Shittalpati
गुल्मीमा मकैको मूल्य निर्धारण कुनको मूल्य कति ?

रमेश विश्वकर्मा
गुल्मी । पछिल्लो समयमा कृषकहरुले उत्पादन गरेका कृषि जन्य वस्तुहरुले उचित मूल्य नपाएका व्यापक गुनासाहरु आउने गरेका छन् । कृषकहरुले उचित मूल्य नपाउँदा उत्पादन र बजारीकरणमा समेत समस्या उत्पन्न भइरहेका खबरहरु बाहिर आइरहेका बेला गुल्मीमा भने मकैको बिउको मूल्य निर्धारण गरिएको छ । कृषकहरुले उत्पादन गरेको मकैको बिउको मूल्यमा एकरुपता कायम गरी बजार प्रवद्र्धनमा सहज गराउने गरी प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई, मकै जोन गुल्मीले मूल्य निर्धारण गरेको हो । अरुण जातको मकै ६५ रुपैयाँ प्रति कि.ग्रा., मन–३ जातको मकै ५२ रुपैयाँ प्रति कि.ग्रा., मन–६ जातको मकै ५६ रुपैयाँ प्रति कि.ग्रा., देउती जातको मकै रु. ५२ प्रति कि.ग्रा. र रामपुर कम्पोजिट जातको मकै ५६ रुपैयाँ प्रति कि.ग्रा. मूल्य कायम गरिएको छ ।

जिल्लाको सदरमुकाम तम्घासमा भएको मकै तथा मकैको बीउ सम्बन्धी बजार प्रवद्र्धन तथा अन्तक्र्रिया गोष्ठीले मकैको बिउको मूल्य निर्धारण गरेको हो । मकै जोनको आ.व.२०७६/०७७ को स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गत गोष्ठीमा सहभागी जिल्लाका सरोकारवाला निकायहरुद्वारा मकैको बिउको विक्री मूल्य निर्धारण गरिएको छ । बिउको बजारीकरण गर्नको लागि यसरी मकैको बिउको मूल्य निर्धारण गरिएको परियोजना कार्यान्वयन इकाई प्रमुख नारायण काफ्लेले बताए । उनले भने ‘बाहिर कति निर्यात हुने र जिल्लाभित्र कति खपत हुने भन्ने सम्पूर्ण विवरण आईसकेको हुनाले यहाँबाट कति मूल्यमा पठाउने भन्ने उद्देश्यले हामीले सरोेकारवालासँगको अन्तक्र्रियामा मकैको बिउको मूल्य निर्धारण गरेका हौं ।’ यसरी मूल्य निर्धारण नगर्दा किसानहरु अप्ठ्यारोमा पर्न सक्छन् । अन्य कम्पनीहरुले मूल्यमा बार्गेनिङ पनि गर्न सक्ने भएकाले हामीले यसरी मकैको बिउको मूल्यमा एकरुपता ल्याउन खोजेको काफ्ले बताए ।

जिल्लालाई मकैको बिउमा आत्मनिर्भर बनाउनका लागि मकै बिउ उत्पादक कृषक समूह, सहकारी तथा निजी फर्महरुको महत्वपूर्ण भूमिका रहेको जिल्ला समन्वय समितिका प्रमुख लक्ष्मण पराजुलीले बताए । उनले आगामी दिनमा पनि मकै तथा मकै बिउको बजार प्रवद्र्धन लागि स्थानीय निकायले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए । त्यस्तै रेसुङ्गा नगरपालिका प्रमुख डिल्लीराज भुसालले कृषकद्वारा उत्पादित मकैको बिउले बजार नपाउने अवस्था आएमा नगरपालिकाले बजारको ग्यारेन्टी गरिदिने बताए । उनले किसानहरुलाई गुणस्तरीय मकै बिउ उत्पादनमा लाग्न अनुरोध गरेका छन् ।

नगरप्रमुख भुसालले भने, ‘कृषकहरुले उत्पादन गरेका कृषिजन्य वस्तुको बजारीकरणमा किसानहरुलाई सहयोग गर्ने उद्देश्यले नगरपालिकाद्वारा कृषि तथा पशु उपज संकलन केन्द्र सञ्चालनमा ल्याएको छ ।’ प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाईको संक्षिप्त परिचय, कार्य सञ्चालन प्रक्रिया तथा हाल सम्मभएका क्रियाकलाहरु, मकै जोन क्षेत्रको मकै तथा मकै बिउ उत्पादन र उत्पादकत्व, बिउ माग, आपूर्ति तथा बजारीकरणको अवस्था, अवसर एवं चुनौती, कृषि ज्ञान केन्द्रद्वारा सञ्चालित मकै पकेट तथा ब्लक कार्यक्रमको संक्षिप्त परिचय, कार्य सञ्चालन प्रक्रिया र मकै तथा मकै बीउको बजारीकरणमा स्थानीय निकाय तथा सरोकारवालाको भूमिका विषयक कार्यपत्र परियोजना कार्यान्वयन इकाई प्रमुख नारायण काफ्ले, कृषि अधिकृत समिरसिंह बराई मगर, कृषि ज्ञान केन्द्रका कृषि अधिकृत टीकाराम न्यौपाने र कृषि तथा पशु उपज संकलन केन्द्र रेनपाका दामोदर पोख्रेल लगायतले प्रस्तुत गरेका थिए । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत जिल्लामा मकै जोन परियोजना लागु भएसँगै यहाँका कृषकहरुले मकैको मूल बिउ उत्पादन गर्दै आएका छन् । जिल्लाको ईस्मा गाउँपालिका अन्तर्गत अमरपुर, मदानेको पुर्कोट दह र रेसुङ्गा नगरपालिकाको सिमीचौर गरी २० रोपनी क्षेत्रफलमा कृषकहरुले मकैको मूल बिउ उत्पादन गर्दै आएका छन् ।

प्रकाशित मिति: सोमबार, माघ २०, २०७६  १२:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update