोखरेले भने । अहिले मात्र आफुहरुले ५ हजार खुर्सानीका विरुवा विक्री गरिसकेको सिता पोखरेल बताउँछिन् । उनी भन्छिन् ‘घरमा उत्पादन भएपछि आफुले खान पनि भएको र बचेको विक्री गर्नाले राम्रो आम्दानी भएको छ ।’ ‘नेताहरूले भाषणमा मात्रै कृषि त्रान्तिका कुरा गरेर हुँदैन,’ खुर्सानी बारीमा भेटिएका वडाध्यक्ष पोखरेलले भने, ‘भाषणमा भनेका कुरा आफैंबाट सुरु गर्नुपर्छ भनेर खुर्सानी खेती गरेका हौं ।’ अहिले उनले घरमा मात्र होइन कृषिबाटै वडा र गाउँपालिकाको आर्थिक समृद्धि ल्याउन सकिन्छ भन्ने साेंचका साथ अगाडि बढेका छन् ।

कृषिबाटै वडाका नागरिकहरुको जीवनयापनमै परिवर्तन ल्याउने गरी विभिन्न कृषि जन्य वस्तुको पकेट क्षेत्र बनाउने कार्यमा आफु लागेको अध्यक्ष पोखरेलले बताए । वडाको भौगोलिक अवस्था र कृषि योग्य जमिनको छनौट गरी वडाका विभिन्न क्षेत्रलाई कृषि पकेट क्षेत्रका रुपमा विस्तार गर्ने काम भइरहेको छ । पोखरेलका अनुसार अहिले वडाका बागिन र मगाल क्षेत्रमा आलुको पकेट, साविकको वडा नम्वर ४ गोलाङछा क्षेत्रमा च्याउ, साविकको १ मा मकै, अमलावास, सल्यधारा, तीनधारे क्षेत्रमा सुन्तला, सल्यधारामा गाई फर्म, तल्लो छहरा क्षेत्रमा केरा, साविकको वडा ६ को रिठाबोटमा टमाटरको पकेट क्षेत्रको रुपमा विस्तार गर्ने गरी काम भएको छ ।

प्रकाशित मिति: आइतबार, कात्तिक २, २०७७  १०:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update